काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गरिएको छ ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना संक्रमणको बढ्दो दरलाई ध्यान दिँदै वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

अत्यावश्यक कामविना घरबाट निस्कनेलाई होल्डिङ सेन्टरमा राखेर जरिवाना गरिने, मास्क नलगाउनेलाई १०० रुपैयाँ तिराइने, कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेलाई अनुगमन गरेर कडा कार्वाही गर्ने निर्णय पनि प्रशासनले गरेका छन् ।

यस्तै बैठकले अबदेखि बिहान १० बजेसम्म मात्र पसल खोल्न पाइने र बेलुका नपाइने निर्णय पनि गरेको छ । बैंक तथा वित्तिय संस्थाको हकमा सीमित कर्मचारीलाई उपस्थित हुने गरी संचालन अनुमति दिने निर्णय पनि भएको छ ।

शाखामा २५ प्रतिशत कर्मचारी र काठमाडौंमा २० प्रतिशत जनशक्तिलाई उपस्थित भएर काम गर्न अनुमति दिने निर्णय प्रशासनले गरकोे छ । साथै बैंक तथा वित्तिय संस्थाले सीमित सवारी साधन चलाउन पाउनेछन् ।

प्रशासनले यसअघि जारी भएका सबै प्रकारका पास खारेज गर्ने निर्णय पनि गरेको छ ।

निषेधाज्ञा उल्लंघन गर्दै फुटपाथ, साइकल र ठेलागाडा संचालन गर्नेलाई पनि कार्वाही गर्ने निर्णय पनि प्रशासनहरुले गरेका छन् ।

तपाईको प्रतिक्रिया