काठमाडौं । बाग्लुङका सांसद खिमविक्रम शाहीले आफू बिरामी भएका कारण अस्पताल गएको र कसैले बन्धक नबनाएको प्रष्ट पारेका छन् ।

गण्डकी प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदानको संघारमा बेपत्ता भएका भनिएका सांसद शाहीले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै सदनमा जाने भनि तयारी गरिरहेका बेला अचानक बिरामी भएकाले अस्पताल गएको प्रष्ट्याएका हुन् । कतिपयले उनलाई बन्धक बनाई अस्पताल पुर्‍याइएको हुन सक्ने भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी गरेका थिए ।

सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भएपछि आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा बेहोस भएको र अहिले उपचाररत रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु । म थप स्वस्थ भए पछि मेरो बारेमा उठेका कयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु।’

तपाईको प्रतिक्रिया