काठमाडौं । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन जसपा र एमालेको माधव नेपाल पक्षको समेत साथ लिएर अघि बढ्ने निर्णय गरेको छ ।

संसदको दोस्रो ठूलो दल कांग्रेसको आज मंगलवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले राष्ट्रपतिले दिएको समयभित्र सिंगै जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोसिस गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।

बैठकमा देउवाले यसबीचमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव लगायतका विभिन्न पक्षसँग भएका छलफलबारे जानकारी गराएका थिए ।

माओवादीले कांग्रेस नेतृत्वमा सरकार बनाउन समर्थन जनाइसकेको र उपेन्द्र यादव पनि त्यसमा सहमत रहेको महतले बताए ।

सकेसम्म जसपा सिँगै साथमा लिने प्रयास हुने भन्दै उनले भने, ‘हामीलाई पर्सिसम्मको समय छ । एमालेमा पनि माधवजीहरुले केही निर्णयमा पुग्नुहुन्छ । जसपमा सिंगै हाम्रो पक्षमा आउने प्रशस्त सम्भावना छ । यो प्रयत्नलाई जारी राख्छौं । बहुमत जुटाउन बाहिर अरु तरिका पनि छन् ।’

राष्ट्रपतिले तीन दिनको समय दिएर सोमबार संविधानको धारा ७६ को उपधारा २ बजोजिम दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार गठन गर्न आह्वान गरेपछि कांग्रेस यसमा जुटेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वास गुमाएपछि उनी सोमबारदेखि पदमुक्त छन् । कांग्रेस र माओवादी र जसपाको उपेन्द्र यादव(बाबुराम भट्टराई समूह बहुमतको सरकार बनाउने पक्षमा देखिएका छन् । कांग्रेसले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने पहल गरिरहेको छ ।

तपाईको प्रतिक्रिया