काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद्को बैठकमा नजान परिषद्का सदस्यहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि आइतबारका लागि बोलाएको परिषद्को बैठक स्थगित गर्न पनि दाहालले सुझाव दिएका छन् ।

आज प्रेस विज्ञप्ति जारी गर्दै दाहालले भनेका छन्, संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको छ, विज्ञप्तिमा थप भनिएको छ, यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दै छ ।

प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै दाहालले संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सदस्यहरुसँग अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया