- क्रान्ति सुब्बा

अग्नि सेवा निर्देशक एन्डी येङ यान-किनले डिसेम्बर ७ तारीख मिडियासंग कुरा गर्ने क्रममा ताई पोको वाङ फुक कोर्टमा लागेको घातक आगलागीको शुरुआत वाङ च्यङ हाउसको पहिलो र दोस्रो तल्ला बीचमा रहेको स्काफोल्डिङको आश्रयस्थलबाट भएको जानकारी दिए ।

घटनास्थल पुगेर गरिएको स्थलगत रेकर्ड र प्रारम्भिक मूल्याङ्कनको समीक्षा पश्चात् यस्तो निष्कर्ष निकालिएको खुलासा येङ्ले गरेका हुन । यद्यपि आगलागीको कारणबारे अझै गहन अनुसन्धान आवश्यक रहेको उनले बताए ।

अग्नि सेवा विभागले कम्प्युटर सिमुलेशनद्वारा आगोको उत्पत्ति बिन्दु निर्धारण गर्ने छ उनले भने।

आगो निभाउने तथा उद्धार कार्यहरू पूरा भइसकेको छ र अबको मुल कार्य आगो लाग्नुको मुल कारण पत्ता लगाउनु हो जसको लागि सरकारले एक समर्पित कार्यदल गठन गरेर काम थाली सकेको छ उनले भने ।

बोल्ने क्रममा येङले आगलागीको दिन अर्थात नोभेम्बर २६ का दिन उद्धार प्रयासका क्रममा सामना गर्नु परेको भयंकर चुनौतीको संझना गरे । सूचना प्राप्त गरेको पाँच मिनेट पछि अग्नि नियन्त्रकहरू घटनास्थलमा पुग्दा भवनको बाहिरी भित्ताहरूमा आगो सल्की सकेको र तीव्र गतिमा आगो फैलिरहेकोे थियो ।

बाहिरी भित्ताहरूमा जडित जलिरहेका बाँसका पोलहरु भाँचिन थालेपछि सिंगो स्काफोल्डिङ संरचना नै गर्ल्यामगुर्लुम ढल्यो। खसेको बाँसको पोलले लागेपछि एक जना अग्निनियन्त्रक बेहोस भएर ढलेपछी उनलाई अस्पताल भर्ना गरिएको थियो ।

आगलागीको समयमा प्रभावित आठ वटा भवनहरू मध्ये एउटा भवनको मात्र फायर अलार्म बजेको यथार्थ अनुसन्धानले पत्ता लगाएको येङले औंल्याए । अन्य सात वटा भवनका फायर अलार्महरू किन बज्न असफल भए भन्ने वास्तविकता पत्ता लगाउन हाल अनुसन्धान भइरहेको उनले खुलासा गरे।

तपाईको प्रतिक्रिया