विराटनगर । दिल बहादुर राई/साखा माया राई अक्षय कोषमार्फत बिरामी, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई आर्थिक सहयोग वितरण गरिएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरिएको उक्त अक्षय कोषबाट २०८२ साल पुस ३० गते विभिन्न व्यक्तिहरूलाई राहतस्वरूप सहयोग प्रदान गरिएको हो।
सहयोग वितरण कार्यक्रम संस्थाका संस्थापक श्री ललित राईको हातबाट सम्पन्न भएको थियो। आर्थिक अभावका कारण उपचार, शिक्षा तथा दैनिकी सञ्चालनमा कठिनाइ भोगिरहेका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सहयोग गरिएको अक्षय कोषले जनाएको छ।
अक्षय कोषबाट बिरामी व्यक्तिहरू अर्जुन राईलाई रु. २०,०००, जबिन राईलाई रु. ७,००० तथा ग्लोरिया राईलाई रु. २,००० सहयोग प्रदान गरिएको छ। यस्तै, विपन्न व्यक्ति रामशोभा राईलाई रु. ४,००० सहयोग गरिएको छ।
त्यसैगरी, जेहेन्दार तथा विपन्न विद्यार्थीहरू प्रतीक्षा राई, दिपिका राई, यतिका राई, प्रान्जल राई, पासङ शेर्पा र युजन राईलाई जनही रु. २,००० का दरले सहयोग प्रदान गरिएको छ। साथै, आकस्मिक अवस्थामा प्रयोग गर्नका लागि आपतकालीन कोषमा रु. ५,००० रकम छुट्याइएको छ।
कार्यक्रममार्फत कुल रु. ५०,००० रकम वितरण गरिएको अक्षय कोषले जनाएको छ। स्वास्थ्य समस्या, आर्थिक अभाव तथा शैक्षिक निरन्तरतामा अवरोध भोगिरहेका नागरिकहरूलाई लक्षित गर्दै कोषले निरन्तर सहयोग गर्दै आएको बताइएको छ।
स्थानीयस्तरमै सहयोगको संस्कार विकास गर्ने तथा आवश्यकतामा परेकालाई समयमै राहत उपलब्ध गराउने उद्देश्यले अक्षय कोष सञ्चालन गरिएको संस्थाका प्रतिनिधिहरूले बताएका छन्।
उक्त सहयोग कार्यका लागि सर्सेपु समाजले संस्थापक श्री ललित राईप्रति हार्दिक आभार व्यक्त गरेको छ। यस्ता मानवीय तथा सामाजिक कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास समाजले व्यक्त गरेको छ।





