काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्याको घटनालाई नेपाली कांग्रेसले दुःखद र गम्भीर रूपमा लिएको जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धान तीव्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । उक्त घटनामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई कांग्रेसले गम्भीर रुपमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

‘शान्ति स्थापना र संविधान निर्माणपश्चात् देशमा अमनचयन स्थापना हुनेछ र नागरिकको जीवन सुरक्षित बन्नेछ भन्ने विश्वास बितेका वर्षहरूमा कारुणिक ढंगले खण्डित हुँदै आएको छ,’ शर्माले भनेका छन्, ‘अनेक प्रकृतिको हिंसासँगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही वर्षयता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको विषय बनेको छ । ‘विकसित मुलुकमा पनि यस्तै हुन्छ’ भन्ने जिम्मेवार तहको गैरजिम्मेवार जवाफले वर्तमान सरकारको उदासीनता प्रकट गरेको छ भने अपराधको मानसिकता निरुत्साहित गर्न कानुनी चेतावनीको भाषालाई कमजोरसमेत बनाएको छ । निर्मला पन्त प्रकरणका दोषी अझै कहीँ खुला घुमिरहेका छन् भने भागरथी र अरू धेरै छोरीको अपराधमा संलग्नहरू कानुनको कठघराभन्दा बाहिरै छन् ।’

महिलाउपर हिंसा, बलात्कार र हत्याका जघन्य अपराध बढेर जाँदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन शर्माले माग गरेका छन् । बैतडी घटनाको स्थलगत अध्ययन गरी लिखित प्रतिवेदन पेस गर्न एवं स्थानीयवासी र परिवारजनसँग भेट गर्न केन्द्रीय समितिको प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य रमेश लेखक बैतडी गएको पनि शर्माले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया