न्यूयोर्क । द गुरुङ (तमु) सोसाइटी इन्क युएसएले गुरुङ तमु जातिको महान पर्व ल्होछार २०८१ विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाएको छ।
सोसाइटीले मुप्री ल्हो अर्थात गरुड वर्गको बिदाइ तथा सप्री ल्हो अर्थात सर्प वर्गको स्वागत गर्दै डिसेम्बर २८ मा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ ल्होछार मनाएको हो ।
ज्येष्ठ नागरिक कमला गुरुङ, प्रमुख अतिथि हर्कजङ्ग गुरुङ, अध्यक्ष ओम बहादुर गुरुङ, विशेष अतिथि नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना)का अध्यक्ष तोरण गुरुङ तथा संस्थापक अध्यक्ष तुलसी प्रसाद गुरुङले संयुक्त रुपमा पानसमा द्विप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि हर्कजङ्ग गुरुङले ल्होछारको शुभकामना व्यक्त गर्दै आभार व्यक्त गरेका थिए । उनले २००८ मा आफूले ल्होछार संयोजकको भूमिका निर्वाह गर्दा ज्येष्ठ नागरिकको हैसियतले द्विप प्रज्वलन गर्ने प्रथम अवसर प्राप्त गरेको र त्यो अवसर प्राप्त गर्ने क्रम आज २०२४ साल सम्म जारी रहेकोमा वर्तमान कार्यसमितिलाई हार्दिक धन्यवाद व्यक्त गरे । उनले विदेशमा रहेर पनि आफ्नो संस्कार र संस्कृतिको प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम मनाउने गरिएकोमा खुसी व्यक्त गर्दै भावी पुस्ताले पनि आफ्नो संस्कृतिलाई अंगाल्न र प्रवर्द्धन गर्न सहयोग गर्नेगरी वातावरण बनाउनुपर्ने बताए ।
उनले भाषा, संस्कार, संस्कृति र परम्परा जोगाउनको लागि सोसाइटीले दुई महिना अघिदेखि गरिरहेको मेहनतको प्रशंसा गर्दै धन्यवाद समेत व्यक्त गरे ।
डेमोक्रेटिक पार्टीको नेता तथा न्यूयोर्क स्टेट डिस्ट्रिक्ट ३० का एसेम्ब्ली मेम्बर स्टेभेन रागाले गुरुङहरूको ल्होछारको शुभकामना व्यक्त गर्दै नेपाली समुदायलाई आफूले प्रतिनिधित्व गर्न पाएकोमा गर्व लागेको बताए ।
विशेष अतिथि फिप्नाका अध्यक्ष तोरण गुरुङले ल्होछारको शुभकामना दिदैँ गुरुङ संस्कार र संस्कृतिको सम्बर्द्धन गर्न आव्हान गरे । उनले बोलेर मात्रै आफ्नो आवाज बुलन्द बनाउन सकिने बताउँदै संस्कार संस्कृति जोगाउने क्रमसँगै राजनीतिक चेतनाको विकास गर्नुपर्ने तर्क समेत गरे ।
सोसाइटीका अध्यक्ष ओम बहादुर गुरुङले विदेशी भूमिमा यसरी ल्होछार कार्यक्रम गरेर गुरुङहरूको संस्कार र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आएको बताए । सोसाइटीले सिटीसँग सम्बन्ध बढाउँदै सोसाइटीको हितको लागि काम गर्ने अध्यक्ष गुरुङको भनाइ छ । अध्यक्ष गुरुङले नृत्य निर्देशक, कलाकार, आर्थिक रुपमा सहयोग गर्ने सम्पूर्ण आजीवन सदस्य तथा व्यवसायीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरे ।
सोसाइटी महासचिव मच्छेदेवी गुरुङले गुरुङहरू जहाँ गए पनि आफ्नो पहिचान र अस्तित्वका लागि राज्यका हरेक निकायमा गुरुङहरूको उपस्थिति बढाउनुपर्ने बताउँदै ल्होछारलाई जनजातिको पहिचान स्थापना गर्न र अधिकार सुनिश्चित गर्ने अभियानको रुपमा अगाडि लैजानुपर्नेमा जोड दिइन् । उनले ल्होछार पर्व नयाँ पुस्तालाई गुरुङ संस्कार, संस्कृति, अस्तित्व र पहिचानका बारेमा जानकारी दिदैँ सम्पूर्ण गुरुङ जातिबीच आपसी सद्भाव कायम गर्न र सबै गुरुङहरूलाई एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण अवसर रहेको बताइन् ।
