नेपाल सरकारले अन्य सबै देशबाट हुने हवाई उडानलाई प्रतिबन्ध लगाउँदै भारतसँग मात्रै सातामा दुईवटा उडान सुचारु राख्ने निर्णय गरेको छ । अहिले भारतमै सबैभन्दा बढी कोरोना संक्रमण भएको अवस्थामा अन्य देशको उडान बन्द गरेर भारतसँग चाहिँ सातामा दुई दिन उडान चालु राखिएको हो ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारी अन्य देशको हवाई उडान बन्द गरेर भारतसँग मात्रै खोल्नुको कारण ‘एअर बबल सम्झौता’ भएको बताउँछन् ।

गत मंसिरमा नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको उड्डयन प्राधिकरणबीच एअर बबल सम्झौता भएको थियो । सम्झौताअनुसार दुबै देशका सरकारी स्वामित्वका वायुसेवा कम्पनीले सातामा एक–एक उडान गर्ने सम्झौता भएको थियो ।

सम्झौता अनुसार कोभिड १९ लगायतका यस्तै महामारी वा अन्य असहज अवस्थामा पनि दुई देशका नागरिकका लागि आवात–जावत गर्न सातामा दुबै देशबाट एक–एक उडान गर्ने सम्झौता भएको थियो ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपालको उड्डयन प्राधिकरण र भारतीय उड्डयन प्राधिकरणको सम्झौता बमोजिम सातामा दुबै देशबाट एक–एक उडान हुने भएको हो ।

यस उडानमा नेपालमा बसोबास गर्ने भारतीय नागरिक, उपचार वा व्यापार व्यवसायमा संलग्न व्यक्तिहरु भारत जान पाउनेछन् भने भारतमा अध्ययन, बसोबास वा उपचार र व्यापारका लागि बस्ने नेपालीहरु स्वदेश फर्कन पाउनेछन् । यी दुई उडानमा तेस्रो देशका नागरिकले भने यात्रा गर्न पाउने छैनन् । यद्यपि तेस्रो देशबाट भारत हुँदै नेपाल आउन पाउने कि नपाउने भन्ने बारेमा भने स्पष्ट पारिएको छैन ।

नेपाल वायुसेवा निगमका अनुसार नेपालबाट नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक बुधबार बिहान ११ः२० बजे नयाँ दिल्लीको लागि उडान भर्नेछ भने दिल्लीबाट त्यहाँको स्थानीय समयअनुसार २ बजे नेपालतर्फ आउने छ ।

त्यसैगरी, भारतको एअर इण्डियाको विमान प्रत्येक शुक्रबार अपरान्ह २ः३० बजे नेपाल आइपुग्नेछ र अपरान्ह ३ः३० बजे भारत प्रस्थान गर्नेछ ।

होटल क्वारेन्टिन अनिवार्य गरेका छौँ पर्यटन मन्त्रालय

पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार एअर बबल सुविधा अन्तर्गत नेपाल आउने नेपाली वा भारतीय यात्रुहरुले अनिवार्यरुपमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । उनीहरु कम्तिमा १० दिन होटल क्वारेन्टिनमा बसेपछि मात्रै आफ्नो घर वा अन्यत्र जान पाउनेछन् ।

यो पनि
भारतबाट आएका यात्रु विमानस्थलबाट सीधै समुदायमा
​भारतबाट नेपाल आउने नेपाली वा भारतीय यात्रुहरुले तत्कालका लागि छुट्याइएका ८ वटा होटलमा अनिवार्यरुपले क्वारेन्टिनमा बस्नुपर्ने छ । कुन होटलमा बस्ने हो, निश्चित भएका होटलहरुले नै पिकअप तथा खाना र बस्नको व्यवस्था गर्नुपर्नेछ । त्यसबापत प्रतिदिन अधिकतम ३ हजार रुपैयाँसम्म लिन पाउने पर्यटन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार यात्रुहरु होटल क्वारेन्टिनमा बसेको वा नबसेको, कसरी बसेको वा राखेको भनी अनुगमन गर्नका लागि पर्यटन विभागका महानिर्देशकको संयोजकत्वमा पर्यटन बोर्डका सिइओ, नेपाल प्रहरीको समिति बनाइएको छ । उक्त समितिका सदस्यहरुले होटलमा पुगेर अनुगमन गर्नेछन् । र, सो को रिपोर्ट दैनिकरूपमा सीसीएमसी, पर्यटन मन्त्रालय र गृह मन्त्रालयमा पेश गर्नेछन् ।

यदि कुनै यात्रुले होटल क्वारेन्टिन पालना नगरेको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने र कुनै यात्रु होटलमा नबसी गएमा सोको जानकारी होटलले तत्कालै प्रहरीलाई दिनुपर्ने गरी मापदण्ड निर्धारण गरिएको छ ।

दुई देशबीच उडान गर्दा पनि अनिवार्यरुपमा पिसिआर रिपोर्ट आवश्यक पर्ने र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने छ ।

आफ्ना देशका नागरिक स्वदेश ल्याउने उद्देश्यका साथ भारतले २६ वटा मुलुकसँग एअर बबल सम्झौता गरिसकेको छ । एअर बबल सम्झौताअनुसार नेपाल र भारतमा काम गर्ने कूटनीतिक नियोगका प्रतिनिधि भएमा पनि आवत–जावत गर्न पाउनेछन् ।
रातो पाटीबाट

तपाईको प्रतिक्रिया