गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचार प्रभावकारी बनाउन एक करोड रूपैयाँ सहयोग गरेको छ।

गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गोंगललाई एक करोड रूपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्।

कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पतालमार्फत् कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै थुप्रै संक्रमितको जीवन रक्षा गर्न सफल भएको र दोस्रो लहरमा अझै राम्रो काम गरोस् भनेर सहयोग गरिएको शेखर गोल्छाले बताएका छन्।

‘अहिले देश एकदमै विषम परिस्थितिबाट गुज्रिरहेको छ। कोरोनाको यो दोस्रो लहरले हामी सबैलाई एकदमै अप्ठ्यारोमा पारेको छ। हामीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्यको थालनी गरेका छौं। भविष्यमा पनि यस सहकार्यलाई निरन्तरता दिने छौं। यो हाम्रो संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत थालिएको स्वास्थ्य क्षेत्रसँगको नयाँ साझेदारी हो,’ गोल्छाले भने।

अस्पतालले यो सहयोग रकम अक्सिजन व्यवस्थापन, उपकरणहरूको अभाव पूर्ति गर्न, स्वास्थ्यकर्मीद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडहरूको संख्या बढाउने लगायत कोरोना संक्रमणसँग जुध्ने अन्य कार्यमा उपयोग गरिने प्रतिष्ठानले जनाएको छ।

तपाईको प्रतिक्रिया