कार्यक्रममा युवा बालबालिकाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्थापित गुरुङ तमु स्टुडेन्ट क्लबको क्रियाकलापबारे क्लवका संयोजक मेलिशा गुरुङले ल्होछारको शुभकामना दिदैँ क्लवले गुरुङ जातिको संस्कार, संस्कृति, भेषभुषा जगेर्ना गर्न र बालबालिकाहरूको क्षमता अभिवृद्धि गर्ने विभिन्न कार्यक्रम गरेको जानकारी दिइन् । उनले बालबालिकाहरुलाई क्लवमा जोडिनुको लागि अनुरोध गरे।
सोसाइटीका वरिष्ठ उपाध्यक्ष अलिशा गुरुङले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै ल्होछारको शुभकामना व्यक्त गरिन । ल्होछार कार्यक्रम २०८१ का सांस्कृतिक संयोजक तथा सोसाइटीका उपाध्यक्ष लिल गुरुङ तथा कार्यसमिति सदस्य बिन्दु गुरुङले कार्यक्रमबारे जानकारी दिंदै कार्यक्रम सफल बनाउनको लागि सहयोग गर्ने सल्लाहकार, कार्यसिमिति सदस्य, कलाकार, तमु आमा समूह तथा स्वयंसेवकहरुलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा न्यूयोर्क र न्यूजर्सीका विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिति थियो । सोसाइटीले सोसाइटीमा आवद्ध रही निस्वार्थ भावले निरन्तर योगदान पुर्याउने दुइ जना आजिवन सदस्य द्वय खड्गजङ गुरुङ र संस्थापक मध्ये एक गौरी गुरुङलाई सम्मान गरेको थियो । आजीवन सदस्यता लिएका अन्य ८ जनालाई पनि संस्थापक अध्यक्ष तुलसी प्रसाद गुरुङ र ओम गुरुङको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो।
यो बर्ष आजीवन सदस्य ग्रहण गर्ने व्यक्तिहरु अञ्जित गुरुङ, बुद्धि (भरत) गुरुङ, बुद्धि गुरुङ, पवित्रा गुरुङ, मुमुचु गुरुङ, ओङ्ग्याल गुरुङ, राजु सिङ्ग गुरुङ , चन्द्र गुरुङ, प्रताप गुरुङ , करुणा गुरुङ, अणु गुरुङ , खेम थापा मगर रहेका थिए । कार्यक्रममा युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका प्रमुख सल्लाहकार टेक टाँगी गुरुङ, गुरुङ भाषा तथा संस्कृति विभागका प्रमुख गोपाल पच्युँ गुरुङ तथा युवा संयोजक गोकुलक्रोगी गुरुङको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गुरुङ राष्ट्रियगान मार्फत उपस्थित सबैलाई स्वागत गरिएको थियो । मौलिकता झल्कने बाह्रमासे घाटु, कौडा तथा गुरुङ भाषाको गीतहरुमा नृत्य प्रस्तुत भएको थियो । बाह्रमासे घाटु कोरियोग्राफर भुपेन्द्र गुरुङले कोरियोग्राफ गरेका हुन् । भुपेन्द्र गुरुङ, बिन्दु गुरुङ, प्रेम गुरुङ, आमा टोली तथा स्थानीय कलाकारहरुले संयुक्त रुपमा नृत्य प्रस्तुत गरेका थिए
।
कार्यक्रममा विभिन्न नेपाली तथा गुरुङ भाषाको चलचित्रमा अभिनय गरेकी नायिका रञ्जिता गुरुङ र नृत्यनिर्देशक तथा कोरियोग्राफर भुपेन्द्र गुरुङले पनि नृत्य प्रस्तुत गरेका थिए। साथै स्थानीय बाल कलाकारहरु ओजाश्री गुरुङ, आइना गुरुङ र साइना लामाले गुरुङ भाषाको गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
नेपाली चर्चित गीत रुकुम मै कोटमा शिला गुरुङ, रक्षा गुरुङ, इभा श्रेष्ठ, आर्य डोल्मा गुरुङले बेजोडको प्रस्तुति दिएका थिए । स्थानीय कलाकारहरु श्रुती गुरुङ, सुष्मा गुरुङ, केभिन गुरुङ र सोमेस गुरुङले गुरुङभाषाको गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
