झापाको शिवगञ्जमा बिक्रम सम्बत २०१० सालमा जन्मीएका कवि हिरा आकाश तिसको दशकको प्रगतीशिल खेमाभित्र शक्तीशाली कवि हुन। आफ्नो जीवनकालमा कृषि बिकास बैंकको जागीरे जीवन बिताएका उनका कविताहरुले परिवर्तन, क्रान्तिकारी बिचारलाई अभिव्यक्त गर्छन् २०५५ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानले “आगोका स्वरहरु” कविताकृति प्रकाशनमा ल्याएको थियो । प्रस्तुत छ साताको तीन कवितामा हिरा आकाशका कविता ।

सर्पले गीत सुन्दैन

पोखरीको पानी
धमिलिएको छ यतिबेला
उन्मत्त पौडिरहेका माछाहरु देखिदैनन्
मात्र भ्यागुताहरु उफ्रेको देखिन्छन

र,

दाउमा बसेका केही सर्पहरु देखिनछन् ।

सर्पहरु जो भ्यगुता खान पल्केका छन्
सर्पहरु जो मात्र बिषपान गर्न सल्केका छन्
यिनीहरुलाई सग्लो पानीको कुनै वास्ता हुदैन
यिनीहरुलाई पानीभित्र बस्ने
माछाहरुको पनि मतलब हुदैन
यिनीहरुलाई त आहार भए पुग्छ
यिनीहरुलाई त ठुङ्न पाए पुग्छ
चाहे भ्यागुता होस
या फेरि माछाहरु
सर्पलाई बिष पोख्न पाए पुग्छ ।

हो ,
पोखरीको पानी धमिलिएको छ यसबेला
र, सर्पहरु जाप लगाइएरहेछन्
शान्ति यात्रा गरी रहेछन्
दुलो दुलोबाट निस्केर
त्यसैले दर्शनको कुरा नसुनाऊ उनिहरुलाई ।

जहिले पनि
प्रगति र शान्तिको बिरोधी हो सर्प
यसैले सर्पलाई
गरुड पुराण नसुनाऊ
बालुन र बिथोलिन नसुनाऊ
सर्प बहिरो हुन्छ सर्पले गीत सुन्दैन ।

चैते बाँदरहरु

बिहान के भएको थियो ?
चैते बाँदरहरु उत्पात मच्चाउन थाली हाले
पौवा पाटि मन्दिर सडक जंगलतिर
बिहान के भएको थियो ?
चैते बाँदरहरु उत्पात मच्चाउन थाली हाले ।

कतै बुढाबुढिको प्रसाद खोसेर
कतै बालबालिकाहरुको गाला चड्काएर
यताबाट उता उफ्रिन्दै
बिहान के भएको थियो ?
चैते बाँदरहरु उत्पात मच्चाउन थाली हाले।

उता शहर शहर आक्रान्त छ
बाँदरहरुको चकचक देखि
उता एक जमात अन्धाहरु
मस्तसगँ हात्तीलाई छामीरहेका छन्
कोहि हात्तीलाई भित्ता भनी रहेका छन्
कोहि खाँबा ठानि रहेका छन् हात्तीलाई
र,
कोहि नाङ्लो र डोरी सम्झिरहेका छन् हात्तीलाई
म बुझ्दिन किन यिनीहरु भ्रम पालिरहेका छन्
र,
भ्रम फिजाइ रहेका छन्
किन कि हात्ती भित्ता जस्तो हुदैन
खाँबा जस्तो हुदैन
हात्ती नाङ्लो र डोरी जस्तो हुदैन
हात्ती त चारखुट्टे जनवार हो
वास्तवमा हात्ती ती अन्धा जस्तो पनि हुदैन
बिहान के भएको थियो
चैते बाँदरहरु उत्पात मच्चाउन थाले ?

केशवलाई बिर्तामोडमा नखोज्नुहोला

ऊ यतिखेर
बर्खाको झरीबाट बच्न छानाको दुलो टाल्दै होला
ऊ यतिखेर
हतार हतार आँगनमा मङ्सीर भित्र्याउदै होला
हुनसक्छ ऊ यतिखेर
व्याज तिरेर साहुसँग थैली बुझाउने भाका माग्दै होला ।

दिनदशाको कुनै ठेगान हुदैन
हुनसक्छ बिमार छोरीलाई काखी च्यापेर
ऊ यतिखेर–
डाक्टर जँचाउन जाँदै होला
त्यसैले केशवलाई बिर्तामोडमा नखोज्नुहोला ।

ऊ देशको नागरिक हो
नागरिक मात्र होइन बिश्वको एउटा मान्छे हो
त्यसैले उसलाई भुगोल र गोलार्धले छेक्नु हुँदैन
सिमाना र चौहद्दीले घेर्नु हुदैन
यस धर्तीमा जहाँ पनि मान्छेको बस्ती छ
त्यहाँ यसलाई भेट्न सकिन्छ ।

हो यत्ति हो उसलाई दुःख छ
कि कतै लिजमा कतै मिसाइल्समा उसलाई
प्रक्षेपण गरिएको छ
हो यत्ति हो
उसलाई बहादुर बनाई भाडामा
आफु जस्तै मान्छे मार्न पठाएइको छ ।

पीडाले मर्माहत छ ऊ
कि मेघालयमा उसलाई बिदेशी भनी लखेटिएको छ
यस्तो घडीमा ऊ कतै
एकान्तमा बसी बस यही घाउ सुमसुम्याइरहेछ होला
यसैले उसलाई बिर्तामोडमा नखोज्नु होला ।

आजभोली त झनै उसलाई समस्याले पिरोलेको छ
एकातिर नामको समस्याले पिरोलेको छ
अर्कोतिर दामको समस्याले पिरोलेको छ
नानीहरुको समस्या त छँदैछ
पानीको समस्याले पनि पिरोलेको छ
पानीको देशमा
तिर्खाएर बस्नुपरेको छ उसले
शान्तिकामी देशमा
र भोग्नु परेको छ उसले
यी त उदाहरण मात्र हुन् उसका समस्याहरुका
यिनै समस्याहरुलाई
ऊ पाँडे भाइको मलामी गइरहेको होला
यसैले केशवलाई बिर्तामोडमा नखोज्नुहोला ।

तपाईको प्रतिक्रिया