नेपाली महिला आन्दोलन र सहकारीको क्षेत्रमा स्थापित नाम साबित्री जङ्गम थापा नेपालमा सहकारीको सुरुवाती समयदेखि सक्रिय धेरै जगहरू मध्ये एउटा प्रमुख जग हुनुहुन्छ । ५५ वर्षदेखि निरन्तर महिला शसक्तीकरणको निम्ति सक्रिय नेपालको इतिहासमा सबभन्दा कम उमेरमा एम.ए. पास गर्ने महिला, नेपालको पहिलो महाप्रबन्धक, जेष्ठ नागरिकहरूको क्षेत्रमा महत्वपुर्ण योगदान महिला सुरक्षा दवाब समुहको केन्द्रीय अध्यक्ष यस्ता धेरै सामाजिक क्षेत्रका संलग्न भएर उहाँले पुर्याएको योगदान ऐतिहासिक र महत्वपुर्ण छ । साहित्यमा पनि गहिरो अध्ययन राख्ने उहाँको विभिन्न बिधामा दश कृति प्रकाशित छन् । उहाँको सबभन्दा महत्वपुर्ण पक्ष भनेको आफु रहेको संस्थाहरूमा आफुजस्तै नयाँ नेतृत्व निर्माण गरेर अझ सशक्त र संस्थागत बनाउनु रहेको छ । प्रस्तुत छ हङकङ खबरले उहाँसँग गरेको संक्षिप्त कुराकानी ।
करिब छ दशक अघि तपाईं समाजिक सेवामा प्रवेश गर्दा महिलाहरूको अवस्था कस्तो थियो ?
उबेला नेपाली महिलाहरूको अवस्था चौतर्फीरुपमै नाजुक थियो । समाजमा प्रचलित जातभात, छुवाछुत, लैङ्गिक विभेद जस्ता अनेकौँ विकृतिजन्य अन्धविश्वासले गर्दा अधिकांश महिलाहरू आफ्नो अस्तित्व र पहिचानविहीन जीवन बिताउन बाध्य थिए ।
शिक्षा र स्वास्थ्य सेवाको मौकाबाट बन्चित गर्नुको साथै आर्थिक तथा सामाजिक सहभागिताबाट उनीहरूलाई बन्चित गरिएका थिए । घरपरिवारभित्र पनि छोरा र छोरीलाई विभेद गरिन्थ्यो । तर त्यसबेलाको अवस्था भन्दा अहिलेको महिलाहरूको स्थितिमा धेरै सकारात्मक परिर्वतन आइसकेको छ । यो खुशीको कुरा हो ।
रुढीवादी कट्टर कुलीन परिवारमा जन्मिएर हुर्किएकी तपाईले घर बाहिर निस्किएर यहाँसम्म आइपुग्न के कस्तो संघर्ष गर्नु परयो ?
मैले बाल्यकालदेखिनै लैङ्गिक विभेद र अन्धविश्वासजन्य कुव्यवहारलाई भोग्दै र सहँदै आउनुपर्यो ।२००१ सालतिरको दशकमा म जन्मेको भक्तपुर नगरभित्र छोरीचेलीले पढ्न हँदैन, पढ्ने चेलीहरू बिग्रन्छ भन्ने मान्यता थियो । तर पनि पढाइप्रतिको मेरो इच्छाशक्तिले मलाई परिवारजनले शिक्षा आर्जन गर्नबाट रोक्न सकेनन् ।
हाम्रो घरमा छोरी बुहारीहरूले एक्लै बाहिर जान मनाही थियो । तरपनि पढ्नको लागि म साथीभाइको साथमा स्कुल जान थालेँ ।यसैगरि मैले उच्चशिक्षा हासिल गर्ने क्रममा पनि धेरै प्रकारको दुःख पिडा र संघर्ष झेल्नु पर्यो। ती संघर्षहरू गुमनाम रहे सायद म सँगै चिहानमा लुक्नेछ तर अहिले अवस्था त्यो छैन । नेपाली महिलाको संघर्ष सकिएको छैन । अझै महिलाहरूको क्षमताप्रति अविश्वास गर्ने सामाजिक दुष्टिकोणको कारण महिलाहरूले अनेकौँ पीडाहरू भोग्नुपरेको छ ।
त्यसैकारण नेपाली महिलाहरूले समानता र अधिकारको लागि आफ्ना आन्दोलनलाई जारी राख्नु पर्ने अवस्था छ। यो अवस्था यो देशको सामाजिक र सांस्कृतिक परिवर्तन नआएसम्म जारी रहनेछ ।
छ दशक लामो सामाजिक क्षेत्रमा खेल्नुभएको भुमिका र पुरयाउनु भएको योगदान, जो नेपाली मेनस्ट्रीम मिडीयाहरूमा ओझेल छ । साथै आजको दिनमा महिलाहरूको स्थितिमा के कस्तो परिर्वतन आएको छ ?
