क्रान्ति सुब्बा । हङकङ

टाइफुन हाइकुइ दक्षिण चीनको फुज्यान प्रदेशमा पुगेर गत मंगलबार समाप्त भएको थियो । जसले दक्षिण चीनमा भारी वर्षा ल्याएको थियो । हङकङ पनि यसको प्रभावबाट अछुतो रहेन। निरन्तर १० घन्टा भन्दा बढी  परेको मुसलधारे वर्षाका कारण घनाबस्ती भएको शहर हङकङमा शुक्रबार व्यापक बाढी आएको थियो भने सडक, सपिङ मल र मेट्रो (एमटिआर) स्टेसनहरू जलमग्न भएका थिए । अधिकारीहरूले विद्यालयहरू बन्द गरेका थिए र कामदारहरूलाई घरभित्रै बस्न आग्रह गरेका थिए। 

सडकमा आएको बाढी र प्रतिकूल मौसमका कारण हङकङको बस कम्पनी केएमबीले शुक्रबार बिहानै ६ बजे भन्दा अगाडि अर्को सूचना जारी नभएसम्मका लागि दिउँसो भरि सम्पूर्ण रुटमा चल्ने सेवाहरु स्थगन गर्ने घोषणा गरेको थियो ।

चिनियाँ विशेष प्रशासनिक क्षेत्र हङकङमा वर्षाको रेकर्ड राख्न थालिएको १४० वर्ष भयो र सन १८८४ साल यता प्रति घन्टा भएको बर्षाको दर यसपटक सबैभन्दा उच्च रहेको थियो । शहरको पहाडी भूभागबाट पानीको खहरे बग्न थाले पछि अधिकारीहरुले पहिरो जानसक्ने चेतावनी जारी गरेका थिए ।
बिहान ११ बजे सम्मको रिपोर्ट अनुसार जम्मा ८३ जना घाइते भएका थिए जसमा ३ जनाको अवस्था गम्भीर थियो ।

रेल-मार्ग भित्र भेल

सोसल मिडियामा भाइरल भएका भिडिओहरुमा सडकहरु खोलामा परिणत भएका देखिन्थे । एउटा क्लिपमा मेट्रो (एमटिआर) का कामदारहरु सडकको सतहबाट तल झरिरहेको पानीको बहावलाई रोक्न कोशिस गरिरहेको देखिन्थे र भेलको पानी उनीहरूको कम्मरसम्म आएको थियो ।

हङकङ टापुलाई काउलुनसँग जोड्ने मुख्य धमनीको रूपमा रहेको क्रस हार्वर टनल पनि डुबानमा परेको थियो। तस्विरहरूमा चाइ वान जिल्लाको सपिङ सेन्टर जलमग्न भएको देखिन्थ्यो ।

हङकङ अब्जरभेटरीले बिहीबार राति ११ बजेदेखि  मध्यरात अर्थात् १२ बजे सम्मको एक घन्टाको अवधिमा  १५८.१ मिलिमिटर (६.२ इन्च) वर्षा भएको जनाएको थियो  । 

मौसम विभागले बिहीबार राति सबैभन्दा उच्च ब्लाक रेनस्ट्रोम वार्निङ (कालो वर्षाको चेतावनी ) जारी गरेको थियो । र हङकङको मुख्य टापु, काउलुन र  न्यू टेरिटोरीजको उत्तरपूर्वी भागमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको जनाएको थियो । 
टाइफुन हाइकुईको असर स्वरूप बिहीबारदेखि चीनको ग्वाङडोङको तटीय क्षेत्रमा मुसलधारे वर्षा भइरहेको पनि  मौसम विभागले जनाएको थियो । 

हङकङ सरकारले शुक्रबारको मध्यरातसम्म यो अति प्रतिकुल जलवायु  कायम रहने बताएको छ। जलवायु बिभागले दिउँसो ३:४० बजे कालो वर्षाको चेतावनी हटाएर एम्बर वर्षाको चेतावनी जारी गरेको थियो । हङकङमा कालो वर्षाको चेतावनी १६ घन्टा भन्दा बढी रहेकोे थियो । अपरान्ह ४:४५ बजे एम्बर वर्षाको सिग्नल क्यान्सल गरिएको थियो ।

हङकङका कार्यकारी प्रमुख जोन लीले हङकङको अधिकांश भागमा आएको भीषण बाढीप्रति आफू निकै चिन्तित रहेको र सबै विभागलाई ‘पुर्ण प्रयास’ का साथ सामना गर्न निर्देशन दिएका थिए ।

बाढीका कारण हङकङ र छिमेकी शहर सेन्जेन
बीचको दुई सीमा नाकामा रहेका केही यात्रु तथा कार्गो क्लियरेन्स प्वाइन्टहरु स्थगित गरिएको सरकारले जनाएको थियो । 

वङ ताई सिन जिल्लामा मुल सडकमा जाने क्रममा रहेका सवारी साधनहरु पानीमा डुबेका थिए । 

रेल सञ्जाल सञ्चालन गर्ने हङकङको एमटीआर कर्पोरेसनले एउटा लाइन बन्द भएको र अन्य सञ्चालित लाइनको पनि फ्रीक्वेन्सी ढिलो रहनेगरि सञ्चालन भइरहेको जनाएको थियो । 

“व्यापक बाढी र गम्भीर यातायात अवरोधका कारण उत्पन्न चरम परिस्थितिका कारण शुक्रबार सबै विद्यालयहरू बन्द गरिएको छ,” सरकारले भनेको थियो ।
सरकारले अहिलेको मौसमको अवस्थालाई  टाइफुन नम्बर ८ सरह लिन सम्पूर्ण इम्प्लोयरलाई अनुरोध गर्दै सोही अनुसार कामको व्यवस्थापन गर्न आग्रह गरेको थियो । स्मरणीय छ टाइफुन नम्बर ८ जारी हुँदा शहर नै ठप्प हुनेगरी कार्यालय लगायत सम्पूर्ण बजार  बन्द हुने गर्दछ। 

हङकङको मकाउ फेरी अपरेटरहरूले  व्यापक बाढीका कारण मकाउ जाने जाने बोटहरू स्थगित गरिने बताएका थिए । 
अति प्रतिकुल मौसमको अवस्था’लाई मध्यनजर गर्दै शिक्षा ब्युरोले पनि साँझका विद्यालय लगायत सबै विद्यालयको पठनपाठन स्थगित गरिएको घोषणा गरेको थियो ।
अधिकारीहरुका अनुसार शुक्रबार बिहान ८ बजेसम्म हङकङ टापुमा ६ र न्यू टेरिटोरीमा १ गरी ७ वटा पहिरोको रिपोर्ट प्राप्त भएको थियो ।

तपाईको प्रतिक्रिया