निबन्ध
“काम” भन्नासाथ मलाई मेरो बोजुको एउटा भनाई याद आउँछ । सानो छँदा गाउँमा पढाइ सँगसँगै साँझ बिहान घरको काम पनि गर्नु पर्थ्यो, कहीलेकाहीं त घाँस दाउरा गर्न टाढा टाढासम्म पनि पुग्नु पर्थ्यो । त्यसरी टाढा गएर फिर्दा स्कुल जान अबेर हुन्छ भनेर आमाले कति सबेरै उठाएर वन लखेट्नु हुन्थ्यो | केटा केटीको जात, त्यसरी चाडो उठ्नु पर्दा निन्द्रा नपुगे झैं भान हुन्थ्यो ।
हतार पनि यति हुन्थ्यो कि ? त्यसबेला हामीले घरमा बसेर आरामले खाजा सम्म खाएको सम्झना छैन । भुटेको मकै भटमास गोजी या मजेत्रोको फेरोमा पोको पारेर खाँदै हिड्नु पर्थ्यो । त्यसैले पनि होला केटा केटीमा दिक्क लाग्थ्यो हामीलाई ।
त्यस्तैमा एकदिन दाउराको भारि घोप्ट्याएर, नाम्लोले दुखाएको थाप्लो छाम्दै ‘कहिल्यै नसकिने यो घरको काम उफ्फ़, भन्दै मुर्मुराएँ, सिखुवामा बसिरहेकी बोजुले मेरो गुनगुन सुनेर, तँ मरेको भोलिपल्ट तेरो काम सकिन्छ ! बुझिस ? चिन्त्ता नगर भन्नु भो । त्यसबेला सुनेको त्यस भनाइको मतलब यसबेला मात्र बुझ्दैछु म । हुन त त्यसबेला पहाडमा दु:ख कसलाई थिएन र ? अन्य काम गर्न नसक्ने ति मेरी बजै पनि त बिस्कुन रुंग्ने, घर रुंघ्ने आदि काम गर्थिन ।आ-आफ्नो शक्ति र गक्षे अनुसारको काम हामी सबैले गरिरहेकै हुन्थ्यौं |
“काम” त्यस बेला होस् या यस् बेला सोच्ने साथ थकान महसुस हुने नै गर्छ, सम्झने साथ खूई…आउने नै गर्छ | काम र थकानमा न उमेरको नाप तौल हुन्छ, न लिङ्ग भेदको, बस बाँचुन्जेल काम गरिरहनु पर्छ र थकान पनि लागिरहन्छ। किनकि “काम” कर्म हो, काम कार्य हो अथवा शरीरको मुभमेन्ट हो त्यो स्वास्थ्य रहनलाई गरिने व्यायाम होस् या जीवन निर्बाह गर्नलाई गरिने दैनिक कार्य होस् ! पसिना दुबैमा उतिकै बग्छ र थकान पनि उस्तै लाग्छ ।
अहिले पनि म काममा छु, मेरो मतलब काम गरिरहेकी छु । यही कामले मेरो जीवन निर्वाह भैरहेकोछ, जीवन निर्वाह निमित्त मैले उहिले देखि अहिलेसम्म अनेकौ खालका कामहरू गरेँ, तीनै कामहरूले मेरो जीवनमा केही परिवर्तन पनि ल्याए ! बितेका ति दिनहरूले परिपक्व पनि बनायो पक्कै । जिम्मेवारीहरू पुरा गर्दा गर्दै समयले डाँडा काटेको पनि पत्तै भएन, अब त बजै बन्ने पालो पनि मेरै पो आए जस्तो छ बरु ! सृष्टिको नियम त पालना गर्ने पर्यो नि ? धर्तीमा जन्मेपछि ।
अस्तिसम्म कोभिडका बिमारीले भरिभराउ यस वार्डमा बस्न र खाजा खानसम्म फुर्सद थिएन हामीलाई । आज भने बिमारीहरू घट्दै गएकाले सुनसान चकमन्न छ बाताबरण, नतमस्तक छु म, ड्युटीमा पनि आफ्नै ल्यापटप खेलाउँदै बस्न पाउँदा ! केटा केटीहरूले मिठो ललिपप हातमा पाउँदा रमाए जतिकै फुरुंग छु ।
