काठमाडौँ । पर्याप्त तर्क र आधारविना नै आज गण्डकी प्रदेशसभाको वैठक स्थगित भएको छ । अर्को वैठकको मितिसमेत तोकिएको छैन । जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै उक्त पार्टीकी सचेतक पियारी थापाले सभामुख नेत्रनाथ अधिकारीलाई जीवन रक्षाको माग गर्दै निवेदन दिएपछि प्रदेश सभाको कारबाही अनिश्चितकाल लागि स्थगित गरिएको हो ।

खिमविक्रम शाही

प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै प्रदेश सभाको कारबाही अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।

शाहीको जीवन रक्षा गर्न र अवस्था सार्वजनिक नभएसम्म सदनको कारबाही अगाडि नबढाउन भन्दै थापाले निवेदन दिएकी थिइन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव आएको थियो । उक्त प्रस्तावमा बुधबार मत विभाजन हुने कार्यसूची थियो ।

प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबल भएको मात्रै नभएर छलफल पनि टुंगिन लागिसकेको थियो । तर, मतदान हुनुभन्दा ठीक अघि संसद स्थगित भएपछि प्रक्रिया लम्बिएको मात्रै छैन, संसदीय पद्धतिमा नै प्रश्न उठेको छ । अविश्वास प्रस्ताव पारित नहुने संकेत देखेर सभामुखले नियतवस प्रक्रिया लम्ब्याएको आरोप सत्तारुढ दलका नेताले गरेका छन् ।

सरकारविरुद्ध पेश भएको अविश्वास प्रस्ताव पारित हुनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेस, माओवादी र जसपा गरी कुल २८ जना सांसद छन् । राष्ट्रिय जनमोर्चाका तीन सांसदको साथबिना उनीहरुले सरकार ढाल्न सक्ने अवस्था थिएन ।

शाहीका स्वकीय सचिव मिलन हमालले शाही बुधबार दिउँसो १२ बजे अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको बताए । स्रोतका अनुसार उनलाई पोखराकै चरक मेमोरियल अस्पतालको आईसीयूमा राखिएको छ ।

तपाईको प्रतिक्रिया