क्रान्ति सुब्बा, हङकङ

हङकङमा मे महिनादेखि नोभेम्बरसम्मको अवधिमा  समुद्री आँधीबेहरी आउने गर्दछ । जुलाई, अगस्ट र सेप्टेम्बर महिनामा आँधी आउने  सम्भावना ५०-६०% हुन्छ। टाइफुन अर्थात आँधीबेहरीको प्रत्यक्ष प्रहार हङकङ माथि विरलै पर्ने गर्छ । तथापि टाइफुनको प्रभाव दुरस्थ द्विप र तल्लो इलाकामा रहेका स्थानहरुमा पर्ने गरेको देखिन्छ र यदाकदा अक्सर गम्भीर क्षति पनि  पुऱ्याउने गर्दछ।

यस वर्ष सुपर टाइफुन मध्ये एक  `साउला´ हङकङको अति नजीकबाट गुज्रीरहेकोले यसले हङकङको जनजीवनमा गम्भीर असर पार्ने संभावना उच्च रहेको छ।

साउला नाम गरेको यो सुपर टाइफुनको प्रभावलाई मध्यनजर गरि प्रारम्भमा अगस्ट ३० तारीख हङकङ अब्जरभेटरीले अपरान्ह ५:४० बजे स्ट्याण्डबाई सिग्नल नम्बर १ जारी गरेको थियो । त्यसपछि अगस्ट ३१ तारीख दिउँसो ३:४० बजे टाइफुन नम्बर ३ जारी गरिएको थियो र अन्ततः सेप्टेम्बर १ तारीख बिहान ३:४० बजे टाइफुन सिग्नल नम्बर ८ जारी गरेको थियोे ।
हावाको गति तिव्र हुदै आँधी हङकङ तिर नजिकिदै गएपछि मौसम बिभागले टाइफुन नम्बर ९ सेप्टेम्बर १ तारीख शुक्रबार साँझ ६:२० बजे र राति ८:१५ बजे टाइफुन नम्बर १० जारी गरेको छ।

सुपर टाइफून ‘साओला’ नजिकिदै गरेको कारण  स्थानीय बासिन्दालाई घरभित्रै बस्न र आफ्नो सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै सावधानी अपनाउन आग्रह गरिएको छ । यो १० नम्बर आँधीले ल्याउने बतासको  चाप  राति ८ः१५ बजे गरिएको आँकलन अनुसार प्रति घन्टा ११८ किलोमिटर वा सोभन्दा बढी हुने बताइएको थियो । यो समय बाहिर निस्कने वा खुला झ्याल र ढोकाको छेउमा बस्ने समय होइन भनेर जनसमुदायलाई सतर्क गराइएको छ।

सुपर टाइफून साओलाको आइवाल अर्थात आँखा  अहिले हङकङको वरिपरि  घुमिरहेकोले हङकङमा गम्भीर खतरा निम्तिएको छ। शहरको पूर्वी भागले केहि समय पहिले देखि नै आँधीबेहरीको उच्च धक्कालाई महसुस गर्न थालेको थियो । पछिल्लो पूर्वानुमान ट्रयाकका अनुसार साओला आगामी केही घण्टामा हङकङ अब्जरभेटरीबाट करिब ४० किलोमिटर दक्षिणबाट गुज्रने अनुमान गरिएको छ । तुफान सिग्नल नम्बर १० केहि समय अवधि सम्म जारी रहने मौसम बिभागले जनाएको छ।

हावाहुरीको प्रभावले शुक्रबार राति तल्लो तटीय क्षेत्रमा पानीको सतह ह्वात्तै बढ्ने र बाढी आउन सक्ने बताइएको छ ।

“सन् २०१८ मा टाइफुन माङखुत आएको बेला जुन स्तरमा समुद्रको सतह बढेको थियो त्यति स्तरमा यस पटक पुग्न सक्छ। हङकङको पूर्वी तटीय क्षेत्रमा आज राति करिब ९ बजेदेखि पानीको सतह बढ्ने छ ।

जस्तै तोलो हार्वरमा पानीको सतह मध्यरातमा चार्ट डेटम ( समुद्रको जल सतह नाप्ने मापदण्ड ) भन्दा ६ मिटर सम्म पुग्नेछ , जुन सामान्य ज्वारभाटाको स्तरभन्दा करिब ४ मिटर माथि हो । बाढी तथा डुबानबाट प्रभावित हुने क्षेत्र अन्तर्गत शिङ मुन नदी, ताई पो, शा तिन, शा थाउ कोक, साई कुङ आदि रहेका छन् । ” हङकङ मौसम बिभागले बताएको छ।
हङकङका अन्य तटीय क्षेत्रमा पनि शनिबार बिहान ६ बजेदेखि पानीको सतह ह्वात्तै बढ्न थाल्ने बताइएको छ ।

‘भिक्टोरिया हार्बरमा पानीको अधिकतम सतह चार्ट डेटमभन्दा करिब ३ मिटर माथि हुनेछ। लेइ यु मुन जस्ता तल्लो तटीय क्षेत्रमा पानीको स्तर सामान्य ज्वारभाटाको स्तरभन्दा १.५ मिटर बढी हुनेछ। ताई ओमा पानीको सतह चार्ट डेटमभन्दा करिब ३.५ मिटर माथि पुग्नेछ, जुन सामान्य ज्वारभाटाको सतहभन्दा करिब २ मिटर माथि हो ।

तपाईको प्रतिक्रिया