काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार विभिन्न कार्यक्रम गरी घोडेजात्रा मनाइएको छ । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्वका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाले विभिन्न कला–कौशल प्रस्तुत गरेका थिए ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दकिशोर पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा लगायत सरकारका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

तस्वीरः राजन काफ्ले

 

तपाईको प्रतिक्रिया