बाहिर पोख्न पो मिलेको छैन यो खुशी ? हुन पनि ठ्याक्कै एक बर्ष भो गोलि गट्ठा बोकेर कोभिडसँग लड्न मैदानमा उत्रिएको । पिपीइले छोपिएको यो अनुहार कस्तो छ खोई भुलिसकें मैले त। मेकअप नगरेको त झन् कति भो कति ।
बेलाबेलामा बिहान ड्युटी हिड्ने बेला भएपछि ऐना अघि उभिएर हेरेको बाहेक मज्जाले देख्न पाएको होइन आफ्नो अनुहार । केही दिन अघि मैले शशि थापा सुब्बा दिदीले फेसबुक स्टाट्समा ( लिपस्टिक जति अभागी के होला यतिबेला ? ) भनेर राख्नु भएको थियो | दिदीको त्यस भनाई पढ्दै एक्लै हाँसें म ।
साँच्ची शशि दिदीले भन्नु भए जस्तै मैले लिपस्टिक लाउन छाडेको पनि एक बर्ष पुरा भो । मास्कले आधा अनुहार ढाकेपछि मेकअप गर्ने ठाउँ नै रहन्न । थाहा छैन कहिलेसम्म लाउने हो यो मास्क ?
गत साल सन् २०२० को मार्च महिनामा सुरु भएर यस बर्ष यानेकि सन् २०२१ को मार्च लाग्यो, ठ्याक्कै एक बर्षमा आज बल्ल युद्ध सकिएको महसुस गर्दैछु । शरीर र मन दुवै हल्का भए झैं लागेको छ ।
ल्यापटप अन गरेर बसेकीछु तर, के लेख्ने भेउ पाइरहेकी छुइन | अनेक सोच्दा पनि बिषय तय भैसकेको छैन दिमागमा । किबोर्डमा औंला चढाएर दौड सुरु हुनु अघिको सांकेतिक धुन पर्खेर बसेको म्याराथुन धावक झैं गेट सेट रेडी पोजिसनमा छु । तर थाहा छैन दौडिने कतातिर हो ? गन्तप्य बिहिन धावक झैं भएकीछु । बिना गन्तव्य यात्रा थाले कता पुगिने हो ? हुन त जन्मदेखि मृत्युसम्मको यात्रा पनि त अनिश्चित नै छ नि । एकदिन मर्नु छ भन्दै धर्तीमा कति लामो जिन्दगी घिसार्नु छ, सर्प झैं हजारौं दु:खका काँचुलीहरू फेर्दै फेर्दै ।
यसै अस्पतालमा देखेकी छु कयौँ आशाबिपरित मृत्युहरू, आफ्नै आखाँले देखिरहेका ति मृत्युहरूले यति कठोर बनाई सकेकी अब त आफ्नै मन आफैलाई ढुँगा जस्तो लाग्छ। ति मृत्युहरू देख्दा लाग्छ म पनि लोभ लालच र इर्ष्या त्यागेर साधू बनूँ ? किनकि लड़ाई, झगडा, लोभ लालाच, इर्ष्या आदि ईत्यादि सब भ्रम हो, सत्य त मृत्यु हो। फरक यति हो हामीलाई आफ्नो जनम दिन जस्तो मृत्युको दिन थाहा हुँदैन।थाहा हुने भए धर्तीमा पाइला टेकेदेखि सबैले मृत्यु पर्खेर जिउनु पर्दैनथ्यो सायद !

जन्म जीवनको खुल्ला सत्र हो भने मृत्यु बन्दसत्र हो । जन्मदिन मनाउने मान्छेलाई मृत्युको दिन थाहा हुँदैन । थाहा हुने भए जन्म दिन जस्तै मान्छेहरूले आफ्नो मृत्युको सोक पनि मनाउने थिए।

अर्को कुर्सीमा एउटी नर्स यतिबेला प्रश्न पत्र हातमा लिएर उत्तर सोचिरहेकी निरिह परिक्षार्थी झैं बसिरहेकी छिन् । घरिघरि हेर्छिन् मलाई मानौँ उसले सोचिरहेको प्रश्नको उत्तर म संग छ र उसको ईसारामा म चिट ऊ तिर मिल्काउने छु ! अहो ! साँच्चै कत्रो आशावादी हेराई जुनबेला परिक्षाको समय सकिन लागेको होस् र एउटा प्रश्नको उतरमा परिक्षार्थी अल्झिएको होस् ? अनि परिक्षा नियन्त्रक डाइरिया लागेर टाढा पाइखाना गएको होस् ?
क्यान्डी क्रस खेल्दै बस्ने उसलाई के थाहा ? लेख्ने बिषय तय नगरी लेख्न बस्ने म पट मुर्ख मान्छेको हालत ? हुन त मेरो समस्या मेरो अनुहारमा देख्या छैन क्यारे ? उसको के दोष ? आफुलाई संधैं व्यस्त राख्न मन पराउने म, फुर्सद पाउँदा यसै गरि छ्टपटिन्छु। कुन्नी के जातिलाई भारी नपुगे जस्तो …..
केहीछिन सोचेपछि, संधै झैं म सँग बात मार्न एकहूल अक्षरहरू किबोर्डमा नाच्न थाल्छन् । तर मलाई दुईचार शब्द अथवा एकहूल अक्षर मात्र होइन, एकपल्टन शब्द ओराल्नु छ मैदानमा । सोच्दा सोच्दै केही हरफ टाईप गरिसक्छु र बात मार्न थाल्छु अक्षरहरूसँग तर,सबै अक्षर महिना नपुगी जन्मेका शिशु झैं कम्जोर र निरिह देख्छु | सररर मेटाउछु, माक्रोसफ़्ट वर्ड बोर्ड खालि हुन्छ । फेरि मेसिनगन चलाएर सबै दुश्मन मारेपछिको रित्तो युद्ध मैदान झैं देख्छु, अहो ! कस्तो बिरूप ? कस्तो भय ! लेखिसकेको अक्षर मेटाउदा ? आफुलाई घोर अपराधी झैं लाग्छ । सोंच्छु ? मान्छे कसरी हत्यारा बन्छन् होला ? लेखि सकेको दुईहरफ़ अक्षर मेटाउँदा यति धेरै चित्त दुख्छ, चिन्ता हुन्छ।
बिचरा ! बेकार मेटाई सकेर सोचें सम्झनै सकिन के लेखेकी थिएँ र के मेटाएं भनि ? एकछिन धैर्य गर्न नसक्ने बानीले आफैलाई रिस उठ्यो | मेरो एकान्तपनको हाउभाउ देख्ने, हेर्ने र बुझ्ने तीनै अक्षर त थिए । जो मेटाई सकेकी थिएँ, जो लेख्न खोज्दै थिएँ ति फेरि आइरहेका थिएनन् मनमा |
मेरो अबस्था बुझेर पनि आज प्रस्तुत हुन नसकिरहेका एकहूल अक्षरहरू दिमाग खल्बलाउँदै टाउको माथिनै ताण्डब नाच्न थाले झैं देख्थें | घरि मेटाउथे, घरि थप्थे तर पारा आएन | लेख्नु पर्ने बिषय वस्तुले मेलो नसमातेपछि, उठेर लागें पाइखानातिर ! ढोकैमा भेटें हाम्रो नर्स इन्चार्ज, डु यु नो ? टोईलेट ईज द बेस्ट प्लेस टू थिङ्क समथिंग एबाउट इट ! उसले यी अग्रेजी हरफहरू फलाक्दै निक्लिन् | मैले पनि के सम्झ्यौ ? मेरो मतलब राम्रो कि नराम्रो ? भनेर सोधें | मुसुक्क मुस्कुराएर नटि गल भन्दै हिडिन् | म हाँस्दै टोइलेट छिरें | वास्तवमा हामी एक्कासी कोभिड सकिएर अस्पताल खाली भएपछि बेकारी भएर भौंतारी रहेका थियौँ।
