काठमाण्डौ । कोभिड–१९ को महामारीको संक्रमण फैलिरहेका बेला प्रदेश–१ को आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले इलामको पशुपतिनगर नाकाको अनुगमन तथा निरीक्षण गरेका छन् ।

प्रदेश १ भरिका मुख्य सीमा नाकाको अनुगमन गर्ने क्रममा मन्त्री कार्कीले पशुपतिनगरमा पनि निरीक्षण गरि स्थानीय पालिका र सुरक्षा निकायहरुसँग छलफल समेत गरेका छन् ।

मन्त्री सहित प्रदेश–१ स्थित नेपाल प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, जिल्ला स्थित जिल्ला समन्य समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र नगरपालिका प्रमुखहरुको टोलीले नेपाल–भारत आवतजावत गर्ने मुख्य नाका पशुपतिनगरको अवस्था निरीक्षण गरेको थियो ।

निरीक्षण पछि सुरक्षा तथा स्थानीय सरकार प्रमुखहरुसँग छलफल गर्दै मन्त्री कार्कीले कोरोना संक्रमण नियन्त्रणका लागि उच्च सर्तकता अपनाउन के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए ।

नेपाल–भारत पूर्वी सीमानामा राखिएका शसस्त्र प्रहरीको १६ वटा विओपीले गर्दा यो पटक भारतबाट छुकीछिपी नेपाल प्रवेश गर्नेहरुको संख्या कम भएको पाइएको जानकारी गराइएको थियो । छलफलमा मन्त्री कार्कीले कोरोना नियन्त्रणका लागि भारतीय सीमा जोडिएका पालिकाहरुमा कस्तो काम गर्न सकिन्छ भन्ने विषयमा नगरपालिका प्रमुख र जिल्ला स्थित सुरक्षा निकाय प्रमुखहरु सँग छलफल गरेका थिए । मन्त्री कार्कीले पालिकालाई कोरोना नियन्त्रण सम्बन्धी काम गर्न के आवश्यक पर्छ त्यो प्रदेश सरकार सँग समन्वय गर्न आग्रह गरेका थिए ।

छलफलपछि मन्त्रीसहितको टोलीले पशुपतिनगरमा सूर्योदय नगरपालिकाले निर्माण गर्दै गरेको क्वारेन्टाइन भवनको अनुगमन गरेको थियो । पशुपतिनगर स्थित पुरानो प्राथमिक स्वास्थ्य केन्द्र रहेको स्थानमा कम्तिमा २० जनालाई राख्न सकिने क्वारेन्टाइन निर्माण हुँदै गरेको र अब दुई महिनामा निर्माण सम्पन्न हुने सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया