काठमाण्डौ । गौरी श्री अम्बिका ओली प्रतिष्ठान झापाले बन्दी सहायता नेपालकी अध्यक्ष इन्दिरा रानालाई गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार प्रदान गरेको छ । रानालाई एक लाख एक हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो ।

कैदीबन्दीका आश्रित बालबालिकाको हेरचाह र संरक्षणमा निरन्तर सक्रिय हुँदै आएकी रानाले जुनकिरी नामक विद्यालय स्थापना गरेकी छन् । उनको संरक्षकत्वमा १२० जना बालबालिका आवासीय सुविधासहित पढ्दै आएका छन् ।

दयनीय अवस्थामा रहेका बालबालिकाहरुलाई अभिभावकत्व दिँदै आएकी रानाले महिलाहरूको सीप तथा क्षमताको विकासमा पनि योगदान गरेकी छन् । झापाको अर्जुनधारा घर भएकी इन्दिराले प्राकृतिक विपत्ति र राष्ट्रिय संकटका बेला पनि अहोरात्र काम गरेकी छन् । उनलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले दोसल्ला ओढाएर प्रशंसा पत्रसहित सम्मान गरेका हुन् ।

रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान झापाले रानासहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई पनि पुरस्कृत गरेको छ । अम्बिकादेवी ओली स्मृति पत्रकारिता पुरस्कारबाट दाङका पत्रकार दधिराम सुवेदी पुरस्कृत भएका छन् । उनलाई एकलाख एक हजार रुपैयाँ राशीको पुरस्कार दिइएको हो ।

प्रतिष्ठानले ५१ हजार रुपैयाँ राशिको देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार मोरङको बुढीगंगा गाउँपालिकामा रहेको रक्षा किशोरी समूहलाई प्रदान गरेको छ । झापाको धरमपुर स्थायी घर भएका बाल गायक प्रितम आचार्यले पनि राष्ट्रिय बाल पुरस्कार पाएका छन् ।

अन्तर्राष्ट्रिय जगतमा समेत ख्याति कमाएका बालप्रतिभा आचार्यलाई ५१ हजार रुपैयाँ राशिको उक्त पुरस्कार दिइएको हो । भारतीय टेलिभिजन च्यानल जिटिभीद्वारा आयोजित सारेगमप लिटल च्याम्पियनमा आचार्यले तेस्रो स्थान प्राप्त गरेका थिए ।

प्रतिष्ठानले रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारबाट गोरखाका राजेन्द्रराज पन्तलाई पुरस्कृत गरेको छ । पन्त लामो समयदेखि कामधेनु गाई पालन केन्द्र स्थापना गरी कृषि तथा पशुपालन क्षेत्रमा सक्रिय छन् ।

प्रतिष्ठानले एकलाख एक हजार रुपैयाँ राशिको कृषि पुरस्कार प्रचण्डमान श्रेष्ठ र ढकेश्वर घिमिरेलाई पनि प्रदान गरेको छ । प्रचण्डमान वरिष्ठ बाली विज्ञ हुन् । उनी कफीको उत्पादन र प्रवर्द्धनमा सक्रिय छन् । घिमिरे शिक्षाको माध्यमबाट बालबालिका सशक्तीकरणको क्षेत्रमा क्रियाशील छन् ।

प्रतिष्ठानले झापाका अग्रज साहित्यकार चूडामणि रेग्मीलाई एक लाख एक हजार रूपैयाँ राशीको अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार प्रदान गरेको छ । दोलखाकी सृजना कार्कीले गौरा देवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार पाएकी छन् ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको अध्यक्षतामा आयोजित समारोहमा संस्थाका सचिव यज्ञराज ओलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया