काठमाडौं । किरातीहरुको सांस्कृतिक भूमि मुक्कुमलुङ बचाउन माग गर्दै बिहीबार काठमाडौंको माइतीघरमा मण्डलामा प्रदर्शन गरिएको छ ।

ताप्लेजुङको पाथीभरा क्षेत्रलाई किरात समुदायले मुक्कुमलुङ भन्दै आएकोमा राज्यले पाथीभरा नामांकन गरी साँस्कृतिक अतिक्रमण गरेको भन्दै देशभरका साँस्कृतिक अभियन्ता सर्जक र बिभिन्न संघसस्थाहरुले प्रदर्शन गरेका हुन् ।

किरातीहरुको साँस्कृतिक पहिचानसग गाँसिएको मुक्कुमलुङ एक महत्वपुर्ण आस्थाको केन्द्रबिन्दु हो । किरात याक्थुङ चुम्लुङ केन्द्रीय समिति, याक्थुङ लेखक संघ, आदिवासी जनजाति साहित्यकार महासंघ तथा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिलगायत संस्थाले ऐक्यबद्धता जनाउँदै मुक्कुमलुङको पहिचान जोगाउन माग गरेका छन् । अभियान्ताहरूले पाथीभरामा सञ्चालन गर्न लागिएको केबलकार परियोजनामा हुने वन विनाश तथा व्यापारिक चलखेल अन्त्य हुनुपर्ने मागसमेत राखेका छन् ।

‘लिम्बू समुदायको आस्थाको धरोहर मुक्कुमलुङ बचाऔं, पहिचान मास्न पाइँदैन, अतिक्रमणकारी पाथीभरा नाम हटाऔं’ लगायत नारा लगाउँदै अभियन्ताहरूले दुई घण्टा विरोध गरेका थिए ।

उक्त अवसरमा सांस्कृतिक अतिक्रमणविरूद्ध कविता वाचनसमेत गरिएको थियो । आधा दर्जन कविहरूले सांस्कृतिक पहिचानको पक्षमा कविता वाचन गरे ।

साँस्कृतिक अभियान्ता राम मादेनले लिम्बू भाषामा ‘मुक्’ भनेको शक्ति र ‘लुङ’ भनेको पवित्र ढुंगा भएको बताउनु भयो । जसअनुसार पाथीभरा डाँडामा शक्ति रहेको विश्वासका साथ लिम्बूहरूले धार्मिक अनुष्ठान गर्दै आएको उनले बताउनु भयो ।

‘लिम्बू जातिको पुस्तौं पुस्तादेखिको बसोबास रहेको त्यस क्षेत्रको पहिचान नै अर्को बनाइएको छ,’ लिम्बूले भने, ‘पाथीमा धान भरेको जस्तो देखिने भएकाले पाथीभरा भनेर राज्य पक्षले मौलिकता विपरित प्रचार गरिरहेको छ ।’

कार्यक्रममा बोल्दै मगरात संघर्ष समितिका राम मगरले राज्यले नियोजित रूपमा आदिवासी–जनजातिको पहिचान समाप्त गर्ने खोजिएको हो भन्दै । ‘यो देशमा आदिकालदेखि बस्दै आएको जाति र समुदायलाई राज्यले आज दोस्रो दर्जाको नागरिक बनाएको छ । जुन कुरा हामीलाई कदापि मान्य छैन,’ भन्ने बिचार व्यक्त गर्नुभयो ।

यस्तै आदिवासी जनजाति साहित्यकार महासंघका उपाध्यक्ष टंक सेलिङले राज्यले पाथीभरा नामकरण गरी मुक्कुमलुङको वास्तविक पहिचान समाप्त पारेको दाबी गर्नुभयो । सेलिङका अनुसार विगतमा खुवालुङ जोगाउन भएको आन्दोलन जस्तै मुक्कुमलुङ जोगाउने आन्दोलन पनि निरन्तर हुनेछ ।

तपाईको प्रतिक्रिया