-क्रान्ति सुब्बा

हङकङको जोर्डन एरियाले  जब कोरोनाभाइरसको नयाँ उदगम बिन्दुको रुप लियो तब भाइरस संक्रमणको संभावित स्रोत र कारण  पहिल्याउन थालीयो। यहाँका केहि  पुराना भवनहरु कुनै पनि भवन व्यवस्थापन कम्पनीको सुपरिवेक्षणमा नहुनु कोरोना भाइरस फैलनुको एउटा कारण मानिएकोछ। भवनको सम्पुर्ण सरसफाइ भवन सुपरिवेक्षण कम्पनीले गर्दछ। भवन वरिपरिको वातावरण नै सफा नभएपछि आफू बस्ने फ्लाट मात्र सफा हुनु यथेष्ट हुन्न।
मानिसको जनघनत्व उच्च रहनुलाइ अर्को कारण  मानिएकोछ । यी  कारणहरु पर्यावरण सरसफाइको हिसाबले ठिकै हो ।

तर कोरोना भाइरस फैलनुमा एउटा निश्चित जाति , समुदाय र उनिहरुको सामाजिक   र सांस्कृतिक अभ्यास , मुल्य मान्यता  दोषी भएको कुरा  जब हङकङ स्वास्थ प्रबर्द्धन शाखा प्रमुख  रेमन्ड हो ले सार्वजनिक गरे तब यो कुरा ज्यादै विभेद र बिखण्डनकारी भएको टिप्पणी चौतर्फी कोणबाट आयो। उनले हानेको तिरको एउटा महत्त्वपूर्ण स्पष्ट निशाना नेपाली (गोर्खाली) जाति पनि थिए । किनकि नेपालीहरुको बाक्लो बसोबास भएको स्थान जोर्डन भएको कुरा सर्वविदित छ।

नेपाली समुदायको नेतृत्वलाई यस कुराको असर कस्तो पर्यो  या परेन या पर्नु पर्छ  कि पर्दैन न ? गम्भीर प्रश्न उभिएको छ।
यद्यपि हङकङ सरकारकि नेत्री क्यारी लामले यो  विषयमा  केहि हदसम्म संवेदनशीलता देखाइन।

हङकङकी राज्य प्रमुख क्यारी लामले होले त्यसो भनेकै भोलिपल्ट अर्थात जनवरी १९ तारीख मंगलबार अहिलेको बढ्दो कोभिड- १९ संक्रमणको सम्बन्ध कुनै विशेष जातिसंग नरहेको कुरा स्पष्ट पारिन।

के क्यारी लामले हङकङ सरकारको निति नियम विभेदकारी छैन भन्न खोजेकी हुन ? यदि त्यसो हो भने राज्यको एउटा जिम्मेवार पदमा बसेको मानिसले कसरी एउटा निश्चित अल्पसंख्यक जातिलाई तोकेर हङकङमा विपत्ति, विसंगति ल्याउने यिनै हुन भन्न सक्छ?

कतै सरकारको अन्तर्यमा छुपेर बसेको बिभेदकारी रणनीतिको अनायास प्रकटिकरण त होइन रेमण्ड हो को अभिव्यक्ति ?
आजको दिन सम्म रेमण्ड हो ले सार्वजनिक रूपमा आफ्नो बिबादास्पद बिभेदकारी अभिव्यक्तिको खण्डन किन गरेका छैनन?
क्यारी लामको स्पष्टीकरणबाट उनले आफ्नो टाउको जोगाउन मिल्छ?

हङकङ सरकार आफै धामी आफै बोक्सी हुने दोहोरो मापदण्डवाला कुटनितीको एउटा रुप झुक्किएर बाहिर आएको त होइन?

अब यति सम्मको बुझिने भाषामा आइसकेको रेमण्ड हो को उदगारबारे रेमन्ड हो स्वयंले आत्माआलोचना नगरेपछि अल्पसंख्यक समुदायका अगुवाहरुले आफ्नो छवि र स्वाभिमान बचाउनको लागि र सामाजिक सहिष्णुता कायम राख्नको लागि  उक्त भनाइको खण्डन सरकारसमक्ष गएर गर्नु पर्छ कि पर्दैन ?

अवश्य पर्छ।अन्यथा आफ्नो नेता रेमण्ड हो को भनाइलाई विश्वास गरेर स्थानीय चीनियाहरुले यहाँका अल्पसंख्यक जातिलाई हेय र घृणाको दृष्टिले हेरिरहन्छ्न। त्यसै त  कोरोना भाइरस फैल्याउने समुदाय भनेर  नेपालीको  निधारमा टीका लागि सकेको छ रेमण्ड हो को भनाइ सार्वजनिक भएयता ।

कुराको शुरूवात यसरी भएको थियो । हङकङ सरकार कै मातहतमा रहेकोे स्वस्थ बिभाग (सेन्टर फर हेल्थ प्रोटेक्सन) का एक उच्च अधिकारीले हङकङमा बसोबासरत अल्पसंख्यक जातिका सामाजिक अवस्था र  सांस्कृतिकतासंग संबंधित  केहि निश्चित चालचलनले प्रचलित सामाजिक दुरि संबंधी नियम लागू गर्न  कठिन भएको कुरा औल्याएका थिए । जसले   कोरोना भाइरस संक्रमण बढाउन सहयोग पुग्दछ त्यसैले  यो  समुदाय हाम्रोलागि खतरा भएको कुरा उनले गरेका थिए ।

” कुनै पनि जाति वा जातीयताको  भुमिका  कुनै पनि रोग फैलनुको पछाडि कुनै पनि हालतमा रहेको हुदैन । म यो कुरा स्पष्टसाथ भन्न चाहन्छु । कुनै सरकारी अधिकारीको मुखबाट यदि त्यस्तो भ्रामक भनाइ आएको हो भने त्यो सरासर गलत हो भन्न चाहन्छु  ” लामले भनिन। यसो भनेर हङकङ सरकारलाई लागेको कलंकलाइ लामले त सफा गरिहालिन।

स्वस्थ रक्षण केन्द्र ,स्वस्थ प्रबर्द्धन शाखा प्रमुख रेमन्ड होले  हङकङमा कोरोना भाइरस संक्रमण बढ्नुमा अल्पसंख्यक जाति जिम्मेवार भएको विवादास्पद अभिव्यक्ति दिएको भोलिपल्ट नै लामले आफ्नो मान्छेलाई बचाएकी हुन।

स्मरण रहोस हङकङको अल्पसंख्यक जातिभित्र नेपाली , भारतीय , पाकिस्तानी, बंगलादेशी , श्रीलंका आदि राष्ट्रियताका जनसमुदाय पर्दछ्न।

जनवरी १८ तारीख सोमबार रेमण्ड होले यसो भनेका थिए – ” उनीहरू पारिवारिक भेला धेरै गर्छन, आफ्नो देशको मान्छेहरुसंग भेटेर रमाइलो गर्न रुचाउँछन् । उनीहरू एकै ठाउँमा भेला भएर खाना खान, धूम्रपान गर्न ,मदपान सेवन गर्न र गफ गर्न मन पराउछ्न। र यस्तो बेला मास्क लगाएन भने खतरा हुन्छ। र यदि भिडभाडपुर्ण वातावरण भएको अवस्थामा  उनीहरु छरछिमेकको शौचालय पनि एक आपसमा प्रयोग गर्छन् ।”

रेमण्ड होको संस्थागत रंगभेदी सोचलाई युनिभर्सिटी अफ हङकङकि एसोसिएट प्रोफेसर कमला कपाइले  हो को यस भनाइलाई राम्रो संग जवाफ दिएकी थिइन ” ठाडो जातिवादी न्यारेटिभ ” भन्दै हङकङ फ्री प्रेस भन्ने पत्रीकामा। यस्तो भनाइले हङकङका अल्पसंख्यक जातिलाई यहाँको बहुसंख्यक जातिबाट झन टाढा लाने निष्कर्ष निकालेका थिइन उनले ।

” डाक्टर होले जुन कुरा भनेका छ्न त्यो सबै समुदायले समाजमा अभ्यास गरिरहेको कुरा हो। पारिवारिक भेला , साथीभाइसंग हिड्ने ,खाने, पिउने , धूम्रपान सेवन गर्ने , गफगाफ गर्ने कुरा  कसरी एउटा निश्चित जातीय संप्रदाय संग मात्रै संबंधित हुन सक्छ?
“हङकङका अल्पसंख्यक जातीको समुहहरुलाइ भाइरस फैल्याउने तत्वको रूपमा  औल्याएर उनीहरुको मनमा डर र आतंक रोपिदिने खालका यस्ता  अति जातिवादी साम्प्रदायिक कुराले भाइरसलाई निस्तेज पार्ने जुन  साझा प्रयास भैरहेकोछ लाई खरानी पार्दछ। अहिलेको समय भनेको यी अल्पसंख्यक समुदायलाई जतिसक्दो सहयोग गर्नु हाम्रो दायित्व हो।” उनले जोड दिदै भनेकी थिइन।

हङकङका अल्पसंख्यक जाति र तीनको संस्कृतिले कोरोना भाइरस फैल्याउन मद्दत गरिरहेछ भन्ने अभिव्यक्तिको असर अहिले  तल्लो तहको चीनिया सम्म  पुगेकोछ। आजभोलि सार्वजनिक साधन , स्थानतिर नेपालीलाई  देख्ने साथ सर्वसाधारण चीनियाहरु  तर्सने, गाली गर्ने ,तर्केर टाढा जाने र आँखा तर्ने गरेको अनुभव केही नेपालीले गर्न थालेका छ्न।

होको अभिव्यक्तिले मिडियामा पनि राम्रो स्पेस पायो। हुँदा हुँदा सिमिन सि भन्ने एउटा अपराधीले नेपाली प्रति घृणा उत्पन्न गराउने मनगढन्ते बतासे कमेन्ट हङकङको प्रतिष्ठित पत्रीका साउथ चाइना मर्निङ पोस्टको लक डाउन सम्बन्धि समाचार भएको पेजमा फोटो सप गरेर  राख्यो र त्यसको स्क्रिन सट नेपालीहरुलाइ पठाइ दियो । त्यो आतंककारीले पठाएको उक्त म्यासेजलाई धेरै नेपालीले सत्य ठाने।
राज्यको जिम्मेवार पदमा बसेको मान्छेले यसरी जेपिटी बोल्दा अपराधीहरुले कसरी टाउको उठाउन पाउँछन् भन्ने कुराको यो एउटा नमुना  हो।

त्यसो त हङकङमा देखापरेका सामाजिक समस्याहरुको दोष एक या अर्को रुपमा अल्पसंख्यक जातिमाथि थोपर्ने पहिलेबाट कै परम्परा हो।

गत सालको आन्दोलनमा युन लङ भन्ने  स्थानमा प्रजातन्त्र समर्थक आन्दोलनकारी माथी आक्रमण भएको थियो । ती आक्रमणकारीहरु अल्पसंख्यक जातिका नै थिए जसलाई भाडामा लिइएको थियोे जसमा नेपाली पनि  संलग्न थिए भन्ने हल्ला फैल्याएर नेपाली समुदायको  बदनाम गर्ने कार्य गरिएको थियोे ।

विविधताको नाममा धेरै अल्पसंख्यक जातिहरु यहाँ भएकोले हङकङलाई चीनबाट  अलग्याउने उद्योगमा यिनिहरुको संलग्नता छ भन्ने किसिमका प्रचारबाजि पनि  गरिए।

नेपालीले स्थानीय क्यान्टोनिज भाषा बुझ्दैन र आन्दोलनकारी संग झडप पर्दैन र तोडफोड , आगजनी हुदैन भनेर एमटिआर कम्पनीको प्रमुखले बोले र नेपालीहरुलाइ सुरक्षागार्डमा जागीर पनि दिए। जागिर दिनु ठुलो कुरा थिएन तर अल्पसंख्यक जातिका  नेपालीको नामलाई नै हेपेर कि त टाउको जोगाउनको लागि यसरी प्रयोग गरियो ।

तेहि समयको सेरोफेरोमा प्रजातन्त्र समर्थक नेता जिम्मी शाम माथी सांघातिक  हमला भएको थियोे (अक्टोबर १६, २०१९) । र उनलाई हमला गर्ने मानिस पनि साउथ एशियन मुलको रहेको आरोप लगाइएको थियोे बिना प्रमाण ।

तेहि समय तिर प्रहरीले शान्तिपुर्ण जुलुसलाई नियन्त्रण गर्ने नाममा चिम्सा चुइ स्थित मस्जिदमाथि निलो रंगको पानीको फोहरा प्रहार गरेका थिए ।

यसरी समयको फरक अन्तरमा एकातिर यहाँको अल्पसंख्यक जातिलाई बहु जाति , भाषी , धर्मी, संस्कृति युक्त स्थल हङकङ भनेर गर्वको विषय बनाउन प्रयोग गरिन्छ भने अर्कोतिर यस ठाउँमा  देखिने सामाजिक विकृति फैल्याउने तत्व यिनै हुन भनेर दानवीकरण गर्दै आफ्नो फेस सेभिङ्को लागि बलिको बोको पनि बनाइन्छ।

