काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई आपत्तिजनको संज्ञा दिएका छन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक असंवैधानिक कदमलाई राष्ट्रपतिले समर्थन गर्नु आपत्तिजनक रहेको देउवाको तर्क छ ।

कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीका गलत कदमका पछाडि राष्ट्रपति भण्डारीको सहयोग महत्वपूर्ण रहेको बताए । लोकतान्त्रिक मूल्य विपरीत सरकारले काम गरिरहेको भन्दै देउवाले ओलीको विकल्प खोज्न हरसम्भव प्रयास भइरहेको बताए ।

अब प्रधानमन्त्री ओलीको विकल्प खोज्ने नै पार्टीको निर्णय भएको भन्दै समापति देउवाले विश्वासको मत फेल गराउन र अविश्वास प्रस्ताव पास गराउन लाग्ने प्रष्ट पारे ।

कांग्रेस सांसदहरुलाई पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्दै देउवाले कानूनविद् र अन्य दलसँग छलफल गरे आफूले आवश्यक कदम चाल्ने बताए ।

यही वैशाखा २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए निर्वाचन घोषणा गर्ने संकेत गरेको भन्दै सभापति देउवाले ओलीलाई निर्वाचन गराउने अधिकार नभएको पनि देउवाको भनाइ छ ।

प्रधानमन्त्रीले विश्वासको मत नपाए संविधानको धारा ७६ को १ देखिका दफाहरु सक्रिय हुने भन्दै देउवाले ७६ (२) बमोजिमको गठबन्धन सरकारका लागि प्रयास भइरहेको बताए ।

काँग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गर्ने निर्णय गरेका प्रमुख सचेतक बालकृष्ण खाणले बताए ।

तपाईको प्रतिक्रिया