मेरो बाल्यकालको समय र नेपाली महिलाहरूको अवस्था र अहिलेको अवस्थामा धेरै सकात्मक परिर्वतनहरू आइसकेका छन् । अहिले महिलाहरूले आर्थिक, शैक्षिक, राजनैतिक, सामाजिक, प्रशासनिक आदि हरेक क्षेत्रमा पुरुष सरह सहभागी हुने मौका पाएका छन् ।
नेपालको संविधानले पनि महिलाहरूको अधिकार र समनाता र सहभागीतालाई सुनिश्चित गरेको छ । तर पुरुषप्रधान मानसिकताले सघाउ पुरयाएको छैन अझै पनि । महिलाहरूको क्षमतामाथि प्रश्न उठ्ने गरेकै छ । महिला माथिको दमन र अत्याचारमा कमी आएको छैन । महिला, वृद्ध र बालिकाको बलात्कारको घटना बढ्दै गएको छ । महिलाहरूले आफ्नो अस्मिता स्वतन्त्रता र अस्तित्व जोगाउन र आफ्नो अधिकार र स्वतन्त्रता सुनिश्चित गर्न अझै संघर्ष गर्नुपर्छ । नेपालको जुनसुकै परिवर्तनहरूमा अथवा जनयुद्धका समयमा नेपाली महिलाहरूले परिवर्तन ल्याउन ठुलो योगदान पुरयाएका थिए ।तर उनीहरूको संघर्ष र योगदानलाई बेवास्ता गरियो । हरेक इतिहासको कालखण्डहरूमा महिलाको अवस्था यस्तै संघर्षमय छ ।
नेपालमा चारवर्षको शिशुदेखि ७५ वर्षको वृद्ध आमाहरू पनि बलात्कृत भैरहेछन् । यस्तो अपराध बढ्नुको कारण के हो ?
हाम्रो देशमा कुशासन ,दुराचार ,व्यभिचार, भ्रष्टाचार जस्ता कुकृत्यहरू बढ्दै गएकोले नेपाली जनता अशान्ति, असुुरक्षा र दुःखको भुमरीमा फसिरहेछन् । अबोध शिशुदेखि वृद्ध आमाहरूसम्म यौन पिपासुद्धारा बलात्कृत हुन पुगेका छन् । यो पाशविक प्रवृति बढ्नुको मुख्य कारण मानिसहरूमा मानवता र विवेक हराउनु नै हो ।
कानुन त दोस्रो कुरा हो । पितृसत्तात्मक संरचना नै हो, यसको मुख्य जड । महिलाको स्वतन्त्रता र सम्मानित अस्तित्वलाई नस्विकारेर उनिहरूलाई भोग्य बस्तुको रुपमा लिने नकारात्मक सोचले गर्दा महिलामाथि बलात्कार जस्तो घृणित कार्यहरू बढ्दै गएको छ, जो एउटा सभ्य समाजको निम्ति लज्जास्पद कुरा हो । देशको नीति तथा कानुनले मात्र पनि यस्ता अपराधहरू हट्न सक्दैन । तसर्थ मानिसको मनभित्र रहेको कुविचार र अज्ञानतालाई हटाउने प्रयासको थालनी अति आवश्यक भैसकेको छ ।
तपाईले अहिलेको राजनैतिक अवस्थालाई नजिकबाट नियालिरहनु भएको छ । यस सम्बन्धमा तपाईको विचार के कस्तो छ ?
अहिले हाम्रो देशको राजनीति गलत दिशातर्फ उन्मुख हुँदै गएको छ । राजनीति देशको मुल नीति हो, तर देशको मुल नीति नै भ्रष्ट तथा दिशाविहीन भयो भने यसले सबै पक्षलाई कुप्रभावित तुल्याउँछ । देशभित्र भ्रष्ट आचरण,कुशासन, दण्डहीनता, महंगी असुरक्षा तथा हत्याहिंसाका प्रकरणहरू बढिरहेका कारणबाट जनता तनावग्रस्त छन् र असुरक्षित जीवन बाँच्न बाध्य छन् ।
राजनीतिक नेताहरू शक्ति, सत्ता र सम्पत्ति आर्जन गर्न जेजस्तो कुकर्म गर्न पनि हिच्किचाउँदैनन् । उनीहरू सिद्धान्तविहीन हुदै गएका छन् । त्यसको कुप्रभाव जनमानसको हरेक क्षेत्रमा परिरहेछ । त्यसैले मानिसको मनमा राम्रो सोच विचार जागृत गराउनु नै आजको चुनौती हो । प्रत्येक मानिसलाई असल नागरिक बनाउनतर्फ हाम्रो ध्यान गम्भीरतापुर्वक जानुपर्छ भन्ने मेरो विश्वास छ ।
सहकारी क्षेत्र र ज्येष्ठ नागरिकको क्षेत्रमा लामो समयसम्म संलग्न हुनु भयो । अहिले ती क्षेत्रहरूको अवस्था कस्तो छ ?
म सहकारी क्षेत्रमा २०२० सालमा प्रवेश गरेकी हुँ । त्यो समयमा नेपालको जनसंख्या करिब एक करोड थियो । सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक स्वास्थ्य लगायत हरेक दुष्टिकोणबाट हेर्दा नेपाली जनताको अवस्था नाजुक थियो । जनताको जीवनस्तर माथि उठाउन विश्वका धेरै देशहरूले अबलम्बन गरेको सहकारी पद्धतिलाई नेपाल सरकारले पनि २०११ सालदेखि अवलम्बन गर्न सुरु गरेको हो, तापनि यसले खासगरी गरिब , कमजोर तथा पिछडिएका जनताका लागि उपलब्धीमुलक कार्यक्रम सञ्चालन गर्न सकेन । त्यसैले विक्रम सम्बत् २०१९ सालमा तत्कालीन राजा महेन्द्रको प्रधान संरक्षण र विश्वबन्धु थापाको अध्यक्षतामा साझा केन्द्रीय परिषद (साझा केन्द्र ) को स्थापना भई जनताको अति आवश्यक क्षेत्रहरूमा साझा संस्था प्रबन्धन गर्दै जाने क्रम सुरु भयो ।
र, २०१९ सालमा साझा यातायत सुरु भयो । त्यसपछि क्रमशः साझा स्वास्थ्य, साझा शिक्षा, उपभोग्य क्षेत्रहरूमा साझा संस्थाहरू स्थापना हुदै गए । मैले ती सबै संस्थाहरूका कामदारहरूको लागि कल्याणकारी कार्यक्रमहरू संचालन गर्ने जिम्मेवारी पाएँ । उक्त पदमा रहेर मैले करिब अढाइ बर्ष काम गरेँ । त्यसपछिका दिनहरूमा म साझा स्वास्थ्य सेवाको संचालक सदस्य, महाप्रबन्धक, अध्यक्ष र साझा केन्द्र बोर्डको सदस्यसचिव रहेर करिब पश्चिस वर्षभन्दा बढी साझा अभियानमा संलग्न रहेँ ।
देशमा बहुदलिय प्रजातन्त्रपछि २०४८ सालको जननिर्वाचित सरकारले साझा केन्द्रीय बोर्ड (साझा केन्द्र) लाई विघटन गरेर त्यसलाई राष्ट्रिय सहकारी विकास बोर्डमा परिणत गर्यो । सहकारी संस्थाहरूले नेपाली जनताहरूको सामाजिक आर्थिक अवस्था माथि उठाउन ठुलो सघाउ पुरयाएको छ । विशेषगरि महिलाहरूको सशक्तीकरणमा यसले ठुलो योगदान पुर्याएको छ ।
जहाँसम्म ज्येष्ठ नागरिकको क्षेत्रमा मेरो संलग्नताको कुरा छ, २०३३ सालमा पशुपति क्षेत्रमा अवस्थित पञ्च देवाल पाठशालालाई वृद्धाआश्रममा रुपान्तरण गर्ने कामबाट मैले जेष्ठ नागरिकको क्षेत्रमा प्रवेश गरेकी हुँ । त्यसबेलासम्म नेपालमा जेष्ठ नागरिकहरूको अवस्था त्यति नाजुक बनेको थिएन तर समयको परिर्वतनले गर्दा निकट भविष्यमा नेपाली जेष्ठ नागरिकहरूको स्थितिपनि नाजुक बन्दै जाने संकेतहरू देखा परिसकेको थियो ।
त्यसैकारण उनीहरूको लागि आवश्यक संस्थागत सहयोग र सेवा जरुरी छ भन्ने कुरा महसुस गरी मैले वृद्धाश्रमको सुरुवात गरेको हुँ । २०४७ सालमा मैले गैरसरकारी क्षेत्रमा जेष्ठ नागरिकहरूको सेवा र सहयोगको लागि शान्ति आश्रमको स्थापना गरेँ, जसको अध्यक्षता तीन दशकसम्म मैले संहालेपछि जेष्ठ नागरिक महासंघमा स्थापना कार्यमा पनि संलग्न हुन पुगेँ र केही वर्ष काम गरेँ । अझैसम्म पनि जेष्ठ नागरिकको क्षेत्रमा परोक्ष र अपरोक्ष रुपमा सेवा सहयोग गर्दै आएको छु । अहिले हाम्रो देशमा जेष्ठ नागरिकहरूको सेवा र सहयोगको लागि सरकारी र गैर सरकारी तहबाट हुँदै आएका प्रयासहरू सकारात्मक देखिएका छन् यो खुशीको कुरा हो ।
सामाजिक क्षेत्रमा स्थापित नाम हुनुहुन्छ, तपाईं। अनि, साहित्यतिर लाग्नुमा चाँही के आनन्द हुँदो रहेछ ?
