कथा
ऊ, उभियो । अरुहरू जसरी उभिन्छन् त्यसरी नै सडकको चौराहामा उभियो ।
खुला चौबाटो छ । ओहोरदोहोर गर्ने सबारी र पैदल यात्रीहरूले सडक व्यस्त हो भन्ने सूचना गरेका छन् । सडकमा सोद्देश्य हिँडेकाहरू थोरैजस्ता र निरूद्देश्य भौँतारिएकाहरू धेरैजस्ता लाग्छन् ।
हिँड्नैलाई सडक बनेको बुझ्नेहरू, बाटो छ त्यसैले हिँडिएको छ भनेर बुझ्नेहरू र हिँड्नलाई सडक चाहिन्छ भनेर बुझ्ने यी सबै यो चौबाटो भएर हिँडेका छन् । चौबाटोमा उभिएका,भौँतारिएका र हिँडेकाहरू सबैलाई एकै किसिमले सडकको महत्त्व बुझाउन पनि सजिलो छैन ।
कसैले यसलाई सरकार बनाउन मानिसहरू प्लेकार्ड लिएर उभिने ठाउँ हो भन्ने बुझेका छन् भने कसैले सरकार गिराउन । त्यस्तै मानव अधिकारको, नागरिक समाज सामाजिक अभियन्ता,नारीअधिकार र मुक्तिका नाममा, पहिचानका नाममा वा यस्तै अनगिन्ती काममा उभिने ठाउँ भएकाले यी बाहेक अरु काममा वा बेकाममा यहाँ उभिन हुँदैन ।
यी र यस्तै काम बाहेकका कामले वा बेकामले उभिन खोजियो भने त्यो अपराध जस्तै हुन्छ भन्ने मान्यता रही आएकाले र यो मानिस यी प्रयोजनभन्दा फरक यहाँ आएर उभिने मात्र काम गरेकाले यो अपराध हो भन्ने यो समयको न्यायिक ठहर हो भनिएको छ ।
“सडक हिँड्नको निम्ति भएकोले उभिनु राम्रो होइन । उभिनको निम्ति सडक चाहिँदैन । सडकमा उभिनु उसको र अरुको निम्ति पनि राम्रो होइन । त्यसैले उसलाई भनौँ र अर्को कुनै ठाउँ जहाँ उभिन आपत्ति छैन त्यहाँ गएर ऊ उभियोस्।”
सडकमा कानेखुसी भइरहेको उसले सुन्यो अनि एकजमात उसैलाई लक्ष गरेर आइरहेकाहरूलाई गौर गरेर हे¥यो । उल्टोसुल्टो सम्भावनालाई अनुमान गरेर त्यस दिन ऊ चौबाटो छोडेर किनारा लाग्यो ।
भोलिपल्ट पनि ऊ सडकमा आएर उभियो त्यसरी नै अनि उसका विषयमा कुरा गर्नेहरूले पनि त्यसरी नै बहसलाई अगाडि बढाए ।
“ऊ यसरी सडकमा उभिनुहुन्नथ्यो । अरु उभिनु र ऊ उभिनु एउटै हुन्न । आफ्नो घर भएको व्यक्ति ,चौबाटोलाई लक्ष गरेर उभिन थाल्योभने घर नहुनेहरूलाई अप्ठ्यारो पर्न सक्छ । फेरी ऊ चौबाटो कुर्ने भएको पनि छैन । आफ्नो अवस्थालाई लुकाएर यसरी अनधिकृत बाटो रोज्नु उसको निम्तिशोभनीय कुरा होइन । मान्छ भनेँ सम्झाऊँ अन्यथा बल प्रयोग गरेर भएपनि उसलाई चौबाटोबाट हटाउनै पर्छ ।”
“यसरी दिनहुँ बाटो कुर्नुको कुनै गम्भीर कारण हुनुपर्छ । अकारण बाटोलाई रोज्ने मान्छे यो हुँदै होइन । कुनै काम नभएजस्तो यै बाटो रोज्नुपरेको किन ? जेसुकै भएपनि कारण खोज्नु मनासिव हो । उसलाई कारणको प्रश्न गर्नैपर्छ ।
अकारण आफू पनि काम नगर्ने र हामीलाई पनि शान्त बस्न नदिने यसको षड्यन्त्र बुझ्नैपर्छ । यसका कारणले हाम्रो अस्तित्व खतरामा पर्ने सम्भावना छ । यसले क्षतिपूर्ति व्यहोर्नुपर्छ । यो सडकबाट हट्नैपर्छ अन्यथा हामी ओझेलमा पर्छौँ ।”एउटाविज्ञबोली आफैतिर केन्द्रित भएको बुझेर ऊ बाटो लाग्यो ।
“सडक सार्वजनिक सम्पत्ति भएकाले हाम्रो पनि उसको जत्तिकै हक छ । एक दुईदिन सहन सकिन्छ तर सधैँ यसरी सडकलाई कब्जामा लिएर एकाधिकार उभिन दिनुहुन्न । उसले उभिएको ठाउँ छोडोस् र बाटो लागोस् ।”
“ऊ उभिनाले अरु धेरैलाई हिँड्न गाह्रो भयो । रातविरात एक्लै हिँड्न डरमर्नु भइसक्यो । उसकै कारणले यो टोलमा सुरक्षा स्थिति खतरा पर्न गएको छ । सज्जन मानिसलाई समेत अभियोग लाग्ने डर भैसक्यो ।”
“सबैका नजर उसमाथि परेका छन्, उसको नजर सबैमाथि परेको छ । यो स्थितिमा ऊ एउटालाई कारबाही चलाउनु उचित हुन्छ । हट्छ भने हटोस् अन्यथा हाम्रो सुरक्षार्थ उसलाई असुरक्षित पार्न हामीहरू बाध्य हुनेछौँ ।” कुनै एक सामाजिक प्रतिनिधिले उसलाई यसप्रकारको सामाजिक न्यायको घोषणा सुनायो ।
उसले घोषणा सुन्यो । धेरै कुरा नबुझेका जस्ता लागे । तैपनि उसले बुझ्यो बुझ्न खोज्नु, सम्झाउन खोज्नु दुबै अहिले यो समूहमा सम्भव छैन । स्थिति यस्तरी गम्भीर हुनसक्ला भन्ने उसलाई अनुमान थिएन । जेहोस् स्थिति निरापद छैन संक्षेपमा उसले यही बुझ्यो र बाटो लाग्यो ।
ऊ सुरक्षित बस्न नसक्ने भयो । केही नगर्नु, केही नबोल्नु, प्रतिकार केही पनि नगर्नु, उभिएर उपस्थिति जनाउनु अहिलेलाई उसको अपराध भयो ।
उसले बुझेको कुरो ऊ झैँ सडकमा अरुहरू पनि उभिन्थे । अरुहरू त अझै बाटो छेकेरै उभिन्थे । अबरोध खडा गरेरै उभिन्थे । यहाँ उभिनेहरू ठुलाठालुजस्ता पनि लाग्थे । नेता, उपनेता, अभिनेता आदि के–केजस्ता पनि लाग्थे । यहाँ उभिएकोमा गौरव गर्थे । सफलता ठान्थे । कसैले त के सम्म पनि भन्थे भने यहीँबाट कतिजना मन्त्री बने । मन्त्रीमात्र होइन प्रधानमन्त्री नै यहीँबाट बने ।
यो बाटोले सत्ता फेर्ने सामर्थ्य राख्छ । प्रधानमन्त्री फेर्ने वा बनाउने क्षमता राख्छ । यो ठाउँ नै क्षमता हो , यहाँ उभिएपछि वा आँट र साहसका साथ निषिद्ध कर्म गरेपछि सिद्धि प्राप्त हुन्छ । त्यसैले यो सिद्धक्षेत्र हो निषिद्ध क्षेत्र होइन पनि भन्थे । अझै आस्तिकहरूले त वरदान क्षेत्र नै मान्थे ।
पटक पटक यो ठाउँलाई आफ्नो उद्देश्य सिद्धिको निम्ति रोज्थे र सफल भयौँ भन्थे पनि । तर त्यस्तो बेला कसैको आपत्ति सुनिँदैनथ्यो । अस्वीकृति बोलिँदैनथ्यो । आँखी बनाइँदैनथ्यो । यो सबै उसले सधैँ देखेको हो । यो कुरा उसले बुझेको छ तर सबैले उसलाई गरेको यो व्यवहार कत्ति पनि बुझेको छैन ।
“यो देशद्रोही पनि हुनसक्छ, व्यवस्था विरोधी पनि हुन सक्छ । त्यो नभए पनि यो सत्ताविराधी त पक्कै हुनुपर्छ । समय सङ्गीन छ । राजनीति तरल छ । कसैको कुरा पनि कसैले सहजै विश्वास नगर्ने समय छ ।यो हामी सबैजस्तो छैन । जो हामी सबैजस्तो छैन, त्यो हामी सबैको हुनै सक्दैन । जो सबैको होइन त्यो देशको पनि होइन । त्यसैले यो देशको निम्ति घातक हुनसक्छ । सरकारको निम्ति घातक हुनसक्छ । यसमाथि उचित कारबाही हुनैपर्छ ।”
देशको नामसँग उसको नाम जोडिएर व्याख्या भएपछि घटना पनि असामान्य हुने नै भयो । खासखुस कानेखुसी गर्दै हावाको गतिमा सन्देश प्रवाहित भयो । सशङ्कित, विकृत र तिरस्कृत दृष्टि फाल्नेहरू अब भयभीतजस्ता लाग्न थाले । उसको उपस्थिति अब राष्ट्रिय चासो र विपत्तिको रूपमा पुगेपछि कतिपय डराए, कतिपय मौन भए, कतिपय सक्रिय भए ।
उसको अस्तित्वलाई आफ्नो प्रगतिको बाधक ठानेकाहरू वा धमिलो पानीमा माछा मार्नेहरू अशोभनीय ढंगले सक्रिय र खुसी भएको देखियो । यस्तो क्षण,घातक क्षण हो । जे नहुनु पर्थ्यो त्यही भयो । सङ्गीन मोडमा उभिएको उसलाई कुनै सुरक्षित ठाउँतर्फ लैजानु आवश्यक थियो।त्यसपछि पनि अनेक अर्थ लाग्न थाले ।
ऊ चौबाटोमा सधैँ निर्धक्क उभिएको , उसको उपस्थिति आपत्तिजनक भएको, उसको यो उपस्थिति समाज र राष्ट्रकै हितविपरीत हुने भएकोले उसलाई सरकारी कब्जामा लिनुपर्ने सम्मका अर्थहरूलाई अब घटना मानौँ र अब बाँकी कथा भनौँ ।
देशको शत्रु हुनु सानो कुरा थिएन र सानो घटना पनि होइन । देशद्रोहीमा नाम चढेपछि ऊ पनि ठूलै मान्छे भयो । तर त्यसपछि पनि उसको कुनै व्यवहार फेरिएन । उसको उपस्थितिक्रम यथावत् रहेपछि उसमा दृष्टि अनेक परे ।
सामाजिक उपाधि चढिसकेकोले कुरा निश्चित थियो कि कुनै पनि क्षण ऊ त्यहाँबाट गायब गरिन सक्थ्यो । झण्डा र नक्सामा देशप्रेमको निखरा चित्र उतारिएको बेला यसको हातमा न देशको परिमार्जित नक्सा थियो न त हातमा देशको कुनै कलात्मक झण्डा नै थियो । ऊसँग त अहिले आफूलाई नागरिक मान्ने एउटा नागरिकता मात्र थियो । त्यो पनि फाटेको !
अब ऊ चौराहाको व्यस्त सडकमा देखिन छोड्यो ।
उसले भोगेका कथा त बेग्लै थिए जुन यहाँ घटेकै थिएनन् । उसलाई कतिखेर कतिखेर लागेको पनि हो यो चौराहामा उभिएर आफ्ना ती सबै कुराहरू चिच्याई चिच्याई भनौँ र सबैलाई सुनाऊँ । अनि फेरि लाग्यो जुन समूहलाई मेरो मौन उपस्थिति त सह्य भएको छैन तिनीहरूलाई मेरा कुरा कसरी सह्य हुन सक्लान् ? अनि कुराअर्को पनि थियो जसको केबल उपस्थिति यतिविधि बिझाउन जान्छ भने उसका अरु कुन कुराको निम्ति उसको लागि यो ठाउँ उपयुक्त रहन सम्भव छ र ?
ऊ कुनै कालखण्डमा यो देशको कुनै शक्तिशाली राजनीतिक पार्टीको विद्यार्थी संगठनको सक्रिय कार्यकर्ता थियो । उसले जीउज्यान बाजी राखेर यो देशमा गणतन्त्र ल्याउन होमियो । रत्नपार्क, माइतीघर, वानेश्वर, सिंहदरवार, बालुवाटार आदि सुपरिचित र प्रिय ठाउँ उसैको जोशिलो हिँडाइले थप फराकिला भएका हुन् । यी ठाउँ उसलाई त्यतिखेरै याद भएका नाम हुन् ।
गणतन्त्रको महायात्रामा धेरै ठाउँ उसका निधारको पसिना चुहेको हुनुपर्छ । कति ठाउँ त रगत नै पनि चढाएको छ उसले । गणतन्त्र आयो उसको पनि मन उज्यालो भयो आफ्नो शासनव्यवस्था आएकोमा पुलकित बन्यो । तर उसले कत्ति पनि मेसो पाएन खोइ कुन्नि कतिखेर हो उसको गणतन्त्र उसलाई छोडेर कतै अविदितको यात्रामा सायद गयो । सबै चिनेका अनुहारहरू विराना मात्र भएनन् अपरिचित जस्ता नै बने । उसको सोझो बुद्धिले यसलाई पनि उसले गणतन्त्रकै प्रतिफल ठान्यो र धेरै दिसम्म ठानिरह्यो । तर उसले हेर्दाहेर्दै उसको गणतन्त्र उसैको लागि आत्मघाती अस्त्रमा परिणत होलाजस्तो भयो ।
गणतन्त्रलाई जीवन नै बाजी लगाउने बेला उसले अरु धेरै कुरा बाजी लगाएको सम्झियो । होनहार युवक उसले डाक्टर हुने योग्यताको आफ्नो पढाइ पनि चढाएको थियो । उसले आफ्ना प्रिय नेताको अनुहारको प्रसन्नताको निम्ति आफूले गुमाएका धेरै आफ्ना प्रसन्नताका क्षणहरू सम्झियो । र अनुहारबाट प्रसन्नता गुमेका अपाङ्ग बाबुआमाका अनुहार सम्झियो।
अनि पत्नीको प्रेम र सन्तानको स्नेह पनि सम्झियो । सम्झिन त सम्झियो तर अहिले ऊसँग यी सबै कुरा थिएनन् । थियो त केबल निराशा, कुण्ठा , विश्वासघात, तिरस्कार,गरिवी र बेरोजगारी मात्र साथमा थियो । उसले गणतन्त्रबाट लिन पर्ने केही कुरा पनि रहेनछ । केबल दिने कुरा मात्र रहेछन् ऊसँग । जनताको रगत पसिनामा निख्खरा देखिने र यसैमा रमाउने अजीव सत्ताको नाम रहेछ सायद गणतन्त्र !
“तर पेट पाल्ने कसरी ?” यो यक्ष प्रश्नले ऊ धङ्धङायो । उसले आफ्नो पुरानो लगनशीलता सम्झियो, मिहिनेत र परिश्रम सम्झियो । आफ्नो योग्यता सम्झियो । “उचित वातावरण पायो भने यो केटो भोलि डाक्टर, इन्जिनियर बन्न सक्छ” गुरुले आफ्नो बाबुसँग भनेको कुरा पनि सम्झियो ।
उसले आफूलाई भित्रैदेखि छाम्यो र सुम्सुम्यायो । उसलाई धोका भइरहेको थियो । यो सबैको क्षतिपूर्तिको निम्ति उसले पढाइलाई नै अबको विकल्प हो भन्ने ठान्यो र उसले फेरि पढ्न थाल्यो । यस बीचमा उसले धेरै पढ्यो, जागिर खान, अपाङ्ग बाबुआमा पाल्न र घरपरिवारको सहारा बन्ने योजना बनायो । पढ्यो,पटकपटक जागीरको निम्ति प्रयत्न गरयो । योग्य त थियो तर ऊसँग अतिरिक्त नामको योग्यता त्यति थिएन । ऊ कुनै पार्टीको त थियो तर अमुक गुट वा व्यक्तिको मानिस थिएन । त्यसैले यही अतिरिक्त योग्यताको अभावमा सबैखाले जागिरबाट वञ्चित भइरह्यो । उसले खेती गर्ने सोच्यो तर ऊसँग आफ्नो जमीन थिएन, अरु कसैले उसलाई आफ्नो जमिन दिएन ।
