काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले लामो समयदेखिको सपना रहेको मेलम्ची पानी अबका केही दिनमै राजधानीबासीले पाउने बताएका छन् । मेलम्चीको पानीलाई सुरुङमार्ग हुँदै काठमाडौं झार्ने कार्यको आज शुभारम्भ गर्दै प्रधानमन्त्रीले यो राजधानीबासीका लागि खुसी मनाउने अवसर भएको बताए । ‘जति बेला पायो त्यति बेला लड्डु खाने होइन । यस बेलामा लडु खाने हो’, उनले भने ।

प्रधानमन्त्रीले विगतमा असावधानी र प्राविधिक त्रुटीले भएको बताउँदै अबका दिनमा पानी ल्याउँदा हुन सक्ने सम्भावित जोखिम बारे मेलम्ची खानेपानी आयोजना सजग रहन पनि निर्देशन दिए ।

‘मेलम्ची कुरामात्रै हुने हो की ?’ भन्ने अवस्था सिर्जना भएको पनि उनले बताए । ‘मैले कुरा सुन्दा जम्मै कपाल कालो थियो । अहिले सम्पन्न हुँदा एउटा पनि कालो कपाल बाँकी छैन’, उनले भने । प्रधानमन्त्री ओलीले अहिले थुप्रै कामहरु अघि बढेको उल्लेख गर्दै आफूलाई काम गर्न नदिएको अहिले प्रमाणित भएको समेत बताए । दोस्रो चरणमा यांग्री र लार्के खोलाबाट पनि थपेर पुरै उपत्यकालाई यथेष्ट पुग्ने पानी वितरण गरिने पनि उनले बताए । यसका लागि पाइपहरुको परीक्षण गरी सुरक्षित पार्नसमेत उनले सम्बद्ध निकायलाई निर्देशन दिए ।

मेलम्चीको पानी आगामी २६ गते थप प्राप्त गरी बागमतीमा पानी छोडिने र भोलिपल्टको शिवरात्रीमा सफा पानी उपलब्ध हुने पनि उनले बताए । अहिले सरकारले तिव्रताका साथ विकास कार्य अघि बढाइरहेको र केही समयपछि सुनकोशी कमलाडाइभर्सन निर्माण छिट्टै सुरु हुने पनि उनले बताए ।

एक थरीले सरकारले (विकास निर्माण कार्य) उधुमै गर्न लाग्यो भनेर सरकारको नेत्तृव परिवर्तन गर्नेतर्फ लागेको समेत उनले बताए । जनताको साथ पाए विकास निर्माणको कार्य तिव्रतर अघि बढाउन सक्ने भन्दै प्रधानमन्त्रीले महाकवि देवकोटालाई उधृत गर्दै भने, ‘तिमीले हाँसे म हाक्न सक्छु इन्द्रको आशन ।’

तपाईको प्रतिक्रिया