काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले कम्युनिस्टहरुको भर नहुने भन्दै आफूलाई अहिले प्रधानमन्त्री पदसँग मतलब नभएको बताएका छन् ।

आफूलाई भेट्न आज बुढानीलकण्ठ निवास पुगेका कांग्रेस सम्बद्ध आदिवासी जनजाति नेताहरूसँग देउवाले आफ्नो एकमात्र उद्देश्य फेरि पार्टी सभापति हुने रहेको प्रष्ट पारे ।

भेटका सहभागी एक नेताले देउवाको भनाइ उदृत गर्दै भने, ‘मलाई प्रधानमन्त्रीसँग मतलब छैन र यिनीहरुको (कम्युनिष्‍ट) हरूको विश्वास छैन । अहिले जसरी पनि सभापति हुने हो, महाधिवेशनबाट एकपटक पार्टी फेरि हाँक्ने हो ।

देउवाले अहिले अविश्वास प्रस्तावतिर जाने कुरा पनि गरेनन् । भेटका सहभागीका अनुसार अहिले प्रधानमन्त्री भए पनि एक महिनापछि फेरि अविश्वास प्रस्ताव, विश्वासको मत नदिने जस्ता समस्या आउने भन्दै त्यता रुची नभएको बताएका थिए ।

देउवालाई मंगलबारमात्र माओवादी अध्यक्ष प्रचण्डले भेटेर केपी ओली हटाउने अभियानमा साथ दिन आग्रह गरेका थिए । बुधवारको भेटमा पूर्वसांसद सीता गुरुङलगायतका जनजाती नेताहरू सहभागी थिए ।

तपाईको प्रतिक्रिया