काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न हच्केका छन् । अविश्वास प्रस्ताव दर्ता भए जनता समाजवादी पार्टी (जसपा) ले पनि पक्षमा निर्णय लिने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने देउवालाई मनाउने प्रयास जारी राखेका छन् ।

पार्टीभित्रै वरिष्ठ नेता रामचन्द्र पौडल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समेत अविश्वास प्रस्ताव दर्ताका लागि देउवालाई दबाब दिँदै आएका छन् । तर देउवा भने जसपा तयार नभएसम्म संख्या नपुग्ने भन्दै प्रस्ताव दर्ता गर्न मानिरहेका छैनन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष निःसर्त प्रधानमन्त्री ओलीलाई हटाउन तयार भए पनि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सहमत भएका छैनन् । बरु ठाकुर र महतो भने प्रधानमन्त्री ओलीतिर नजिक भइरहेका छन् ।

देउवाले अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा माओवादी अध्यक्ष दाहालसँग धेरै चरणमा अनौपचारिक संवाद गरेका छन् । देउवा र दाहालबीच एमसीसी सम्झौता संसद्मा निर्णयार्थ प्रस्तुत र अविश्वास प्रस्ताव संसद्मा दर्ता एकसाथ गर्ने गरी कुराकानी भएको थियो । त्यसको सुइँको पाएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठक हठात् अन्त्य गरेको चर्चा कांग्रेस र माओवादी वृत्तमा छ । ओलीको विकल्पका लागि एमाले नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसमेत सक्रिय हुन थालेका छन् ।

तपाईको प्रतिक्रिया