काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारिएको छ । कोरोना संक्रममणका कारण थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाहको शरीरमा अक्सिजनको मात्रा निकै कम देखिएपछि आईसीयूमा सारिएको अस्पताल प्रशासनले जनाएको छ ।

आज बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै अस्पतालले श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि शाहलाई आईसीयूमा सारिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन ।

पूर्वरानी शाहलाई अस्पताल पुर्‍याएदेखि नै अक्सिजनको कमीका कारण धेरै मात्रामा अक्सिजन दिएर राखिएको थियो । अहिले भने हाईफ्लो अक्सिजनको आवश्यकता परेका कारण आईसीयूमा सारिएको हो ।

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर रहेको विज्ञप्तिमा उल्लेख छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेको विज्ञप्तिमा उल्लेख छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य भएकाले अक्सिजनको सपोर्ट दिनु नपरेको बताइएको छ ।

कोरोना संक्रमणपछि पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाह गत वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए ।

केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र दम्पती भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर वैशाख ५ गते नेपाल फर्किएका थिए ।

तपाईको प्रतिक्रिया