काठमाडौं । नेपाल सरकारले सडक विकासको क्रान्ति शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ६५ वटा सडकको आज एकै पटक शुभारम्भ गरेर सडक क्रान्तिको शुरुवात गरेका हुन् ।

१ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक–एक सडकका दरले सडक शुभारम्भ गरिएको सडक विभागले जानकारी दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट डिजिटल रुपमा स्विच थिचेर शुभारम्भ गरिएको हो । हिमाल, पहाड र तराइमा छुट्टाछुट्टै संरचनाअनुसार सडक निर्माण गरिने छ ।

यी सडकहरु ३ वर्षभित्र पुरा गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि मन्त्रिपरिषद्ले मापदण्ड समेत पारित गरेको छ । मापदण्डमा कस्तो सडक हुनुपर्ने लगायतको विषय रहेको भौतिक योजना तथा निर्माण मन्त्री बसन्त नेम्वाङले जानकारी दिए । यस वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

संघीय सांसदले यस्ता सडक सिफारिस गर्नुपर्ने –

आर्थिक, सामाजिक विकास, कृषि तथा औद्योगिक विकासमा टेवा दिने सडक ।
राष्ट्रिय राजमार्गसँग जोडिएर सडक सञ्जालको क्षमता वृद्धि गर्ने सडक ।
अन्तराष्ट्रिय सिमानासँग जोडिएका सडकसँग जोडिने निर्वाचन क्षेत्रभित्रको सडक ।
उत्तर–दक्षिण सडक सञ्जालको खण्डको रुपमा टेवा पु¥याउने निर्वाचन क्षेत्र भित्रको सडक ।
हरेक जिल्लाका एक निर्वाचन क्षेत्रबाट अर्को निर्वाचन क्षेत्रमा जोड्ने रणनीतिक सडक ।
निर्वाचन क्षेत्रबाट जिल्ला सदरमुकाममा जोड्ने रणनीतिक सडक ।
निर्वाचन क्षेत्र भित्रको अन्य महत्वपूर्ण सडक ।
यसरी पहिचान गर्दा निर्माणाधिन, अधुरा, अलपत्र तथा रुग्ण सडकलाई विशेष ध्यान दिनुपर्छ ।

तपाईको प्रतिक्रिया