न्युयोर्क ।अमेरिका ।

अप्रिल १७ का दिन न्युयोर्कको क्युइन्स स्थित ज्याक्सन हाईट्सको डाइभरसिटी प्लाजामा सिटी काउन्सील डिष्ट्रिक २५ का उम्मेदवार  यी चेन (एण्डी) को समर्थनका लागि सांस्कृतिक कार्यक्रम सहितको समर्थन कार्यक्रम भव्यताका साथ सफल भएको छ ।

समर्थन कार्यक्रममा हेवेन्ली पाथ अमेरिकाकी सभापति सुकु रुम्दाली राईको समुहले उम्मेदवार यी चेनलाई नेपाली टोपी, व्याच, माला र खादा लगाई समर्थन र सम्मान जनाएका थिए । त्यसपछि ज्याक्सन हाइट वरिपरी परिक्रमा पश्चात डाइभरर्सिटी प्लाजामा पुगेपछि उक्त जुलुस सभामा रुपान्तरण भएको थियो ।

कार्यक्रममा यी चेनका क्याम्पेन डेपुटी म्यानेजर  दिपेन्द्र लामाले नेपाली र अंग्रेज़ी दुबै भाषामा संचालन गर्दै आफु यी चेन क्याम्पेनमा लाग्नुका कारण नेपाली समुदायलाई अमेरिकी राजनीतिमा उत्प्रेरित गराउन, नेपाली सामुदायिक भवन निर्माणमा टेवा पुर्याउन,सरकारी निकायमा नेपाली मुलका प्रतिनिधित्व गराउन साथै आर्थिक बिकास र पहिचानको निमित्त लड़ने प्रतिबद्धता सहितको मुद्दा  यी चेन स्वयंले उठाएकाले  हो भन्ने कुरा  कार्यक्रम संचालन गर्ने क्रममा बताएका  थिए।

यी चेन क्याम्पेनका नेपाली अमेरिकी कार्यक्रम म्यानेजर  (Nepalese American Program Manager)  नेपाली मुलकी सुजना राईले स्वागत मन्तव्य राख्दै  सिटी काउन्सीलका उम्मेदवार  चेनले नेपालीका लागि मात्र नभई अन्य देशबाट आएर डिष्ट्रिक २५ मा बस्ने सबैका लागि उत्तम उम्मेदवार र सबैका हकहितमा काम गर्न सक्ने व्यक्तित्व रहेको बताएकी थिइन् ।

त्यसै गरी डिस्ट्रीक  २५ का सिटी काउन्सील उम्मेदवार यी चेन  जिताउ अभियान चुनाव प्रचार प्रसार समिति नेपाली समुदायका संयोजक साथै नेपाली समुदायको अग्रज व्यक्तित्व  केशब राम राईले   कार्यक्रममा बोल्ने क्रममा चेनले चुनाव जिते पनि नजिते पनि नेपाली कम्युनिटी सेन्टर निर्माण लगायतका कुरामा नेपाली  समुदायको सेवामा आफुलाइ समर्पित गर्ने वाचा गरेकाछ्न र यस्तो लिडर पाउनु हाम्रो सौभाग्य हो भनेका थिए ।
अस्पताल , इमिग्रेसन लगायतका प्रमुख सार्वजनिक सेक्टरमा माध्यम भाषाको रूपमा नेपाली भाषालाई पनि स्थापित गराउने प्रतिबद्धता चेनले व्यक्त गरेको कुरा राइले बताए ।
त्यसो त नेपाली समुदायको निम्ति रक्तदान कार्यक्रम हुँदा पर्सनल प्रोटेक्टिव इक्युइपमेन्ट ( PPE) बितरण, हरेक हप्ता खाना बितरण, खेलाडीहरुलाई प्रोत्साहन स्वरुप खेलकुद सामाग्री  बितरण, सर्वसाधारणहरुलाई लत्ता-कपडा बाड्ने जस्ता कार्य गर्नुका साथै बिभिन्न कार्यहरुमा अग्रसर भएर कार्य गर्दै आईरहेको र नेपाली समुदाय संग पनि  धेरै नै नजिक रहेर सहयोग गर्दै आई रहेको कारण  राइले समर्थन गरोको कुरा बताउदै उनको पक्षमा भोट खसाल्न सबैलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा बिभिन्न संघ संस्थाहरुको अध्यक्षहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा एनाआरएनए आइसिसी (NRNA ICC ) का पुर्व DRC तथा वर्तमान एनआरएनए (NRNA) का संरक्षक नवीन  शेरचन, प्रवासी नेपाली एकता मंच (ONUF) का अध्यक्ष टेक गुरुङ ,प्रवासी नेपाली एकता मन्च (ONUF) का बरिष्ठ उपाध्यक्ष यम मोक्तान ,जन सम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट  र नेपाल आदिवासी  जनजाति महासंघ अमेरिका (FIPNA) का अध्यक्ष लोक चेमजोङले चेनलाइ समर्थन गर्दै शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा एनआरएनए अमेरिकाका पुर्व क्षेत्रीय  उपसंयोजक तथा हालका संरक्षक नविन शेरचनले अमेरिकी राजनीतिको मुलधारमा  प्रवेश गर्नु हाम्रो  आवस्यकता रहेको र भावी  सन्ततीलाई पनि यस  दिशा तर्फ डोर्‍याउनु हाम्रो कर्तव्य हो भनेका थिए ।

त्यसैगरी प्रवासी नेपाली एकता मन्चका अध्यक्ष टेक गुरुङले यी चेन नेपाली समुदायसँगको धेरै कुरामा नजिक रहेर सहकार्य गर्दै आएको बताउँदै अन्य उम्मेदवारको हिसावमा उनी योग्य र आवश्यक व्यक्ति रहेकोले सबैले सहयोग गर्नुपर्ने बताउदै सबैमा भोटका लागि अपिल गरेका थिए ।

जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले छिमेकी मुलुक चीनका नागरिक नेपाली समुदायसँग धेरै कुरामा मिल्दो जुल्दो भएकाले उनलाई विजयी बनाउन सबैले सहयोग गर्नुपर्ने बताउँदै चेनले नेपाली मुदायको ठूलो समर्थन पाएको हुनाले चुनाव जिति सकेको भन्दै बधाई तथा जीतका लागि अग्रिम शुभकामना दिएका थिए ।

कार्यक्रममा जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष लोक चेम्जोङले अमेरिकी मुलधारको राजनीतिमा नेपाली समुदायले पनि चासो र प्रवेश गर्नु अहिलेको आवस्यकता रहेको भन्दै सबैको सहयोग लिँदै र दिँदै अगाडि बढ्नुपर्ने बताए । चेम्जोङले सधै चन्दा उठाएर मात्र संस्था चलाउने नभएर सिटी गभर्मेन्टबाट पनि सहयोग लिने वातावरण बनाउनु पर्छ।  यदि हामीले चेनलाइ जिताउन सफल भयौ भने नेपाली समुदायको ठुलो जीत  हुनेछ भनि भोटको अपिल गरेका थिए।

त्यसैगरि कार्यक्रमको अन्तमा चेनले मन्तव्य राखेका थिए। मन्तव्यमा हालको  विशेष परिस्थितिमा पनि नेपाली समुदायबाट यस्तो भव्य कार्यक्रम आयोजना गरेर समर्थन गरेको भन्दै सबैलाई धन्यवाद दिँदै खुसी व्यक्त गरेका थिए ।

उनले अहिले कोरोना महमारीका कारण सबै प्रभावित भएको, धेरैको व्यवसायमा समस्या देखिएका तथा पछिल्लो समयमा ‘एसियन हेट’ को समस्या ज्यादै बढेको भन्दै सबै मिलेर यो समस्या समाधानका लागि लाग्नु पर्ने बताए ।

‘हाम्रो जिल्लामा धेरै काम गर्नु छ त्यस कामका लागि म अघि बढेको छु,’ उनले भने, ‘ संसारको जुन सुकै कुनाबाट आएर अमेरिकामा बसेको भए पनि सबै मिलेर बस्नु पर्ने र सबै मिलेर कम्युनिटीको हितमा काम गर्नु पर्छ । अपाङ्गता भएका, वृद्धवृद्धा बालबालिका तथा शिक्षाका लागि हामीले अझै धेरै  काम गर्नु छ ।’

उनले सबै मिलेर कम्युनिटीलाई बलियो बनाउनु पर्ने जोड दिदै यी चेनले नेपाली समुदायको निम्ति आवश्यक हरेक कुरामा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । नेपाली भाषा, सस्कृति, संस्कार संरक्षण मात्र नभई बिभिन्न सरकारी निकायमा सहजताको लागि नेपाली सामुदायिक भवन निर्माण गर्ने, सरकारी निकायमा प्रतिनिधित्व गराउनको निम्ति कम्तिमा एकजना कार्यलयको प्रशासनमा नियुक्ति दिने, आर्थिक बिकासका लागि कार्यक्रमहरु आयोजना गरि साना ब्यबसायहरुलाई सहयोग गर्ने र नेपालीहरुका लागि अमेरिकामा अमेरिकी सरकारसंग “नेपाल डे” ( “Nepal Day”) को लागि पहल गर्ने जसको लागि विधेयक मस्यौदा   कोर्ने कार्य सुरु गरिसकेको र यहि बर्षको अन्त्य सम्ममा मुख्यमन्त्रीबाट उक्त बिल पास गराउने प्रतिबद्धता गरेका थिए।
त्यति मात्र नभई उनले नेपालीहरुका लागि खेलकुद मैदान तथा खेलकुद क्षेत्रका लागि सहज र सजिलो हुने गरी योजना अगाडि बढाउने, पार्क व्यवस्थापनको लागि आवश्यक योजना बनाउने लगायतका विभिन्न काममा आफु लागि पर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा  गायिका बसन्ती राई र सुवर्ण शाक्यले  गीत गाएर रमाइलो गराएका थिए भने रोशन राई र फुर्साङ्ग तामाङले नृत्यु प्रस्तुत गरेका थिए। साथै हेवेन्ली पाथ अमेरिकाको टिमले “प्राण रहुन्जेलसम्म अरुको सेवा गर्न पाउ” भन्ने भजन प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया