– क्रान्ति सुब्बा

हङकङमा कोभिड-१९ चौथो लहरको उत्कर्ष निकै भयावह हुदै गइरहेको अवस्था छ। कोरोना भाइरस संक्रमणलाई साइजमा ल्याउन सामाजिक दुरिका विश्व प्रचलित मापदण्डलाई हुबहु कार्यान्वयन गर्ने प्रयास गरिरहदा पनि  संक्रमण हुने क्रम न्यून नहुनु एउटा भयंकर चुनौती भएर उभिएको छ हङकङमा । कहिले नसुत्ने सहर हङकङ महामारीको फरक कहरमा पनि  अहिलेसम्म लक डाउनमा गएको थिएन । तर काउलुन प्रदेशको याउ चिम मोङ जिल्लाभित्रको याउ मा तेइ र जोर्डन इलाकामा रहेका करिब साठी सत्तरी वर्ष पुराना भवनहरु अहिले कोरोना भाइरस मौलाउने गुँड भएकाछन।

याउ चिम मोङ जिल्लाभित्र दक्षिणमा जोर्डन रोड, पश्चिममा फेरि  स्ट्रीट, उत्तरमा कान्सु स्ट्रीट र पुर्वमा नाथन रोडलाइ चार सिमाना बनाएर बसेको जग्गालाई हङकङ सरकारले कोरोना भाइरसको उदगम केन्द्र तोकिदिएको छ। संक्रमणको उच्च जोखिम यो ईलाका भित्र  पनि थप उच्चतम जोखिम युक्त क्षेत्र पनि  सरकारले निर्धारण गरेकोछ। र संभावित लक डाउन हुने स्थान पनि यहि हो।

हङकङ सरकारले यदि लक डाउन गरिहालेमा जोर्डनको अनिवार्य परिक्षणमा गएको निर्दिष्ट क्षेत्रलाई लक डाउन गर्ने हो। जनवरी २२ तारीख शुक्रबार अचानक अब हङकङको निश्चित क्षेत्रमा  लक डाउन गरिने खबर छापाहरुमा व्यापक भयो।

अब हङकङमा कुन प्रकृतिको लक डाउन होला त? हङकङका छापाहरुमा उल्लेखित स्रोतअनुसार जसले कोभिड – १९ टेस्टको परिणाम नेगेटिभ भएको प्रमाणपत्र देखाउछ उसलाई मात्र बिल्डिङ बाहिर जाने अनुमति दिइनेछ। त्यस देखि बाहेकका अरुलाइ प्रतिबन्ध नफुकाइन्जेल सम्म बाहिर जान दिइनेछैन।

कोरोना नेगेटिभ नतिजा आएको समेतलाई संभव भए सम्म घरमा नै बस्न अनुरोध गरिनेछ।

स्वास्थका कारणले अस्पताल नगै नहुने वा घोर बिपत्तिजनक अवस्थामा रहेका नागरिकले मात्रै बाहिर जान छुट पाउनेछ्न। ( साउथ चाइना मर्निङ पोस्ट )

प्रत्येक भवनलाइ सरकारी स्टाफहरुले पहरा दिनेछ्न जसले कोरोना नेगेटिभ भएकालाइ मात्र  बाहिर जान दिनेछ। र प्रत्येक फ्लाटमा गएर त्यहाका मानीसले कोरोना टेस्ट गरे नगरेको खुट्याउन जनशक्ति खटाइनेछ। ( HK01)

निर्दिष्ट इलाकामा लक डाउन भएमा त्यहाँका सबै पसल बन्द गरिनेछ्न। त्यस इलाकावासीहरुलाइ आवश्यकताअनुसार दानापानीको व्यवस्थापन सरकारी कर्मचारीहरुले गर्नेछ्न।

” निश्चित एरियामा उच्च रफ्तारमा संक्रमणले निरन्तर गति लिइरहनु र भवनका ढलहरुमा भाइरस देखिन नछोड्नु साथै कोरोना भाइरसधारी मौन संवाहकको अस्तित्व प्रभावित इलाकामा यथावत रहनुले भाइरसको फैलावटलाई नियन्त्रण गर्न सकिएको छैन भन्ने बुझिन्छ।” स्रोतले साउथ चाइना मर्निङ पोस्टमा भने।

जब सरकारले याउ चिम मोङ जिल्लाका विभिन्न भवनका ढलका नालीहरुमा राखिएका भाइरस  टेस्ट गर्ने उपकरणमा कोरोना भाइरसको सघन उपस्थिति देखियो तब निश्चित एरियालाई लक डाउन गर्ने निष्कर्ष निकालिएको हो।

प्रभावित इलाकामा बस्ने प्रत्येक बासिन्दाले कोरोना टेस्ट गरिसकेपछि मात्र  लक डाउनको घोषणा सरकारले फिर्ता लिनेछ।

दैनिक आउने संक्रमित संख्याको आधा त बितेको हप्ता देखि नै याउ चिम मोङ जिल्लाबाट आइरहेकोछ।

के साच्चै हङकङको कोरोनाग्रस्त प्रभावित इलाकामा लक डाउन होला?
यस विषयमा जसरी शुक्रबार बिहान समाचार पत्रहरुले सरकारको तर्फबाट आएको अमुक स्रोतलाई आधार बनाएर लक डाउन हुने कुरा प्रचार गरेका थिए  सोही अनुरुपको प्रतिक्रिया सरकारी अधिकारीहरुबाट आएन। यस मानेमा शनिबारबाट लक डाउन हुने कुरा घर्किसकेकोछ।

के तेसो भए अब जोर्डनको निर्दिष्ट इलाकामा हुने भनिएको लक डाउनको संभावना टरेको  हो त ?
कि सरकारले नागरिकहरुलाइ लक डाउनको निम्ति पुर्व तयारी हुने समय दिन खोजेको हो ?

यस्ता प्रश्नहरुको उत्तर  यथाशीघ्र पाउने आशामा बस्नु हामी सबैको विकल्प भएको छ।

तपाईको प्रतिक्रिया