धनगढी । थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारूले सरकारले टीकापुर घटना मुद्दाको सवालमा थारूसंग गरेको वार्ता नौटङ्की जस्तो मात्रै भएको बताउँदै अबको वार्ता राजबन्दी परिवारसंग हुनुपर्ने बताए ।

अज्ञात ठाउँमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता थारूले सरकारले वार्तामार्फत समस्या समाधान नभइ वार्ता गरेकोमात्रै देखाउन खोजेको आरोप लगाए । ‘एक महिनादेखि खाली थारू समुदायसंग वार्ता ग¥यौं भनेर देखाउनका लागि सरकारले वार्ताको नौटङ्की गर्दैछ । अहिलेसम्म एउटा बुँदामा पनि छलफल भएको छैन’, उनले भने, ‘बादलद्वारा अब वार्ता सफल हुँदैन । टीकापुर घटनाका सवालमा लाल आयोग र देवीराम शर्मा समितिको प्रतिवेदन टेबुलमा राखेर प्रधानमन्त्री स्वयम् वार्तामा आउनुपर्छ ।’

उच्च अदालत दीपायलको टीकापुर घटना मुद्दाको फैसलापछि दोषी ठहर भइ अर्धभूमिगत भएका थारूले छानप्रतिवेदन सिरानीमुनि लुकाएर टीकापुर घटना मुद्दाको समाधान नहुने बताए । उनले कुनै पनि समुदायसंगको सद्भाव नबिग्रिने गरी मुद्दाको शीघ्र समाधान हुनु पर्ने उल्लेख गरे । ‘यसलाई चाँडै समाधान गर्नुपर्छ हैन भने, पहिलो, दोस्रो चरणको विरोधको कार्यक्रम गरिसकेका हामी अब आउँदो १६ गतेदेखि तेस्रो चरणको आन्दोलन गर्दैछौं’ थारूले भने ।

उनले रेशम चौधरी रिहाई र टीकापुर घटना मुद्दालाई सरकार गिराउने र बनाउनेसंग जोड्न नहुने बताए । यसैगरी, सो घटनाको उचित समाधानका लागि सरकारले रेशम चौधरीलाई जेलबाट बाहिर निकालेर चौधरीसहित बन्दी र बन्दीका परिवारसंग वार्ता गर्न आवश्यक रहेको औंल्याए ।

 

तपाईको प्रतिक्रिया