साथमा भएकी एउटी साथी क्यान्डी क्रसमा व्यस्त, जम्मा चार जना बिमारी बाँकी थिए ति पनि कोभिड मुक्त। एक जनाको ब्लड प्रेसर लो भएको कारण रहिरहेको, अर्को लडेर करंग भाँचिएकोले, अर्कोको खोकी नरोकिएकोले यस्ता यस्ता बिमारी रुँगेर दुईजना वर र पर बसेका छौं। मानौ हामी अझै अस्पताल परिसर भित्र छौँ र हामीले सोसियल डिस्टेन्स मेन्टेन गरिरहेका छौं।मेरो साथी अथवा मेरी कलिग युरोपियन, म एसियन अनि हाम्रो ठुलो नर्स इनचार्ज अफ्रिकन हामी मल्टी कल्चरल स्टाफ भएका थियौं ।
हिजो अस्ती सम्म यहीं अस्पतालमा बेड नपाएर बिमारीहरू राम्रो पनि निको नभई आइसोलेसन मात्र पुरा गराउँदै धमाधम डिस्चार्ज गराउँथ्यौं। एउटा जान पाएको छैन अर्को आउन तयार हुन्थ्यो। एक महिना भित्र पुरै वार्ड यस्तो सुनसान ? मनमा कुरो खेलाउँदै म बसिरहेकी छु। के यो कोभिड भ्याक्सिनको असर हो त ? कि समर लागेर फेरि गत बर्ष जस्तै भाइरसले बिश्राम लिएको ? जहिले व्यस्त हुने यो ठाउँमा बसेर यसरी समय बिताउन केही लेख्दै बस्न पाउँनु पनि बम्पर उपहार जस्तै भएको थियो | तर मनमा लेख्न लायक न कुनै बिषय छ, न प्रशंग नै ? लेख्ने के ? यत्रो १२ घण्टाको फुर्सदिलो समय आज मैले सदुपयोग गर्न नसकुँला त ? मनमा सबै कुरोहरू महिनौ नकोरिएर लट्टा परेको कपाल जस्तो गुजुल्ठीएका थिए। कुनै सग्लो या सिङ्गो निस्कंदैन्। सोचेर जतनले केलाउन खोज्छु झनै कम्जोर कपालका टुक्रा झैँ बीचमै चुडिन्छ्न। के लेख्ने होला ?
बाहिर भने यति मजाले घाम लागिरहेको छ कि ! झलमल उज्यालो दिन लिएर धेरै पछि घाम धर्तीमा ओर्लिएको भान भैरहेको छ । हुन पनि हिउँद लागेपछि कहिल्यै घाम देख्न पाइने होइन, पक्कै अँध्यारो ओढारमा बास बस्ने लाटोकोसेरो जस्तै भइन्छ युरोपमा । त्यसैले होला ! युरोपियनहरू उज्यालो घाम देख्नेसाथ तिहार आएझैं रमाउँछन्, मेला हिँडे जस्तै गरि गुटूटुंग बाहिर निस्कन्छन् | उनीहरूलाई स्याम बर्णको छाला खुबै मन पर्छ । छाला कालो बनाउने क्रिम दलिदलि दिनभर घाम तापेर हाम्रो जस्तै छाला बनाएर रमाउँदै देखाउँछन् । हामी भने गोरो बनाउने क्रिम खोज्दाको हैरान । मान्छेको चाहाना पनि विचित्रको ! आफु सँग जे छैन त्यही चाहिने ?
त्यही उज्यालो दिनको बारेमा लेख्छु। तर के लेख्ने ? अस्पताल पछाडिको गार्डेनमा मसिना फूलहरू फूल्न थालेका छन् त्यसको बारेमा लेख्ने ? जाडोले नाङ्गिएका जम्मै रुखहरूको फेरि पात पलाएर झ्याम्म परेर सुहाउँदिला भएका छन् कि तिनका बारेमा लेख्ने ? मास्तिरको स्कुल र अस्पतालको सिमानामा भएका नील काँडा काटिएर च्वाट्ट मिलाइएका छन् तिनका बारेमा त के लेख्नु र ? फूलको बयान गर्न नसक्ने म बकम्फुसेले के गाउनु काँडाको बयान ? काँडाको आँखामा काँडै संसार भन्छन् । म नाथेको आँखामा न फूल, न काँडा। कमजोर भएर अचेल अलिक टाढाबाट हेरे बसको नम्बर त देख्दिन र दुख पाउँछु कहिले कहीँ।
हुन त लोभ लाग्दो गरि सुर्यदेव ओर्लेर धर्ती चाहारी रहेछ, जब घाम लाग्छ हरेक प्राणीका शरीरमा स्फुर्ती जाग्छ । जोश जाँगर आउँछ ! घामको न्यानो प्रकाश पर्नासाथ पृथ्वीका भूमिगत प्राणी, किरा फट्यांग्रा आदि समेत बाहिर निस्कन्छन् घाम ताप्न । हुन सक्छ मलाई पनि घामकै असर परेको हो, शरीरमा स्फुर्ति जागेको हो । दिन उज्यालो भएर उघ्रिएकोले म पुलकित बनेकी हुँ, मलाई केही गर्ने जोस र जाँगरले पछ्याईरहेकै छ। म बसेको हलको पक्षिमपट्टिको झ्यालबाट देखिरहेकी छु, अस्पताल भन्दा मास्तिर रहेको स्कुलको प्रांगणमा हरियो चाउर बाहेक केही देख्दिन। तर दक्षिण साइडको स्थानीयहरूको घर आँगनमा भने ठुल्ठुला आरुका बोटहरू आफुले आफैलाई नचिन्नेगरि शरीरै ढाकेर ढकमक फूलेका छन्। तर स्कुल ? किन यति रुखो ? शिक्षाको बोटमा प्राकृतिक बस्तुको कुनै स्थान छैन ? यो प्रश्न म आफैलाई गर्छु र आफै दिन्छु उत्तर। उहिले मेरो स्कुलमा पनि त केही थिएन नि ? स्कुल छाडी छिमेकी घरको चिचिलो नासपाती, अम्बक र आरुचा समेतले पुगेको थियो र हामीलाई ? आज यी केटा केटीलाई पुग्छ ?
ए तिमी ब्रेक नजाने हो ? म स्कुलको आँगनबाट पनि माथि उठेर शिव भगवानको रुद्र अवतार,हनुमानको बालरुप मारुतीझैं मनको बादल माथि माथि उड्दै थिएँ। साथीले एक्कासी बोलाइ दिँदा फल सम्झी सूर्य निल्न लाग्दा स्वर्गबाट इन्द्रले बज्र हानि झारेको उही बाल मारुती झैं झस्किएर झरें भूइंमा | सोचाइमा उडेको मन बचाउन न कुनै पवनदेब आयो, न माता अन्जना ? बेकारमा भोक तिर्खा भुलेर कहाँ कहाँ उड्दै रहेछु। साबिकमा फर्केर आएपछि पो भोक महसुस गरेँ।
विजुलीको गतिमा स्टाफ किचन पुगेर अघिल्लो दिनको बासीभात तताएँ र हसूरें पिरो आमाको अकबरे अचारसँग। खाना खाएर अघाएपछि अचारको बोतलमा लेखिएको नेपाली शब्द ”आमाको अचार” ले पनि उर्जा दिएझै भो, माया गरे झैं लाग्यो ! आमाको ममता मिस्सिएको अचार नमिठो हुने कुरै भएन। पिरोले जिब्रो पड्काउँदै एकछिन फेसबुक खोलेको आज ”बिश्व नेपाली सहित्यमहासंघ” वेष्ट शाखाले मनाउँदै गरेको बिश्व नारी दिवसको लाइभ देखेँ। मैले खोल्दा प्रिय दिदी जया लक्ष्मी राईको बोल्ने पालो रहेछ। मज्जाले सुने जया दिज्यु पछि आदरणीय दिदी शशि थापा सुब्बाको पालो आयो । उहाले महिला कलाकारहरूको बारेमा बोल्नु पर्ने बिषय रहेछ त्यो पनि सुने। उहाँको पालो पछि मेरो पनि पालो आयो, तर कुनै नारी र नारी दिवसको बारेमा बोल्ने होइन आफ्नो ब्रेकको पालो सकेर अर्को साथीलाई ब्रेकको पालो दिने | रित्तो टिफिन बक्स बोकेर किचनमा पुगेँ, साथी अघि नै आएर खाना तताउँदै थिइन् | आफ्नो समय भन्दा एक मिनट पनि नपर्खने विदेशीहरूको बानी देख्दा पनि गज्जब लाग्छ |
दिनको दुई बज्न लाग्यो मनको खुल्दुली मेटिएको होइन ? ओह ! माई गड कस्तो बोर भो कसरी दिन काट्ने ? काम नभएर भएको यो छट्पटीले बस्न नदिएको गुनासो मेरो सामुनेवाली साथीलाई सुनाउँछु। त्यै त ! सो बोरिङ्ग ? अलि धेर बोल्दा क्यान्डी क्रसको स्कोर घट्ला जस्तो गरेर छोटो उत्तर दिन्छिन् |
जुरुक्क उठेर खुम्चिएका नसा तन्काउँदै एकछिन हिड्छु करिडर वरपर। भित्र हाम्रो नर्स इनचार्ज फोनमा आफ्नै भाषामा कुरो गरिरहेछ, कालो अक्षर भैँसी बराबरको त्यो भाषा मलाई प्रिय लाग्दै लाग्दैन। तर सुन्दा उस्तो दिक्क पनि लागेन | लाग्यो अफ्रिकन भाषा पनि अरु जस्तो ठुलो स्वर निकालेर हल्ला गर्दै नबोल्दा त, सभ्य नै सुनिँदो रहेछ |
हेर्दा हेर्दै तीन बज्यो, मलाई भने पिरोलिरहन्छ अदृश्य भय र केही काम फत्ते गर्नु पर्छ भन्ने सिघ्रताले । हुन त लेख्छु भन्दैमा औंसीको रात झैं धुम्मिएको दिमागमा घाम जून जस्तो उज्यालो भावना उदय हुने पनि त होइन नि |
तरै पनि खोई कुन्नी किन हो मनमा यो असन्तुष्टी र छट्पटी ? यतिका बेचैनी के का लागि हो ? कतै मेरो लेख्ने बानी हराएको त होइन ? कि सोच्ने दिमाग कमजोर भएको हो ? होइन ? होइन ? तेसो हो भने, खहरे झैं किन उर्लिन्छन् यी जोस जाँगर ? त्यै जोस जाँगरलाई त आज मज्जाले सदुपयोग गर्न तम्सेकी छु । आफैले आफैलाई अल्मलाउन सक्नु पनि त काम नै हो । काम नै त गरिरहेकी छु मेरो मतलब काम मै छु म |
राम्रो र स्वास्थ्य सन्तान जन्माउँन लामो प्रसव पिडामा तड्पिनु पर्छ। त्यस्तै सुकर्मको फल हो सृजना पनि, सरस्वतीको वरदान हो, सजिलो कहाँ छ र ? राम्रो चिज, राम्रो कथा या भावना जन्माउन | मेहेनत त गर्नै पर्यो नि ? आत्माबाटै उत्पन्न भावना पढ्न पनि मज्जा आउने र सबैको मन छुने हुन्छन् | मैले खोजेको लेख पनि त्यस्तै त हो। आज लेखेर राखेको लेख अर्को बर्ष पढ्दा मेरो आँसु झरोस। त्यो बेला लेखेको रचनाले यहाँ आज म सँगै हुने क्यान्डी क्रस खेलिरहने साथीको याद दिलावोस। हामी सँगै यहीँ अस्पतालमा भएपनि अर्को डिपार्टमेन्टमा म हुँला या उनि होलिन्। भोलिको कुरो कसलाई थाहा र ? फेरि कोभिड पनि त हुने छैन त्यसबेला। अहो ! कोभिड रहितको संसार कल्पनाले मात्र पनि आनन्द ? होइन होइन हामीलाई शारीरिक र मानसिक रुपले सताउने कोभिडको दस्तावेज हो यो लेख। रिटायर लाइफमा भेट भए सँगै बसेर पढ्नु पर्छ ल सिलभिया आज मैले लेखेको यो आर्टिकल ? म भन्छु । वाऊ ! साँच्चै हो ? तिमी त्यस्तो चिज लेख्दै छौ। हाउ वनडरफूल ? उनि भन्छिन्, धन्यवाद म भन्छु। हाम्रो कुरो यो भन्दा अघि बढ्दैन।

तपाईको प्रतिक्रिया