काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले देशका संवैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयासविरुद्ध कांग्रेस बलियो ढंगले उभिनुपर्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन संघको आज काठमाडौंमा आयोजित राष्ट्रिय भेला तथा विधान अधिवेशन कार्यक्रममा बोल्दै नेता थापाले देश बलियो बनाउने भन्दा आफू बलियो बन्ने गलत दर्शनबाट प्रभावित भएर प्रधानमन्त्री केपी शर्मा ओली अघि बढिरहेको आरोप लगाउँदै त्यसविरुद्ध कांग्रेस उभिनुपर्ने धारणा राखे ।

संविधान निर्माणपछिको निर्वाचन र त्यसपछिको सरकारले नेपालको राजनीतिक प्रतिस्पर्धालाई नयाँ उचाइमा लैजान्छ भन्ने अपेक्षा भए पनि विगतमा आशंका गरिए जस्तै ढंगले नेपालको राजनीति अघि बढेको उनले बताए ।

संसद, अदालत, संवैधानिक निकायहरु, आयोगहरू, प्रशासन लगायत सबै तर्फ अस्तव्यस्त रहेको भन्दै उनले स्थिर सरकारले दीर्घकालीन सोच राखेर नभई व्यक्ति केन्द्रित शक्ति एकीकृत गर्ने ढंगबाट अघि बढेको बताए ।

विभिन्न ढंगले राजनीतिक विभाजन ल्याउने प्रयास गरेका प्रधानमन्त्री ओलीले त्यो सफल नभएपछि विकास निर्माणको काम अघि सारेर जबरजस्त विभाजन गर्ने प्रयास गरेको दाबी गरे ।

उनले पछिल्लो समय ओली पक्षमा रहेका समूह विकास प्रेमी र ओलीको विपक्षमा उभिनेहरु विकास विरोधीको कित्तामा देखिएको तर्क गरे ।

उनले निजामती कर्मचारी युनियनलाई आफ्ना समस्या र मागहरुलाई लिपिबद्ध गर्न र अनुकूल ढंगले विधान संशोधन गर्न सुझाव दिए । उनले सबै सेवाग्राहीलाई समान सेवा दिन र राजनीतिक दल हेरेर व्यवहार नगर्न पनि सुझाव दिए ।

तपाईको प्रतिक्रिया