उसले धेरैसँग सल्लाह पनि लियो । तर उसले सल्लाह र आश्वासन मात्र पायो । अलिअलि गर्दै उसले अपमान र तिरस्कार मात्र सबैबाट पायो । निकास कतैबाट पनि पाएन ।
उसलाई आत्महत्या गरौँ जस्तो पनि भयो । अपाङ्ग बृद्ध बाबुआमाको ममता र कर्तव्यले बाटो छेक्यो । त्यसमाथि रसिला आँखा लिएर उभिने श्रीमती र कलिला सपना लिएर उभिएका छोराछोरीका अनुहारले बाटो छेक्यो मर्न सकेन । बाँच्न चाहिने आधारभूत विषयहरूऊबाट टाढा टाढा जाँदै गरेकोउसले यसरी नै हेरिरह्यो जसरी आहिले यो चौबाटोमा उभिएर हेरिरहेको लाग्छ ।
घरमा ती सबै कुरा छन् जोसँग ऊ आँखा जुधाएर हेर्न सक्दैन,बस्न सक्दैन धेरैबेर बुढा बाबुआमासँग । ऊसँग सम्झाउने वा आश्वासन दिने कुनै शब्द पनि बाँकी छैन । यी सबैका बीचमा ऊ घरको चार दिवारीमा सास फेर्न पनि सक्दैन र ऊ बाहिर निक्लन्छ र सडकलाई विषय बनाउँछ । यो सबै हिँडेर पनि रित्तो जस्तो लाग्ने ।
सबै परिधानले सजिएर पनि नाङ्गाजस्ता लाग्ने मानिसहरूका बीचमा उसले आफूलाई एक्लो ठानेर उभिएको कुरा यति महत्त्वपूर्ण विषय हो भन्ने उसलाई कतैतिरबाट पनि लागेको थिएन । तर कुरा त धेरै महत्त्वपूर्ण रहेछ । रहेछन् अझै पनि न्यायप्रेमी जनताहरू । यी सबै त उसका आफ्ना निजी कुरा थिए । यो समाज र राष्ट्रका कुरा थिएनन् । त्यसैले पनि ऊ यहाँबाट हरायो ।
अब त ऊ वरपर कतै थिएन । ऊ देखिँदा डराउनेहरूले उसलाई वरपर धेरै खोजे । अनेक अर्थहरू आए तर ऊ आएन ।
कुनै अर्थ आश्वस्त पार्ने खालका आए तर धेरै अर्थ शंका उब्जाउने गरी आए ।
अचानक देशद्रोही गायब हुनु त्यति सानो कुरा थिएन । यो भयङ्कर आपत्तिजनक कुरा हुनसक्थ्यो । ऊ उभिँदा डराएकाहरू आज फेरि डराए । ऊ उपस्थित थियो , सधैँ देखिन्थ्यो, बरु केही डर थिएन । तर ऊ उपस्थित छैन, कुरा झन् डरलाग्दो भयो ।
अब उसको अनुपस्थितिले अर्थ खोज्यो । अर्थहरू उपस्थितिको बेलाजस्तै अनेक अर्थ बोकेर आए । एक कान, दुई कान, मैदान भएर आयो कुरो । उसलाई ऊ भनेर चिन्नेहरू र उसले चिन्नेहरूमा भयको सञ्चार अझ बढी भयो ।
हिजो ऊ थियो त्यसैले सडक, टोल र राष्ट्र समेत असुरक्षित भयो भनियो । आज ऊ छैन त्यसैले सडक, टोल र राष्ट्र असुरक्षित भयो ।
अब सुरक्षाभन्दा बढी असुरक्षा व्याप्त भएको सबैले अनुभव गरे । र सुरक्षार्थ उसको खोजी गर्न थाले । तर ऊ धेरैदिनदेखि यताउता कतै छैन । सबै सम्भावित ठाउँ खोजियो तर ऊ भेटिएन । उसको यो अनुपस्थिति पक्कै घोर आपत्तिको सूचना हो भनियो ।
टोल समाज अब सूचनाले डरायो । डर यति व्यापक भयो कि सबै, सबैसँग डराए । कसैले हेरयो किन हेरयो ? कसैले हेरेन किन हेरेन ? । हुँदाहुँदा डर सडक र चौराहाबाट टोल, समाज र घरघरमा सरयो । उसको उपस्थितिमा आपत्ति जनाएकाहरू बढी डराउनु स्वाभाविक भयो ।
मनलाई कुनै नियम कानुनले बाँधेन । मनमाथि कुनै कारबाही हुने कुरा पनि भएन । सबैले आफ्नो स–स्यानो मनलाई अपराधी ठहरयाए । तर मनमाथि उजुरी गर्ने ठाउँ कसैले कतै देखेनन् ।
मन भनेँ चर्कोचर्को स्वरले कराउँथ्यो । “ तँ सुरक्षित छैनस् । जसले कसैलाई केही गरेको थिएन, सडकमा उभिएको मात्र थियो त्यसले अकारण सजाय पाउँछ भने उसले त निश्चय पनि प्रतिशोध लिन्छ, लिन्छ ।” प्रत्येकको मन यसरी नै सबैसँग बहस गर्न थालेपछि सम्पूर्ण टोल आतङ्कको पीडाले छटपटाउन थाल्यो ।ऊ कतिखेरै पनि आउन सक्थ्यो । कसैका मा पनि आउन सक्थ्यो । जसरी पनि आउन सक्थ्यो ।
नभन्दै एकदिन देशद्रोहीलाई खोज्दै एउटा सरकारी टोली टोलमा प्रवेश गरयो । घरघरमा सर्च अभियान शुरु भयो । उनीहरूले त्यही देशद्रोहीलाई खोजेका थिए जुन केही दिन पहिलेसम्म यही टोलमा बस्थ्यो ।तर टोलमा अमुक व्यक्ति भेटिएन । उजुरीलाई आधार मान्ने हो भने ऊ ज्यादै नै कुख्यात अपराधी थियो । त्यसैले उसको खोजीलाई त्यत्तिकै छाड्न मिल्ने कुरा पनि थिएन ।
उनीहरूले टोलवासीहरूलाई गहिरो गरी छानविनको दायरामा ल्याए । सुरक्षाटोलीलाई शङ्का लाग्यो । देशद्रोहीलाई लुकाएको वा भाग्न मद्दत गरेको आशङ्कामा टोलवासीहरू छानविनको दायरामा आए । र सात दिनभित्र उक्त व्यक्तिलाई बुझाउन ल्याउने वा जानकारी दिनुपर्ने समय तोकेर गए ।
अनाहक विपत्ति आईलागेको पछुतोमा सभ्य टोलवासीले एकअर्कोलाई यस घटनाको दोषी देख्न थाले । हिजो उजुरीको निम्ति उक्साउनेहरू, उजुरी दिनेहरू र समर्थन गर्नेहरू सबै त्यहाँ थिए ।
…र सात दिनपछि भयभीत मुद्रामा टोलका प्राय सदस्यहरू सरकारी कार्यालयमा उपस्थित थिए । र सामुन्ने बसेका अधिकारीहरूले एक एक जनालाई स्पष्टीकरण सोधिरहेका थिए ।
अनि टोलवासीले एउटै स्वरमा बयान दोहोरयाइरहेका थिए । “हजुर ? त्यो मानिस हाम्रो टोलको सज्जन तर गरीव,बेरोजगार व्यक्ति हो । आफ्नो टोलको सभ्यताको सुरक्षार्थ हामी उसका विरुद्ध उजुरी दिन बाध्य भयौँ । तर ऊ हिजोआज कता गयो हामीलाई साँच्चै थाहा छैन ।”
टोलवासीको यो बयान अनौठो थियो । यो बयानले ऊ हराउनुलाई झनै गम्भीर र सन्देहास्पद बनाइदियो । उसैको रगत र पसिनाले उपलब्ध गराइदिएको अधिकारको सदुपयोग गरेर टोलवासीले गरेको उजुरी, बयान र घोषणा सबै न्यायसम्मत थिए ।
तर ऊ भने यो देशको गणतन्त्र विरोधी नागरिक थियो !!!