काठमाडौं । नेकपा विभाजनको बेला केपी ओलीलाई साथ दिएका माओवादीका चारजना प्रदेशसभा सदस्य एमालेमै रहने भएका छन् । माओवादी संसदीय दलका नेता नै एमालेतिर लागेपछि पार्टीले चारैजनालाई कारवाही प्रक्रिया अघि बढाएको छ । एमालेमा लाग्ने चारमध्ये तीनजना प्रत्यक्ष निर्वाचित छन् । रामचन्द्र मण्डल धनुषा १ को (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । बारा क्षेत्र नम्बर ३ को (क) बाट निर्वाचित ज्वालाकुमारी साह र रौतहट ३ को (ख) बाट निर्वाचित कुन्दनप्रसाद कुशवाह पनि एमाले भएका हुन् ।

बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समिर पनि एमाले भएका छन् । उनीहरु चारैजनालाई पार्टी छाडेर हिडेको भन्दै २४ घण्टे स्पष्टिकरण सोधिएको माओवादी संसदीय दलका प्रमुख सचेतक दिलिप साहले बताए । चैत २७ गतै नै सोधिएको स्पष्टिकरणको जवाफ भने चारै जनाले फर्काएका छैनन् । यता माओवादी केन्द्रले अन्य पार्टीमा गतिविधि गरिरहेकाले उनीहरुलाई पदमुक्त गरिने जनाएको छ । सोमवार प्रदेश २ को प्रदेशसभा बैठक पनि बस्दैछ ।

प्रदेशसभा बैठक अघि नै सबै सांसदलाई पदमुक्त गरिने बताइएको छ । रामचन्द्र मण्डल नेकपा माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता थिए । तर अब एमालेतिर लागेपछि उनलाई हटाएर माओवादी केन्द्रले शुक्रवार मात्रै भरतप्रसाद साहलाई संसदीय दलका नेता चयन गरेको छ । संसदीय दलका उपनेता रहेका दिलिप साहलाई प्रमुख सचेतक र जगत यादवलाई दलका उपनेता चयन गरिएको छ ।

प्रदेशसभामा माओवादीका ११ सांसद रहेकोमा चारजनालाई कारवाही गरेपछि ७ जनामा सिमित हुने भएको हो ।माओवादीले राजनीतिक दल सम्बन्धी ऐनको प्रयोग गरि एमालेमा प्रवेश गरेका चारजना प्रतिनिधिसभा सदस्यको पद रिक्त गराइसकेको छ । त्यस्तै प्रदेश १ र लुम्बिनीका तीन जना प्रदेशसभा सदस्यको पद रिक्त भइसकेको छ भने राष्ट्रियसभाका दुईजना र सुदूरपश्चिमका एकजना सदस्यको पद रिक्त गराउने प्रक्रियामा छ ।

तपाईको प्रतिक्रिया