काठमाडौं । स्वतन्त्र सांसद दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । आज मन्त्री भएलगत्तै मनाङेले सपथ ग्रहण गरेका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले सपथग्रहण गराएका हुन् ।

सपथ ग्रहणमा मनाङे निलो रंगको कोट र दौरा सुरुवालमा ठाँटिएका थिए ।

सपथग्रहण कार्यक्रममा सभामुख र अन्य दलका मुख्य नेताहरु भने उपस्थित भएनन् ।

सरकार विरुद्ध अविश्वासको प्रस्ताव आएका बेला मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गरेर मनाङेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

सामाजिक विकास मन्त्रालय टुक्र्याएर मनाङेलाई मन्त्री बनाइएको हो । यसअघि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भने खाली नै छन् । कानुन मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र कृषि मन्त्रालय मुख्यमन्त्री गुरुङले आफैंले राखेका छन् ।

मनाङे मनाङ प्रदेश ‘ख’ स्वतन्त्र सांसदका रुपमा विजयी भएका थिए । उनी केही समयपछि नेकपामा प्रवेश गरेका थिए भने हालै आफू स्वतन्त्र सांसद भएको भन्दै छुट्टै कुर्सीको व्यवस्था गर्न पार्टीलाई बुझाएको लेबी फिर्ता गर्न प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए । बुधबार मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा तय भएको मतदानका बेला भने उनी उपस्थित भएका थिएनन् ।

सपथअघि पत्रकारहरुसँग अनौपचारिक कुरा गर्दै मन्त्री मनाङेले आफूसँग मन्त्रालय हाँक्ने ‘विजनेस प्लान’भएको र त्यो अनुसार काम भएमा युवाहरू विदेश जानु नपर्ने दावी गरे ।

त्यो भिजनचाहिँ के हो ? भन्ने पत्रकारको प्रश्नमा उनले आफूसँग भएको भिजन भने खोल्न मानेनन् । उनले भने, ‘त्यो भोली सुनाउँछु ।’

तपाईको प्रतिक्रिया