काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएका चारजना सांसदको पद रिक्त भएको छ । प्रदेशसभा नियमावलीको दफा १९१ बमोजिम सातौ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले संसद्लाई जानकारी गराएपछि सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाको पद रिक्त भएको हो ।

राजनैतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) बमोजिम आवश्यक कार्यार्थ प्रदेशसभामा प्रदेशसभा सदस्यबाट निष्कासन गरिएको पत्र एमालेले संसद् सचिवालयमा दर्ता गराएको थियो । उक्त पत्रलाई आज बसेको संसद् बैठकमा सभामुख शाहीले दल त्यागसम्बन्धी नियमावलीअनुसार संसद्लाई जानकारी गराएका हुन् । पद रिक्त भएका चारजना सांसदले वैशाख ३ गते मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।

एमाले संसदीय दलको बैठकले विपक्षमा मतदान गर्ने ह्वीप जारी गरे पनि दलको ह्वीप उल्लंघन गरी गैरजिम्मेवार, असंसदीय र लज्जास्पद गतिविधि गरेको एमालेको ठहर छ । उनीहरुले फ्लोर क्रस गरी संसदीय लोकतन्त्र र दलीय पद्दतीमाथि आँच आउने काम गरेको भन्दै वैशाख १० गतेदेखि लागू हुने गरी नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एमाले प्रदेशसभा संसदीय दलको सदस्य, प्रदेशसभा सदस्य र पार्टीको साधारण सदस्यसमेतबाट निष्कासन गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३, प्रदेशसभा नियमावली २०७४, नेकपा एमाले प्रदेशसभा संसदीय दलको विधान २०७७ बमोजिम फ्लोर क्रस गर्ने चार जनालाई प्रदेशसभा सदस्य पदबाट निष्कासन गरिएको संसदीय दलका नेता यामलाल कँडेलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ । ४० सदस्यीय प्रदेशसभा माओवादी केन्द्रका सांसद धर्मराज रेग्मी एमालेमा प्रवेश गरेर कारबाहीस्वरुप सांसद पद खोसिएपछि ३९ सदस्यीय बनेको थियो । माओवादी केन्द्रका शाहीलाई मुख्यमन्त्री कायमै रहन २० सांसदको समर्थन आवश्यक थियो । आफ्नै पार्टीका १२ र नेपाली कांग्रेसका ६ जना जोड्दा पनि विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था थिएन । एमालेसँग सभामुखसहित २० जना सांसद थिए ।

मतदानमा सहभागी ३७ सांसदमध्ये माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका चारजनाले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए भने विपक्षमा १५ मत खसेको थियो । एमालेका चार सांसद पदमुक्त भएसँगै अब प्रदेशसभा ३४ सदस्यीय बनेको छ । फ्लोर क्रस गरी मतदान गर्ने ज्वाला सल्यान १(ख), थापा दैलेख १(ख), शाही कालीकोट १(क) र बुढा डोल्पा १(क) बाट निर्वाचित भएका थिए ।

ज्वाला यसभन्दा अघि आर्थिक मामिला तथा योजनामन्त्री, बुढा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री थिए । अहिले फ्लोर क्रस गरेबाफत ज्वालाबाहेक तीनजना मन्त्री बनेका थिए ।

तपाईको प्रतिक्रिया