काठमाडौं । जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । ७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ ।

पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने लिने प्रयास भइरहेको उनले बताए ।

३५ घरभित्रको अन्नबाली सबै सखाप भइसकेको छ । आगो कसरी लागेको हो भन्ने विषयमा जानकारी लिने प्रयास भइरहेको छ । आगलागीका कारण मान्छे बेहोस छन् । आगलागीबाट क्षतिको यकिन विवरण आउन बाँकी छ ।

तिला–९ ढिपुगाउँ वर्षायाममा छ महिना बस्ने बस्ती हो । यस समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकाले सबै ढिपुगाउँमा बसेका छन् । मुल्लीमा वर्षायाममा भण्डारण गरिराखेको अन्नपात सबै जलेको हो ।

वडाध्यक्ष बोहोराले उद्धार र राहतका कार्यमा साथ दिन सबै सरोकारवालालाई आग्रह गरेका छन् ।

यसअघि तिला–७ पोखरीगाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर नष्ट भएको थियो । यससँगै जुम्ला आगलागीको उच्च जोखिम क्षेत्र बनेको छ ।

सदरमुकामस्थित ढाण थपला सामुदायिक वन र कार्तिक स्वामी सामुदायिक वनमा आगलागी भएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउन सफल भएको थिये ।

तपाईको प्रतिक्रिया