कैलाली । सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्प फर हेप्पीनेस सुदूरपश्चिमले सवारी चालक र ट्राफिक प्रहरीसँग प्रणय दिवस मनाएको छ ।

प्रदेशको अस्थायी राजधानी धनगढीस्थित बसपार्कमा ‘प्रेम रुपलाई होइन मानवतालाई गरौँ’ भन्ने नारासहित ह्रदयको आँखा कार्यक्रम आयोजना गर्दै सवारी चालक, सह–चालक, एम्बुलेन्स चालक र ट्राफिक प्रहरीलाई गुलाफ उपहार दिदै प्रणय दिवस मनाइएको हो ।

हेप्पीनेसका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा सार्वजनिक सवारीका चालक, सह–चालक र एम्बुलेन्स चालकलाई गुलाफसँगै खादा ओढाएर सम्मान गरिएको छ भने सबैलाई चकलेट र किरिङ पनि प्रदान गरिएको छ ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरीलाई पनि गुलाफ उपहार दिदै खादा ओढाएर सम्मान गरिएको छ । ट्राफिक व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले एउटा एउटा सिट्टी पनि दिइएको छ ।

सवारी चालकका तर्फबाट कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सुदूरपश्चिम सचिव रामसिंह महराले सम्मानका लागि धन्यवाद ज्ञापन गरे।

उनले प्रेमीप्रेमिकाबीच मात्र नभएर मानव जातीले एकअर्कालाई प्रेम गनुपर्छ भन्ने सन्देश दिनेगरि आयोजित कार्यक्रमको प्रसंशा गरे भने कार्यक्रमका विशिष्ठ अतिथि रहेका एम्बुलेन्स चालक संघ सुदूरपश्चिमका अध्यक्ष लक्ष्मण सिंहले पनि सम्मानका लागि धन्यवाद दिए ।

विशिष्ठ अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी नायब निरीक्षक मोहनसिंह चैसिरले सबै सवारी चालकहरुलाई यात्राका क्रममा भेटिने यात्रुलाई प्रेमवत व्यवहार गर्न आग्रह गरेका छन् ।

उनले हेप्पीनेसले प्रेम दिवस मनाउन गलत परम्परालाई तोड्दै नयाँ अभ्यासको सुरुवात गरेकोमा पनि धन्यवाद दिएका छन् । संस्थाका संयोजक भण्डारीले सवारी चालक, सह–चालक, एम्बुलेन्स चालक र ट्राफिक प्रहरीको जिम्मेवारी आफैमा महत्वपूर्ण भएको बताए ।

उनले सबैप्रती सम्मान दर्शाउदै कोरोना महामारीका बेला पनि फ्रन्ट लाइनमा खटिएर सर्वसाधारणलाई सेवा दिएको स्मरण गर्दै धन्यवाद समेत दिए ।

भण्डारीले यात्राका क्रममा सवारी चालकले महिला, बृद्धबृद्धा, शारीरीक रुपमा अशक्तहरुलाई उचित सम्मान दिने गरेको भएपनि कहिलेकही समस्या भोग्नुपरेका गुनासो आउने भएकाले त्यसतर्फ पनि विशेष ध्यान दिन पनि आग्रह गरेका छन् ।

कोभिडका बेला एम्बुलेन्स चालकले संक्रमितलाई निःशुल्क कोभिड अस्पतालसम्म पुगाउने काम प्रसंशनीय रहेको पनि उनले उल्लेख गरे । हेप्पीनेसले यातायात मजदुर संगठन, एम्बुलेन्स चालक संघ र ट्राफिक प्रहरी कार्यालयलाई मायाको चिनो पनि प्रदान गरेको छ ।

कार्यक्रममा हेल्प फर हेप्पीनेस टिम सुदूरपश्चिमको आपतकालीन असहाय सहयोग कोष, मोटिभेसनल टिम र भेटनरी टिमका सदस्यहरुको सहभागिता रहेको थियो । यसअघि गत वर्ष हेल्प फर हेप्पीनेसले कैलाली कारगारका कैदीबन्दीहरुसँग प्रणय दिवस मनाएको थियो ।

तपाईको प्रतिक्रिया