बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा कोरोना भाइरसको बढ्दो संक्रमणका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गर्दै सांसदहरुले कोरोनाको दास्रो लहर तीव्र गतिमा फैलिएको भए पनि यसको रोकथाम, न्यूनीकरण तथा व्यवस्थापनको काममा सरकारले उदासीनता देखाएको बताएका हुन् ।

कोरोनाको अघिल्लो लहरमा भएका कमीकमजोरी र अनुभवहरुबाट पाठ सिकेर अघि बढ्नुपर्ने भए पनि हालसम्म कोभिड–१९ को व्यवस्थापनको सम्बन्धमा सरकार पहिलेकै अवस्थामा रहेको सांसदहरुको भनाइ छ । सांसद जीवनराम श्रेष्ठले सरकार संवेदनशील बन्न नसक्नु आश्चर्यको कुरा भएको बताउनु भएको छ । अस्पतालहरुको अवस्था अझै सुधार नभएको भन्दै उनले सरकार आफैले पनि जनस्वास्थ्यको मापदण्ड पालना नगरेको बताए ।

सांसद अञ्जना विशंखेले दीर्घरोगका बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सञ्चालन गर्नुपर्ने बताए । विगतमा क्वारेन्टाइनमा खानाका कारण समस्या भएको भन्दै आगामी दिनमा सुधार्नुपर्ने उनको भनाइ थियो । कोरोना नियन्त्रणका लागि तीन तहका सरकारबीचमा समन्वय हुन नसकेको पनि उहाले बताउनुभयो । उहाले प्रभावकारी अनुगमन प्रणाली नभएकाले आगामी दिनमा अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभइको थियो।

सांसद सरिता न्यौपानेले स्वाब संकलन, यातायात र भण्डारणमा समस्या भएका कारण यथार्थ रिपोर्ट आउन नसकेको भन्ने सुनिएकाले त्यसतर्फ सरकारले ध्यान पुर्‍याउनुपर्ने र परीक्षणमा लापरबाही हुन नहुने पनि उनले बताउनु भएको थियो।

त्यस्तै सांसद एकवाल मियाँले पनि कोरोना नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताए । कोरोनाबाट बच्न आवश्यक मेडिकल सामाग्री तथा पूर्वाधारहरुको व्यवस्थापन अहिलेदेखि नै गर्नुपर्ने भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले कोरोना संक्रमणदर वृद्धि भएसँगै काठमाडौं उपत्यकामा २ हजार आइसोलेसन बेड सञ्चालनमा ल्याइएको बताए । त्यस्तै सातवटै प्रदेशमा जम्मा २ हजार आइसोलेसन बेड तयारी अवस्थामा राख्न सूचित गरिएको पनि उनले जानकारी दिए । आइसोलेसन बेडलाई अस्पतालसँग जोडिने पनि उनले बताए । संघीय सरकारले २ सयवटा भन्दा बढी भेन्टिलेटर जोडेको तथा प्रत्येक प्रदेशले ३० देखि ५० वटा भेन्टीलेटर किनेर राखेको पनि उनले बताए । संघीय सरकारले ४ सयभन्दा बढी आईसीयू बेड थपेको र प्रदेश सरकारले २ सयदेखि २ सय ५० वटा सम्म आईसीयू बेड थपेको जानकारी उनले बताए । आवश्यक औषधी र अक्सिजन भारत अथवा बंगलादेशबाट ल्याउने तयारी पनि गरिरहेको जानकारी दिनुभयो ।

प्रमुख विशेषज्ञ पोखरेलको अझै पनि जनस्वास्थ्यका मापदण्ड पालना हुन नसकेको र कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय र अन्यले हेर्ने दृष्टिकोणमा फरक परेको पनि उनको भनाइ छ । अहिलेको अवस्था गम्भीर भएकाले लकडाउन गर्ने अथवा विशेष क्षेत्र तोकेर लकडाउन गर्ने भन्ने विषयमा पनि भोलिको दिनमा सोच्नुपर्ने बताउनुभयो । जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गराउन सकेमात्रै अहिलेको संकटलाई टार्न सकिने प्रमुख विशेषज्ञ पोखरेलको भनाइ छ ।

तपाईको प्रतिक्रिया