काठमाडौं । सरकारले बिश्वासको मत लिने गरी बैशाख २७ गते संसद अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोही दिन बस्ने संसद बैठकमा बिश्वासको मत लिने जानकारी गराएका हुन् । बैशाख २७ गते संसद बैठक बोलाउने निर्णय भएको र सोही बैठकमा प्रधानमन्त्रीले बिश्वासको मत लिने जानकारी गराएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

नेकपा माओवादीले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा नलिए पनि सरकारबिरुद्ध अभियान चलाएपछि प्रधानमन्त्री ओलीले संसदमा बिश्वासको मत लिने निर्णय लिएका हुन् । सरकारको विकल्पमा बहुमतसहितको अर्को समीकरण नबनेसम्म ओलीलाई दिइएको समर्थन फिर्ता नलिने योजनामा माओवादी केन्द्र रहेको छ ।

नेपाली कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्ने उसको तयारी छ । माओवादी केन्द्रले तत्कालै सर्मथन फिर्ता नलिने बुझेपछि ओली विश्वासको मत लिन आफैं अघि सरेका हुन् । कांग्रेस र माओवादीले सरकारबिरुद्ध लागे पनि जसपाले निर्णय लिएको छैन । जसपामा पूर्वराजपा प्रधानमन्त्री ओलीको पक्षमा रहेको छ भने पूर्वसंघीय समाजवादी पक्ष विपक्षमा रहेको छ ।

तपाईको प्रतिक्रिया