यसैगरी देउरालीलाई फुलपाती बोलको गीतमा आमा टोलीले बेजोडको नृत्य प्रस्तुत गरेका थिए। गोरी गुरुङ, अमृता गुरुङ, लक्ष्मी गुरुङ, लक्ष्मी गुरुङ थापा र निर्मला देवान लिम्बुले नृत्य गरेका थिए । सम्राट गुरुङ, आकर्षण गुरुङ, प्रतिभा गुरुङ, सदिया छन्त्यालले गुरुङ भाषाको गीत मरै त झलल बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए।
यसैगरी स्थानीय कलाकारहरु रिदिमा गुरुङ, सदिया छन्त्याल, श्रृंखला पुन, आर्यन्सी थापा र करुणा रोका मगरले डम्फु मादल बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै कोइलम मिछ्याबा बोलको गीतमा चर्चित कलाकारहरु खेम गुरुङ तथा यन्सर्ज गुरुङले नृत्य प्रस्तुत गरेका थिए। स्थानीय कलाकारहरु श्रुती गुरुङ, सुष्मा गुरुङ, सोनिया गुरुङ, तुसना थापा, सुजेना गुरुङ, आङ युटी शेर्पाले कौडा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा नृत्य निर्देशक गोविन्द राइ, नृतय निर्देशक तथा कोरियोग्राफर भुपेन्द्र गुरुङले कोरियोग्राफ गरेका थिए ।
कार्यक्रममा गुरुङ घाटु, रोधीको संरक्षण र सम्बर्द्धनमा जुटेका निर्देशक तथा कोरियोग्राफर भुपेन्द्र गुरुङ, पहिलो गुरुङ चलचित्र पातेका नायक खेम गुरुङ, साँस्कृतिक कार्यक्रम संयोजक लिल गुरुङ, विन्दु गुरुङलाई पनि सम्मान गरिएको थियो । मार्सल आर्टस खेलाडी भुपेन्द्र गुरुङले ट्रेडिसनल चाइनिज मार्सल आर्टस फेडरेसन अमेरिकाद्वारा आयोजित १५औँ गोल्डेन ड्रागन च्याम्पियनशिपमा दुई रजत पदक प्राप्त गरेका थिए। कार्यक्रममा ४ सय भन्दा बढी संख्यामा रहेका दर्शकको भीड बिहानको २ बजे सम्म नै देखिन्थ्यो ।
कार्यक्रमको दोश्रो चरणको साँस्कृतिक कार्यक्रम रीचा गुरुङ र रिदिमा गुरुङले सञ्चालन गरेका थिए ।
ल्हो को अर्थ वर्ग – वर्ष छारको अर्थ नयाँ हुने भएकोले ल्होछारलाई गुरुङहरूले नयाँ वर्षको रूपमा मनाउने चलन छ । तमु जातिले वर्गको आधारमा उमेर गणना गर्ने वर्ग हेरेर नै शुभ कार्य गर्ने प्रचलन छ। गुरुङ जातिले विभिन्न १२ ओटा जीव जन्तुहरूको चक्रलाई आधार मानेर प्रत्येक वर्ष नयाँ वर्षको रूपमा ल्होछार मनाउने गर्छन् । आजका युवा भोलीका कर्णधार भन्ने मूल नाराका साथ युवाहरुको क्षमता अभिवृद्धि गराउने उद्देश्यले युवाहरुलाई ल्होछारमा स्वयंसेवकको रुपमा सहभागी गराउँदै आएको सोसाइटीले जनाएको छ ।
गुरुङ सोसाइटीले सम्पूर्ण गुरुङहरू एकजुट हौँ, संस्कार र संस्कृतिको जगेर्ना गरौँ भन्ने मूल नाराका साथ न्यूयोर्कमा ल्होछार पर्व मनाउँदै आएको छ । सोसाइटीले आफ्नो रीतिरिवाज, धर्म, संस्कारलाई जीवित राख्न र पुस्तान्तरणको लागि सन् २००१ मा न्युयोर्क सिटीमा विधिवत रूपमा संस्था दर्ता गरी हरेक वर्ष पौष १५ मा ल्होछारलाई विशेष पर्वको रूपमा मनाउँदै आइरहेको छ ।
न्यू योर्कमा ल्होछारको यो २५ औं संस्करण हो । ल्होछार पर्वले, गुरुङहरूको संस्कृतिलाई जगेर्ना गर्न, प्रवर्द्धन गर्न तथा गुरुङ संस्कृतिलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन पनि वर्षेनी तमु ल्होछार मनाउँदै आएको सोसाइटीले जनाएको छ ।
पुष १५ मा विश्वभरीका गुरुङहरुले विभिन्न कार्यक्रम गरी ल्होछार मनाउँदै आएका छन् । न्यूयोर्क र न्यू जर्सीमा बसोबास गर्ने गुरुङ जातिले हरेक बर्ष ल्होछार मनाउँदै आए पनि कोभिडका कारण २०२० मा भने भर्चुअल रुपमा ल्होछार आयोजना गरिएको थियो ।