कवि अनिल किराँती नेपाली कविता लेखनमा अब्बल कविको रुपमा स्थापित हुनुहुन्छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४, खोटाङका किराँती कविता र  निबन्ध लेखनमा आफ्ना समकालीनमाझ  शक्तिशाली हुनुहुन्छ । नेपाल सरकारको उपसचिव पदमा कार्यरत उहाँ कविताले प्रेम, शान्ति र समानताको पक्षमा प्रभावशाली रुपमा बोलेको हुन्छ।  प्रस्तुत छ साताको तीन कविता ।

आपाको कविता

आमा,
निघारले भरिएको
काँशे डबका राख्दिनु हुन्छ अगाडि

आपा,
उचालेर दुवै हत्केलाले डबका
तन्काउँदै आँखा
पिउनु हुन्छ घ्वाट घ्वाट निघार
र छाम्दै बोरा जस्तो पेट
भन्नुहुन्छ –
ए बुढिया !
खै थप त एक डोज कविता !

खासमा
आमा नै आपाको कविता हो ।

रुख

काट्छौ नि मलाई ?

काट !
कति काट्ने काट
टुक्रा टुक्रा बनाउ
चोइटा चोइटा बनाउ
जलाउ मलाई
र सुधार आफ्नो जीवन

आर्यघाटमा त म
पर्खेरै बसेको छु नि तिमिलाई ।

सल्युट

गेट अगाडि –
रोक्नुभयो तपाईले

नियाल्नु भयो
टाउको देखि खुट्टासम्म
खुट्टा देखि टाउकोसम्म
सोध्नुभयो तीन पुस्ते
हप्काउनुभयो
खाउँला झैं गर्नुभयो
खानतलासी गर्नुभयो शरीर
छाम्नु भयो गोजीहरु

अचानक !
पछाडि सर्नुभयो
तन्किनु भयो तनक्क
बजार्नु भयो घड्याप्प बुट
र घुमाएर हात
हान्नुभो सल्युट
जब देख्नुभयो मेरो आइडी कार्ड

तपाईको प्रतिक्रिया