हङकङमा दक्षिण एशियाली समुदायको उपस्थिति सन १८४० को दशकबाट नै रहदै आएकोछ। सन १९ ४१ मा जापानी सैनिकले हङकङमाथी हमला गर्दा १,००० भारतीय सैनिकले ज्यान गुमाएका थिए । हङकङको स्टार फेरि सेवा सुरु गर्ने संस्थापक नै भारतीय मुलका थिए ।

गोर्खा सैनिकलाई  सर्वप्रथम यहाँ सल्केको बक्सर बिद्रोहलाई दबाउन सन १९०० मा प्रयोग गरिएको थियो । त्यो समयबाट नेपाली समुदायको उपस्थिति यस जग्गामा रहदै आएकोछ।

आज आएर हङकङको उच्च पदमा आसिन प्रशासकले साउथ एशियाली अल्पसंख्यकलाई कोरोना भाइरस फैल्याउने तत्वको रूपमा खुल्लेआम भनेपछि हामी नेपालीको स्वाभिमानमा गहिरो चोट लागेको छ। आफ्नै घर ठानेर बसेको हामी नेपालीलाई सरकारले खेताला र हलि जस्तो व्यवहार गर्दा हिनताबोध र लघुताभास एकैचोटि भएर आएकोछ हामीलाई ।

तेसो त अल्पसंख्यकको हैसियतमा रहनु भनेको नै राज्यको अधिकतम सुबिधाबाट बन्चित हुनु हो संसारको अभ्यासलाई हेर्ने हो भने। शासक समुदायबाट समय समयमा अपमान सहनु पनि अल्पसंख्यकको नियति हो। अत: हङकङमा अल्पसंख्यकको नाताले नेपालीको अवस्था रक्षात्मक नै हो।

हामीले हाम्रो आत्मरक्षाको लागि सदा लडि नै रहनु पर्छ । जस्तै अहिले कोरोना संक्रमण बढाउने एजेन्ट बनाइदियो हङकङ सरकारले नेपालीलाई पनि । अब यो सरकारी तक्माको बोझलाइ कम गर्ने परम दायित्व प्रत्येक नेपालीको काँधमा आइपरेकोछ।

नेपाली समुदायको प्रतिनिधित्व गर्दै  कम्युनिटी लिडरको  पद सम्हालेका  नेपाली अगुवाले यस्तो बेला बिगारिएको नेपालीको छबि सफा गर्न सर्वसाधारणले देख्ने गरि कुनै उद्योग गर्न अत्यन्तै जरुरी छ। नेपाली समुदायको लागि केहि गरेको औपचारिकता मात्रै निभाउने नाटकको अन्त हुनु पर्छ अब। सर्वसाधारण नेपालीले पनि आत्मसम्मानसाथ बाँचेको प्रत्याभूति पाउनु पर्छ उप्रान्त।

र प्रत्येक सचेत हङकङवासी नेपालीले आफ्नो स्थानबाट नेपालीको शाख बचाउने कुरामा औसत भन्दा बढी सचेत हुनुपर्छ र सोही अनुरुप  पहलकदमी गर्ने वेला पनि आएको छ।

अहिलेको सन्दर्भमा सामाजिक दुरि र मास्क सम्बन्धि नियमलाइ बाटोघाटो , चोक , गल्ली , सडक पेटि तथा कुनै पनि सार्वजनिक स्थलमा प्रत्येक नेपालीले पालना गर्नु नै ठुलो कुरा भएकोछ। किनकि  रेमन्ड हो जस्तो नश्लिय अहंकार बोकेका मानिसहरु केहि भेटिन्छ कि भनेर हाम्रो पछि लागेका हुन्छ्न ।

सडक, गल्लि तिर मास्क फुकालेर चुरोट , बियर खाएको देखेपछि त हामीलाई होच्याएर कोरोना भाइरस फैल्याउने जाति भनेर आरोप लगाएको हो । यहाँका स्थानीय चिनियाँले पनि  तेसो गरिरहेका हुन्छ्न। तर तिनलाई रेमण्ड होहरुले देखेर पनि नदेखेको जस्तो गर्छन् । बुझ्नु पर्ने कुरा तेति हो।

अन्तमा अब कि त  नेपाली कम्युनिटी लिडरहरुले यो समस्याको निराकरण गर्ने कुनै उपाय निकाल्नु परयो कि त यो अपमानको विष सबै नेपालीले पिएर हिड्नु परयो। रोजाईको भकुण्डो नेपाली कै कोर्टमा आएर बसेको छ।

तपाईको प्रतिक्रिया