काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारमाथिको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् ।

केसीद्वारा जारी विज्ञप्तिमा केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिइसकेको सन्दर्भमा गण्डकी प्रदेश सरकारलाई समर्थन दिइराख्न जरुरी नदेखिएको उल्लेख छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा गण्डकी प्रदेश सरकार ओली सरकारकै छायाँ हुने भएकाले समर्थन फिर्ता गरिएको विज्ञप्तिमा जनाइएको छ ।

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद छन् । जनमोर्चाको यस्तो निर्णयसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार संकटमा परेको छ ।

माओवादी केन्द्रले यसअघि नै सरकारबाट मन्त्री फिर्ता बोलाएर नयाँ सरकार गठनका लागि छलफल चलाउँदै आएको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा विपक्षमा उभिएको अवस्थामा मुख्यमन्त्री गुरुङ अल्पमतमा पर्नेछन् ।

तपाईको प्रतिक्रिया