काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासले कानुन व्यवसायीहरूका लागि समय निर्धारण गरेको छ । बहसका क्रममा अधिवक्ताले दिनभर समय लिन थालेपछि इजलासले समयसीमा तोकेको हो ।

बहस लम्बिने देखिएपछि सर्वोच्च अदालतको इजलासले सुनुवाइको चौथो दिन बुधबारदेखि समय निर्धारण गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुनुवाइमा सहभागी हुने कानुन व्यवसायीहरूका लागि आधा घण्टाको समय निर्धारण गरिएको जानकारी दिए । अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बोल्न लाग्दा समयसीमा निर्धारण गरिएको थियो ।

न्यायाधीश अनिलकुमार सिन्हाले बहस लामो हुँदा फैसलामा ढिलाइ हुने भएकाले छोटो गर्न आग्रह गरे ।

यसअघि पनि इजलासले समयमा ख्याल गर्न कानुन व्यवसायीलाई आग्रह गरेको थियो । बहस गर्दागर्दै समय लामो लागेर संसद विघटन गलत भए पनि निर्वाचनमा मुलुक गइसकेकाले रोक्न परेन भन्ने अवस्था नआओस् भनेर इजलासले सचेत गराएको थियो । तर, पनि अधिवक्ताले घन्टौं समय लिईरहेका थिए ।

तपाईको प्रतिक्रिया