नेपाली कविता लेखनमा कवि कविता राई गाउँले  एक स्थापित नाम हो । कवितामा स्पष्ट  बिद्रोह बोल्नु उहाँको कविताको  स्वाभाव हो । समाजमा सयौं बर्षदेखि थिचोमिचोमा रहेका जुनसुकै बर्ग र सम्प्रदायको मानव अधिकार , सुरक्षा समानताको बिषयलाई लिएर उहाँको कविताहरुले यो देशको न्याय र बेथितिको बिरोधमा बोलीरहेको हुन्छ । प्रस्तुत  छ साताको तीन कविता ।

निर्वाध

ठिक यतिबेला
सम्बन्धहरूको प्रयोगशालाबाट
निस्किदै गरेको समय हो यो

र, आज
तिमीलाई लाग्न सक्छ
अलिकति त पक्कै परिमार्जित भएर निस्किएँ  हुँला
किनकि
तिम्रो संकिर्ण सोचाइको परिधिले नै
बिद्रोही हुन सिकाएको हो मलाई
तिम्रो कुटिल बुझाइको रेखागणितले नै
जीवन प्रति गम्भीर बन्न सिकाएको हो मलाई
तिम्रो सतही हेराईको आयतनले नै
भ्रमको पर्दा च्यातेर यो दुनियाँलाई
आफ्नै आखाँले विचरण गर्ने बनाएको हो मलाई

नत्र त यहाँ
हिम्मतको हिमशिखर त्यतिकै कहाँ चुलिदोरहेछ र
पिडाको पिरामिड त्यतिकै कहाँ भत्किदोरहेछ र
उत्कण्ठाको आवाज त्यतिकै कहाँ बुलन्द हुदोरहेछ र
उन्मुक्त आकाशमुनि त्यतिकै कहाँ बेग मार्न सकिदोरहेछ र

अब उप्रान्त मैले
कसैको आग्रह अनुग्रहको बन्दी हुनुपर्दैन
कसैको प्रश्न प्रतिप्रश्नहरूको घेराबन्दीमा
कैद हुनु पर्दैन
न कसैको भरोसाको जन्जिरमा बाधिँएर बस्नुपर्नेछ
न कसैको नजरमा ठाउँ बनाइरहनुपर्नेछ
न त कसैको नजरअन्दाजसंग डराउनु नै पर्ने छ

अर्थ्याउनेहरूले त
कसलाई पो बाँकी राखेका छन् र?

यद्यपि
तिमीलाई लाग्दो हो
अब म नितान्त एक्लो भएँ
तर यो नसोच्नु कि एक्लो हुनु भनेको एक्लै हुनु हो
एक्लो हुनु भनेको त
सम्भावनाका हजार ढोका खुल्नु हो
एक्लो हुनु भनेको त
बल्ल आफू आफ्नै अधीनमा हुनु हो
एक्लो हुनु भनेको त
स्वतन्त्र वनचरी जस्तो हुनु हो
र एक्लो हुनु भनेको
कविताका एक एक हरफमा आफुलाई निर्बाध लेख्न सक्नु हो ।

प्रश्नहरुको भीड

मौनताको आडमा
आफूलाई निर्धक्क उभ्याएर
प्रश्नहरूको भिड बटुल्दै
अर्कालाई औला ठड्यानु जस्तो सजिलो
अरू के हुनसक्ला र हगि?

आफ्नै सामुन्ने
प्रत्यक्ष ऐना भएर उभिदा त
प्रश्न गर्न नछाड्नेले
पर्दा पछाडिको त कुरै नगरौं
दिनरात आखैँ अगाडि मन्चन भैरहन्छ यहाँ
फगत शंका उपशंमा कथित
अर्कालाई उदाङ्गो पार्ने थरीथरीका झेली नाटक

उसलाई लाग्दो हो
हर समय प्रश्नहरूलाई हतियार बनाएर
कसैको भावनासंग खेल्न सक्नु पनि
एउटा भब्य दम्भको प्रदर्शन गर्नु हो
किनकि प्रश्नहरूको कहिले हार हुदैन भन्ने
मीठो भ्रमले मनमा राज गरेपछि
आफैले पहिचान गर्न नसकेको अहमको के लाग्छ र हगि?

उसलाई यस्तो पनि लाग्दो हो
आफू भन्दा पर अर्को सत्य नै छैन
अनि त अर्काको गल्ती औल्याल्याइरहने आदतले
दिमागमा अड्डा जमाएपछि
आफैंले मापन गर्न नसकेको विवेकहिनताको के लाग्छ र  हगि?
त्यसैले त हर बखत बर्साइरहन्छ उ
प्रश्नहरूको बर्खा
उठ्दा पनि प्रश्न , कुद्दा पनि प्रश्न
अगाडि हुदा पनि प्रश्न , पछाडी पर्दा पनि प्रश्न
प्रगतिमा पनि प्रश्न , दुर्गतिमा पनि प्रश्न
उमंगमा पनि प्रश्न , भावुकतामा पनि प्रश्न
प्रेममा पनि प्रश्न , समर्पणमा पनि प्रश्न
प्रश्नै प्रश्न …… प्रश्नै प्रश्न …

यतिबेला
उसलाई देख्दा यस्तो लाग्छ
उ मात्र चलाउन सक्छ प्रश्नहरूको ब्रह्मास्त्र
तर ,
हेक्का होस
उसैको संगतले मलाई पनि हिजोआज
प्रतिशोधको मैदानमा उत्रिएर
प्रतिप्रश्न गर्न सक्ने बनाएकोछ ।

परदेशीको नाममा

सोधिरहन्छन् खबर कोहि
खोजिरहन्छन् खबर कोहि

बिश्वासको तन्नेरी पहाड
मनभित्र ठडाइदिईराखेर
परदेशीएका खसम
आजसम्म पनि नफर्किएको प्रमाण
मेरो अनुहारको शुन्य भावमा झल्किरहेको
खै कसले देख्ने?

सोधिरहन्छन् खबर कोहि
खोजिरहन्छन् खबर कोहि

थमाईदिइराखेर प्रेमको ऐना
हातबाट
छुट्ने भन्दा फुट्ने भयले
दिनरात ढुंगा ताकिरहेको
खै कसले देख्ने?

सोधिरहन्छन् खबर कोहि
खोजिरहन्छन् खबर कोहि

कोर्दिराखेर सम्बन्धको सिमाना
समाजको नजरमा
शंकाको बादल मडारिन थालेपछि
म हुनुको अहम डगमगाउने डरले
म मैभित्र लुकिरहेको
खै कसले देख्ने?

सोधिरहन्छन् खबर कोहि
खोजिरहन्छन् खबर कोहि

मागेर मुटु
बदलामा बाल्दिराखेर समर्पणको दियो
बिचलित मनको हुरी छेक्दै
बल्नुको लतमा आफैं डड्न आटेको
खै कसले देख्ने?

सोधिरहन्छन् खबर कोहि
खोजिरहन्छन् खबर कोहि

जिन्दगीमा
सबैभन्दा सजिलो त सुम्पिनु रहेछ
जो सुम्पिएका सिंगै जीवनको पृथ्वी
प्रतीक्षाको ब्ल्याकहोलबाट जोगाइरहदा
उमेर नाघ्दै गरेका रहरका तारामण्डलले 
मलाई गिज्याउन थालेको
खै कसले देख्ने?

सोधिरहन्छन्  खबर कोहि
खोजिरहन्छन् खबर कोहि

तपाईको प्रतिक्रिया