हो, म लामो समयसम्म सामाजिक क्षेत्रमा कार्यरत व्यक्ति हुँ । सामाजिक क्षेत्रमा कार्यरत् हुँदा मैले समाज र मानिसहरूको विषयमा राम्ररी बुझ्ने मौका पाएँ । आफुले प्राप्त गरेको अनुभव र भोगाइलाई अरुले पनि जान्न र बुझ्न पाऊन् भन्ने सोच राखेर म लेखन विधामा प्रवेश गरेको हुँ । मेरो पहिलो किताब नेपालमा समाजसेवा २०३३ सालमा साझा प्रकाशनले प्रकाशन गरेको हो । त्यसपछि पचासको दशकबाट निरन्तररुपमा विभिन्न विधाहरूमा कलम चलाउँदै आएको छु ।
अध्यात्मतिर पनि तपाईंको झुकाव रहेको देखिन्छ । अध्यात्म र भौतिकवादमा के फरक छ ?
म बाल्यकालदेखि नै अध्यात्मिक वातावरणमा हुर्केको कारणले अध्यात्मिकताबाट प्रभावित रहेँ । अध्यात्मले नै मान्छेलाई मानव बन्न सिकाउँछ यसले हाम्रो मनको अन्धकार र भ्रमलाई हटाएर यसमा प्रकाश, ज्ञान र विवेक भरिदिन्छ । आजको संसारमा अध्यात्म ज्ञानको अभावले गर्दा व्यभिचारी ,भ्रष्टाचारी, अनैतिक र अविवेकी बन्न पुगेका छन्, विश्वनै आज अशान्त असुरक्षित र तनावको भुमरीभित्र फसेको छ ।
अध्यात्म र भौतिकवादमा धेरै फरक छ । अध्यात्मले मानिसलाई सही र उत्तम बाटो हिँड्न सिकाउँछ तर भौतिकवादले बाहिरी संसार । जो भ्रमपुर्ण र अनित्य छ त्यसबारे जानकारी गराउँछ । अध्यात्मले सत्यको ज्ञान दिन्छ भने भौतिकवादले अनित्य, असत्य र सतही कुराको जानकारी दिन्छ । त्यसैले मलाई लाग्दछ, सबै ज्ञान भन्दा सर्वक्षेष्ठ ज्ञान आत्मज्ञान नै हो जुन अध्यात्मले मात्र दिन सक्छ ।
७७वर्षको उमेरसम्म आइपुग्दा आफ्नो जीवनको अनुभवलाई कसरी नियाल्नु हुन्छ ?
मैले आफ्नो जीवन सफल भएको मानेको छु । मानिस भएर जन्म लिएको यो जुनीलाई सार्थक बनाउने प्रयास गरेकी छु। मानव धर्मको पालन गर्दै आफ्नो कर्तव्य र दायित्वलाई पुरा गर्ने कार्यमा अग्रसर छु र आफैँले आफैँलाई फर्किएर हेर्दा जीवन नदी जस्तै रहेछ, जसलाई धैर्यता र कर्तव्यले अझ सुन्दर बनाउने रहेछ ।
नयाँ पुस्तालाई के भन्न चाहनुहुन्छ ?
मलाई लाग्छ आजको पुस्ता मात्र नभएर समग्र विश्व भौतिकवादतिर उन्मुख छन् जब कि जीवन र जगतलाई गहिरिएर बुझ्न अध्यात्मलाई पनि गहिरिएर बुझ्न जरुरी छ । त्यसैले अध्यात्मिक र भौतिक शिक्षा दुवै संगसँगै लिएर जान सकेमा यो समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने छ । यो कुरालाई नयाँ पुस्ताले मनन गर्नु जरुरी छ ।