काठमाडौं । माओवादी केन्द्रले संयुक्त गठबन्धनबाट लडेर चुनाव जितेकाको सांसद पद खारेज गरिदिएका चार मन्त्रीले पुनर्नियुक्ति पाएका छन् । पुनर्नियुक्ति भएसँगै उनीहरूले आज अपरान्ह ५ बजे शपथ लिएका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् ।

भट्ट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट, रायमाझी अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी बनेका थिए। रौतहट ३ बाट निर्वाचित साह र कैलाली ३ निर्वाचित चौधरी पनि माओवादी छोडेर एमालेमा लागेका थिए ।

भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, रायमाझी ऊर्जा, साह सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका र पुनर्नियुक्ति पनि सोही मन्त्रालयमा गरिएको छ । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

तपाईको प्रतिक्रिया