काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १६ मा रहेको नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ ।

संयुक्त राज्य अमेरिकामा फेला परेको मूर्ति बिहीबार पुरातत्व विभागले ललितपुर महानगरपालिकालाई हस्तान्तरणसमेत गरेको छ । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई मूर्ति हस्तान्तरण गरेका हुन् ।

सो मूर्तिलाई हालका लागि पाटन सङ्ग्रहालयमा सुरक्षितरूपमा राखिने भएको छ । मन्दिरमा आवश्यक सुरक्षाको प्रबन्धपछि मन्दिरमा प्रतिस्थापन हुने बताइएको छ । महानगरपालिकाको मोमुडु गल्लीस्थित नारायण मन्दिरमा वासुदेव कमलाज (लक्ष्मीनारायण) को मूर्ति रहेको थियो । जम्मा ७० किलोग्राम तौल रहेको मूर्ति सन् १९८४ मा हराएको विभागले जनाएको छ । मध्यकालीन नेपाली मूर्तिकलाको नमूनाका रूपमा रहेको र प्रस्तरबाट बनेको मूर्ति १५औँ शताब्दीको मानिन्छ ।

तस्वीर : सुजन गुरूङ

सन् २०२० मा सो मूर्ति अमेरिकाको टेक्ससस्थित डल्लास सङ्ग्रहालयमा रहेको जानकारी प्राप्त भएको थियो । त्यसपछि नै मूर्तिका बारेमा छलफल भएर फिर्ता ल्याउन प्रक्रिया शुरु भएको थियो । विभागले मूर्तिका बारेमा आवश्यक जानकारी सङ्कलन गरेर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालय पठाएको थियो । प्रमाणका आधारमा अमेरिकास्थित नेपाली दूतावासको अग्रसरतामा सम्झौता भई मूर्ति फर्काउन पहल भएको विभागले जनाएको छ ।

विसं २०७७ चैत ३१ मा मूर्ति नेपाल फर्काइएकामा बिहीबार नै विभागले जिम्मेवारी लिएको थियो ।

सन् १९५० भन्दा पहिलेसम्म कति कलाकृति बाहिरियो भन्ने रेकर्ड नभए पनि त्यो समयमा धेरै सम्पदा बाहिरिएको विभिन्न घटनाले देखाएको छ । खासगरी १९७०, १९८० र १९९० को दशकमा धेरै कलाकृति बाहिरिएको पाइन्छ । सन् २००० पछि भने सांस्कृतिक वस्तुको चोरी र निकासी कम हुन थालेको पाइन्छ ।

युनेस्कोको सन् १९७० को गैरकानूनीरूपमा सांस्कृतिक वस्तुको चोरी निकासी र ओसारपसारलाई रोक लगाउनेसम्बन्धी महासन्धिको नेपाल पक्ष राष्ट्र भएसँगै यस्ता सम्पदा क्रमशः फर्किएको विभागले जनाएको छ । हालसम्म बेलायतबाट १९ थान, अष्ट्रेलियाबाट एक, अमेरिकाबाट १०, तिब्बतबाट २८ र जर्मनीबाट एक थान मूर्ति फिर्ता भइसकेको छ ।

तपाईको प्रतिक्रिया