काठमाडौँ । नेकपा एमाले माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्‍ना माग पूरा गर्ने प्रतिबद्धताका लागि भोलि सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।

आज बेलुकी सिंहदरबारमा बसेको झलनाथ खनाल-माधव नेपाल समूहका सांसदहरुको बैठकले २०७५ जेठ २ अनुसार पार्टी फर्काउने र आगामी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहानसम्मको समय दिने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार पार्टी एकतालाई जोगाउने, सहमतिका आधारमा पार्टी चलाउने मुख्य जिम्मेवारी अध्यक्षकै रहेको निष्कर्ष बैठकको रहेको छ ।

प्रत्यक्ष र समानुपातिक तर्फबाट निर्वाचित सांसदहरु सहभागी बैठक झण्डै साढे ३ घण्टा चलेको थियो । अध्यक्ष ओलीबाट आफूहरुले भनेबमोजिम नभए कठोर निर्णय लिइने नेता भट्टराईले बताए । यदि आफूहरुलाई किनारा लगाउने ढंगले गएमा भोलि नै कठोर निर्णय गर्ने पनि नेता भट्टराईले चेतावनी दिए ।

नेपाल समूहले सोमबार बिहान साढे ९ बजे आफ्ना सांसदहरुलाई संसद् सचिवालयमा बोलाएको छ । प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभामा विश्वास मत लिँदै छन् । जसका लागि संसद् अधिवेशन दिउँसो १ बजेका लागि आह्वान भएको छ ।

ओली पक्षीय नेताहरुसँगको छलफलपछि नेता नेपालले आफू निकटका सांसदहरुको बैठक सिंहदरबारमै बसाएका थिए ।

तपाईको प्रतिक्रिया