काठमाडौँ । निर्वाचन आयोगले बोलाएको छलफलमा पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपा अनुपस्थित भएको छ ।
निर्वाचन आयोगले आज शुक्रबार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीको सम्बन्धमा हालसम्म गरेका कामको विषयमा छलफल गर्न भनी बोलाएको छलफलमा दाहाल–नेपाल पक्ष अनुपस्थित भएको हो ।

दाहाल–नेपाल पक्षले अध्यक्षद्वय कार्यक्रमको सिलसिलामा उपत्यकाबाहिर रहेको र छलफलमा अध्यक्ष स्वयं उपस्थिति हुन चाहेको भए पनि १८ गतेसम्म उपस्थिति हुन नसक्ने औपचारिक पत्रसाथ जानकारी गराएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

केपी शर्मा ओली पक्षबाट भने नेता सुवासचन्द्र नेम्वाङसहित नेपाल सरकारका मन्त्रीहरुको उपस्थितिमा निर्वाचन आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुसँग अनौपचारिक छलफल गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबाट आयोगले निर्वाचनको तयारीको सम्बन्धमा हालसम्म गरेका प्रगतिको बारेमा जनकारी गराएका थिए ।

यस्तै निर्वाचन आयोगले नेकपाका दुई समूहलाई नभइ दुई अध्यक्षलाई चिनेको प्रष्ट पारेको छ । आयोगले नेकपाको आधिकारिताको लागि दुवै पक्षले निवेदन नदिएकाले अहिलेसम्म दुई अध्यक्षलाई चिनेको प्रष्ट पारेको हो ।

आयोगका प्रवक्ता श्रेष्ठले शुक्रबार नेकपाका दुवै समूहलाई नभई दुवै अध्यक्षका आधिकारिक प्रतिनिधिलाई बोलाइएको बताए । उनले आयोगले यसो गर्दा नेकपा विभाजनलाई मान्यता दिएको अर्थ नलाग्ने पष्ट पारे ।

छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै संविधानसभा अध्यक्ष तथा नेकपा ओली पक्षका नेता सुभासचन्द्र नेम्वाङले निर्वाचनको प्रयोजनमा हुने दल दर्ता लगायतका प्रक्रिया अघि बढाउन आग्रह गरिएको बताए ।

निर्वाचन आयोगको आग्रह बमोजिम आफूहरु उपस्थित भएको र अदालतबाट अन्यथा फैसला नआउँदासम्म निर्वाचनका तयारी अघि बढाउन आग्रह गरिएको नेम्वाङले जानकारी दिए ।

आयोगले अर्को बैठक उपयुक्त समयमा बोलाउने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया