काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रयास अहिले पनि पार्टीलाई क्षति नहोस भनेर सम्झाई–बुझाई गर्नेमा केन्द्रित रहेको बताएका छन् । तर, समूहगत रुपमा भने कुनै पनि सम्झौता नहुने र संवादको आफ्नो प्रयासलाई कमजोरी नठान्न माधव नेपाल पक्षलाई चेतावनीसमेत दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा आज केन्द्रीय कार्यालय भवन शिलान्यास समारोहलाई बल्खुमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले कसैले गुटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोज्छ भने अब एमालेमा त्यो सम्भव नरहेको प्रष्ट पनि स्पष्ट पारे ।

ओलीले हिजो बुधवार साँझमात्र माधव नेपालसँग होटलमा एक्लै वार्ता गरेका थिए । उनले सो वार्तामा पनि समूहगत छलफल नहुने र गुटको भागबण्डा नगर्ने बताएका थिए । दुई नेताबीच आज पनि वार्ता हुने बताइएको छ ।

यति उपद्रो गर्दा पनि अर्को पार्टी खोलेर हिँड्दा पनि कारवाही नगरेर सम्झाइ बुझाई गर्नेमै आफूहरुको प्रयास रहेको भन्दै ओलीले भरसक पार्टीमा क्षति नहोस् भनेर व्यक्तिगत तवरमा कुरा गर्ने, उनीहरुलाई सच्याउने र जिम्मेवारी दिने कुरा हुनसक्ने । तर समूहगत रुपमा वार्ता नहुने बताए ।

ओलीले प्रचण्ड–माधव पक्षले कम्युनिस्ट आन्दोलन सिध्याउन माथिबाटै हान्नुपर्छ भनेर आफूलाई चारपटक साधारण सदस्यबाट समेत निकालेको आरोप लगाए । आफूहरुलाई पार्टीविहीन बनाउने उनीहरुको प्रयास असफल भएको भन्दै ओलीले एमालेमा फर्केर पनि फेरि फ्लोर क्रस जस्ता अपराध जारी राखेकोमा कुनै सम्झौता नहुने प्रष्ट पारे

तपाईको प्रतिक्रिया