काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन गरिएको प्रस्ताव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।

देउवा निवास बूढानीलकण्ठमा आज बुधबार अपरान्ह भएको छलफलमा ओलीले विश्वासको मत दिन देउवालाई आग्रह गरेका थिए । तर देउवाले आफू प्रमुख प्रतिपक्षी दलको नेता भएकाले विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले ओली पक्षसँग सत्ता सहकार्यको पनि सम्भावना नभएको र अहिले काँग्रेसको उद्देश्य नै ओलीलाई विफल गर्ने रहेको बताए । महतले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतका लागि सहयोग माग्नुभयो । प्रतिपक्ष भएकाले हामीले सहयोग गर्न नसक्ने कुरा स्पष्ट पार्‍यौं ।’

महतका अनुसार प्रधानमन्त्री ओलीले लोकतन्त्र र वर्तमान व्यवस्थाप्रति छु भने पनि सोही अनुसार व्यवहारमा पनि आउन काँग्रेस नेताहरुले सुझाएका थिए । लोकतन्त्र र लोकतान्त्रिक संस्था मजबुत पार्ने कुरामा काँग्रेस सधैं तयार रहेको कुरा ओलीको टोलीसँग राखेको महतको भनाइ छ ।

ओली र देउवाबीचको छलफलमा एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

यस्तै काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत नेता कृष्णप्रसाद सिटौला सहभागी थिए ।

तपाईको प्रतिक्रिया