बबिता शर्मा

काठमाडौँ — देशभरका कार्यकर्ता भेला पारेर नेकपाको दाहाल–नेपाल समूहले संघीय राजधानीमा शक्ति प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यतालिका हेरफेर गर्दै दाहाल–नेपाल समूहले शक्ति प्रदर्शनमार्फत विभिन्न शक्ति केन्द्रलाई सन्देश दिएको छ ।

पहिलो सन्देश सर्वोच्च अदालतलाई : प्रधानमन्त्री केपी ओलीले दुई वर्ष कार्यकाल बाँकी रहँदै पुस ५ मा संसद् विघटन गरेको कदमलाई नेकपाको दाहाल–नेपाल समूहले गैरसंवैधानिक र अलोकतान्त्रिक भनेको छ । संसद् विघटनविरुद्धका रिटमा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । अदालतले विघटनलाई सदर गर्छ कि भन्ने आशं0का गरेको दाहाल–नेपाल समूहले शक्ति प्रदर्शनमार्फत अदालतलाई जनमत विघटनको विरुद्धमा रहेको सन्देश दिने कोसिस गरेको छ । यसैकारण सर्वोच्चमा सुनुवाइ जारी रहेकै बेला दाहाल–नेपाल समूहले एक साता अगाडि सारेर शुक्रबार शक्ति प्रदर्शन गरेको हो । दाहाल–नेपाल समूहका एक नेता भन्छन्, ‘अदालतलाई सन्देश दिएको हो, ताकि जनमत के छ भन्ने उसले बुझोस् ।’

शुक्रबारको शक्ति प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहालले त्यसको संकेत गरे । ‘यो देशमा फेरि हिंसा होस्, युद्ध होस्, फेरि अराजकता होस् भन्ने कसैले चाहेको छैन । सम्मानित सर्वोच्च अदालतका सम्मानित न्यायाधीशहरु कोही पनि फेरि यो देशमा हिंसा, द्वन्द्व, अराजकता चाहनु हुन्छ भनेर म कल्पना पनि गर्न चाहन्‍न,’ दाहालले भने । ‘कसैले पनि देश बर्बाद हुने बाटोमा भूमिका नखेलौं । ठूलो मूल्य चुकाएर संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्राप्त भएको हो ।’ दाहालले सर्वोच्च अदालतप्रति आफूहरुको भरोसा रहेको पनि दोहोर्‍याएका थिए ।

दोस्रो सन्देश निर्वाचन आयोगलाई : संसद् विघटनसँगै विभाजित नेकपाको आधिकारिताको लडाइँ निर्वाचन आयोगमा पुगेको छ । दाहाल–नेपाल समूह आफूसँग केन्द्रीय कमिटीमा बलियो बहुमत हुँदाहुँदै पनि आयोगले ‘गलत’ निर्णय लिन्छ कि भन्नेमा छ । त्यसैले यो समूहले कागजातमा मात्र होइन, सडकमा पनि आफूहरुको पक्षमा जनमत रहेको देखाएर निर्वाचन आयोगमाथि दबाब बढाउने खोजेको छ । शुक्रबारको शक्ति प्रदर्शनमार्फत दाहाल–नेपाल समूहले निर्वाचन आयोगलाई ‘कानुन अनुसार’ निर्णय लिन सन्देश दिएको छ ।

तेस्रो सन्देश प्रधानमन्त्री ओलीलाई : संसद् विघटनलगत्तै आन्दोलनमा उत्रेका दाहाल–नेपाल समूहले शक्ति प्रदर्शनमार्फत प्रधानमन्त्री ओलीलाई पनि सन्देश दिएको छ । संसद् विघटनलाई प्रतिगामी कदमका रुपमा व्याख्या गरेको दाहाल–नेपाल समूहले आफ्नो एजेन्डामा जनमत रहेको देखाउन काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो । ओलीले पार्टीभित्रैबाट असहयोग भएको भन्दै संसद् विघटन गरेपछि नेकपा विभाजित छ । शक्ति प्रदर्शन विभाजित पार्टीमा आफ्नो पक्षमा जनमत रहेको देखाएर प्रधानमन्त्रीलाई सन्देश दिने दाहाल–नेपाल समूहको कोसिस हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले भने, ‘सिंगै देशबाट थोरै संख्यामा आउनु भएको छ, यो संख्या त केही पनि हैन । यो त कास्टिङ् हो कास्टिङ् । जसरी जनआन्दोलनमा देशैभरी जनता जागेका थिए, आजको यो उपस्थितिले जनआन्दोलनको झल्को देखिएको छ । त्यसैले फिल्म सुरु हुन बाँकी नै छ ।’

वरिष्ठ नेता झलनाथ खनालले को आधिकारी हो भन्ने हेर्न ओलीलाई सडकमा आउन आग्रह गरे । ‘बालुवाटारमा बसेर हामी नै आधिकारिक हो भन्दैमा पार्टीको आधिकारिकता हुँदैन । केपी ओजीजी कुन पार्टी आधिकारिक हो भन्ने कुरा सडकमा आएर हेर्न निम्ता दिन्छु,’ खनालले भने ।

चौथो सन्देश कांग्रेसलाई : संसद् विघटनपछि चुनाव कि संसद्कै पुन:स्थापना भन्ने द्विविधामा रहेका कांग्रेसलाई पनि दाहाल–नेपाल समूहले सन्देश दिएको छ ।

दोस्रो चरणको आन्दोलन गरिसकेको कांग्रेसले चुनावी तयारी पनि थालेको छ । यही कारण दाहाल–नेपाल समूहले आन्दोलनमार्फत नै प्रधानमन्त्रीले चालेको असंवैधानिक कदम सच्चाउनुपर्ने सन्देश कांग्रेसलाई दिएको छ । दाहाल–नेपाल समूहले कांग्रेसलाई संयुक्त आन्दोलनका लागि आव्हान गरे पनि कांग्रेस नेतृत्व अझै तयार भएको छैन । यतिसम्म कि अध्यक्ष दाहालले संसद् पुन:स्थापनापछि कांग्रेसलाई प्रधानमन्त्री दिएर सत्ता सहकार्य गर्न सकिने बताइसकेका छन् ।

शुक्रबारको प्रदर्शनलाई सम्बोधन गर्दा अध्यक्ष नेपालले आफूहरु ओलीसँग मिल्छन् भन्ने शंका नगर्न अन्य पार्टीलाई विश्वस्त पार्ने कोसिस गरे । ‘अब केपी ओलीसँग सँगै जान सकिन्न ।अहिले कतिपय पार्टीले शंका गरेका छन् । यो कुनै नाटक गरेका त छैनन् ? कतै फेरि मिल्ने त हैनन् ? कतै हामीलाई धोका त दिने हैनन् ? हामी मूल्यको राजनीति गर्छौं । हामी विचारको राजनीति गर्छौ,’ नेपालले भने ।

पाँचौं सन्देश अन्तर्राष्ट्रिय समुदायलाई : प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि उत्पन्न नेपालको आन्तरिक राजनीतिलाई लिएर दुई छिमेकीको चासो छ । तर, औपचारिक रुपमा उनीहरुले कदमको पक्ष–विपक्षमा मत राखेका छैनन् । दाहाल–नेपाल समूहले राजधानीमा शक्ति प्रदर्शन गरेर अन्तर्राष्ट्रिय समुदायलाई पनि संसद् विघटन गैरसंवैधानिक कदम थियो र यसको विपक्षमा जनमत छ भन्ने सन्देश दिने कोसिस गरेको छ । त्यसो त दाहाल आफैंले पनि ‘१२ बुँदे समझदारीदेखि शान्ति प्रक्रियासम्म सकारात्मक भूमिका खेलेको भारतसँग लोकतन्त्रको पक्षमा’ सहयोगको अपेक्षा गरेको बताइसकेका छन् । त्यसबाहेक दाहाल–नेपाल समूहले संसद् विघटन गर्ने कदममा ‘भारतीय भूमिका’ के हो भनेर प्रधानमन्त्री ओलीलाई प्रश्न गरिसकेका छन् । उत्तरी छिमेकी चीनबाट त संसद् विघटनलगत्तै उच्चस्तरीय राजनीतिक टोली आएको थियो ।

छैटौं सन्देश कार्यकर्तालाई उर्जा भर्ने र आन्दोलनलाई निरन्तरता दिने : राजधानीमा शक्ति प्रदर्शन गरेर दाहाल नेपाल समूहले देशभर कार्यकर्तामा उर्जा भरेको छ । सर्वोच्च अदालतबाट फैसला नआएसम्म वा आएपछि पनि आन्दोलन गर्नुपर्ने अवस्थालाई ध्यानमा राखेर दाहाल–नेपाल समूहले कार्यकर्तामा उर्जा भर्न चाहेको थियो ।

शुक्रबार राजधानीमा गरेको शक्ति प्रदर्शनमार्फत यो समूहले देशभर कार्यकर्तामा उर्जा थपेको छ । यसको जगमा जिल्ला र प्रदेशस्तरमा पनि सशक्त आन्दोलन गर्न सकिने दाहाल–नेपाल समूहका नेताहरुको बुझाई छ । यद्यपि यो समूहले आन्दोलनलाई चाहिँ काठमाडौं केन्द्रित गराउने योजना बनाएको छ । दाहाल-नेपाल समूहले माघभरका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । कान्तिपुर

तपाईको प्रतिक्रिया